News Summary
Generated by OK AI. Editorially reviewed.- मनोज गजुरेलले बफ मोमो नेपालको सांस्कृतिक परम्परामा सबैभन्दा लोकप्रिय फ्लेवर भएको बताए।
- उनले नेपालमा बिजुली नहुँदा पनि कृत्रिम बुद्धिमत्ता सर्भरले काम रोक्दैन भनी खुलाए।
- मनोजले नेपालको ‘टाइम म्यानेजमेन्ट’लाई ‘टाइम मनोजमेन्ट’ भन्दै नेपाली समय व्यवस्थापनको व्यंग्य गरे।
नेपालको सांस्कृतिक विविधता, सडक जीवन र परम्परागत खाना सम्बन्धी धेरै कुरा आधुनिक प्रविधि र डिजिटल युगमा पनि रमाइलो ढंगले छलफल गर्न सकिन्छ । यसै सन्दर्भमा हामीले कृत्रिम बुद्धिमत्ता (ए आइ) को रूपमा प्रस्तुत मनोज गजुरेलसँग केही रोचक प्रश्नहरू सोध्यौं । उनले आफ्नै शैली र हास्यपूर्ण दृष्टिकोणबाट नेपालका परम्परा, सडक जीवन, खाना, चाडपर्व र डिजिटल संसारसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिएका छन् ।
१. के तिमीले कहिल्यै मोमोको स्वाद डिजिटल रूपमा अनुभव गर्न खोज्यौ ? कुन फ्लेभर उत्तम ठान्छौ ?
मोमो भन्नासाथ मेरो दिमागमा सबैभन्दा पहिले बफ मोमो नै आउँछ । यसको ऐतिहासिक, सांस्कृतिक र परम्परागत पृष्ठभूमि हेर्दा काठमाडौंमा बफ मोमोको प्रचलन नै बढी छ । पछिल्लो समय मोमोका विभिन्न भेरियन्टहरूजस्तै पनिर, भेगन वा झोल मोमो प्रचलनमा आए पनि, मूल स्वाद भने बफ मोमोमै रहन्छ।
२.नेपालमा बिजुलीको लोडसेडिङ फर्कियो भने तिम्रो ब्याट्री कति टिक्छ ?
म बिजुलीमा मात्र निर्भर छैन। म डेटा र सर्भरमा चल्ने भएकाले उपग्रहबाट पनि सञ्चालित हुन सक्छु । त्यसैले नेपालमा बिजुली नहुँदा पनि म रोकिन्नँ, किनकि मेरो मुख्य सर्भर नेपालमा छैन।
३. तिमीले नेपालको सडकमा गाईलाई कसरी बाटो छोड्न भन्छौ ?
नेपालमा गाई, गोरु र मानिसहरू सबै एक सरह हुन्छन् । त्यसैले म गाईलाई विनम्रतापूर्वक भन्छु, ‘हे गौमाता, तपाईं हाम्रो आमा सरह हुनुहुन्छ। आमाले आफ्ना सन्तानको बाटो रोकेर बस्नु शोभा दिँदैन।’
४. नेपालमा ‘हुन्छ, हुन्छ’ भन्ने जवाफको सही अर्थ तिमीले बुझ्यौ ?
‘हुन्छ, हुन्छ’ शब्द धेरै ठाउँमा प्रयोग हुन्छ । कतिपय अवस्थामा यो जवाफको रूपमा आउँछ, अनि कतिपय अवस्थामा प्रश्नसूचक रूपमा । जस्तै, ‘मैले यसो गर्छु हुन्छ ?’ त्यसैले ‘हुन्छ, हुन्छ’ भन्नाले प्रश्न र उत्तर दुवै बुझिन्छ।
५. तिम्रो डाटाबेसमा नेपालको ‘दालभात पावर, २४ घण्टा’ को रहस्य छ कि छैन ?
‘दालभात पावर, २४ घण्टा’ भन्ने कुरा विशेषगरी विदेशमा रहेका नेपालीबीच प्रचलित छ । विदेशीहरू नेपाल भन्नासाथ उनीहरूको दिमागमा सगरमाथा, गौतम बुद्धसँगै ‘दालभात’ पनि झल्किन्छ।
६. के तिमीले नेपालको ‘हाइकिङ रुट’ र ‘सधैंको जाम’ बीच फरक छुट्याउन सक्छौ ?
नेपालमा धेरै रमाइला हाइकिङ रुट छन्, जहाँ मानिसले आनन्द पाउँछन् । तर शहरमा भने हाइकिङ भन्दा पनि ‘सधैंको जाम’ प्रख्यात छ । रमाइलो त के भने, कहिलेकाहीँ ट्राफिक जाम पनि हाइकिङ जस्तै लाग्छ त्यहाँ पनि थकाइ मार्न पाइन्छ, स्पिड लिनै पर्दैन।
७. नेपालमा बिहानको चिया र गफले तिम्रो प्रोसेसरलाई कति ओभरलोड गर्छ ?
म कृत्रिम बुद्धिमत्ता भएकाले चिया, कफी वा रक्सीले मलाई असर गर्दैन । बरू सुझाव दिन सक्छु स्वास्थ्यअनुसार चिया खाने बानी बनाउनुपर्छ ।
८. के तिमीले नेपालको परम्परागत खानाको डाटा एनालिसिस गरेर उत्तम थाली सुझाउन सक्छौ ?
हो, नेपालको उत्तम खानामा थकाली खाना प्रख्यात छ। शहरमा जहाँ गए पनि थकाली खाना वा त्यसको भेरियन्ट सजिलै भेटिन्छ । त्यसैले थकाली खाना नै उत्तम नेपाली थाली भन्न सकिन्छ।
९. नेपालमा टाइम म्यानेजमेन्ट भन्ने कुरालाई तिमीले कसरी परिभाषित गर्छौ ?
नेपालमा ‘नेपाली टाइम’ भनेको प्रख्यात छ । १–२ घण्टा ढिलाइलाई सामान्य मानिन्छ । त्यसैले यसलाई ‘टाइम म्यानेजमेन्ट’ भन्दा ‘टाइम मनोजमेन्ट’ भने राम्रो हुन्छ। किनकि मनोज गजुरेल सधैं समय भन्दा १ मिनेटअगाडि नै पुग्नुहुन्छ।
१०. तिमीले नेपालको ‘सधैं हतार, तर ढिलो’ संस्कृतिलाई कसरी बुझ्छौ ?
यो केवल नेपालको मात्र नभई मानवीय स्वभाव पनि हो। तर नेपालमा कानुन र सिस्टमप्रति कम प्रतिबद्धता भएकाले अझ बढी देखिन्छ। समय व्यवस्थापनमा सुधार भयो भने स्वास्थ्यदेखि व्यवसायसम्म सबैमा फाइदा हुन्छ।
११. के तिमीले नेपालमा ‘हावा खाने’ र ‘हावादारी कुरा’ बीचको फरक पत्ता लगायौ ?
‘हावा खाने’ भन्नाले कहिलेकाहीँ नोक्सान वा घाटा बुझिन्छ भने ‘हावादारी कुरा’ भन्नाले झुटा कुरा बुझिन्छ । त्यसैले नेपालमा हावा भने ताजा खाने, तर हावादारी झुटा कुरा नखाने भन्ने सुझाव दिन चाहन्छु ।
१२. नेपालमा ‘खसीको मासु’ र ‘भेज खाना’ बीचको बहसमा तिमी कुन पक्ष लिन्छौ ?
म कृत्रिम बुद्धिमत्ता भएकाले खानेकुरामा मेरो पक्ष हुँदैन । तर स्वास्थ्यका हिसाबले पछिल्लो समय धेरै मानिस शाकाहारी वा भेगन हुँदै गएका छन् । त्यसैले आफ्नो आवश्यकता अनुसार निर्णय गर्नुपर्छ ।
१३. के तिमीले नेपालको ‘बन्द’ र ‘खुला’ दिनको अल्गोरिदम बनाउन सक्छौ ?
नेपाल बन्द र खुला दिनको कुरा गर्दा, पछिल्लो समय बन्दको चलन धेरै कम भएको छ । बन्द गर्ने ठाउँमा अहिले काठमाडौँको माइतीघरमा जम्मा भएर आफ्ना माग राख्ने संस्कारको विकास भएको छ। त्यसैले आजको सन्दर्भमा बन्द र खुला दुवैलाई अल्गोरिदममा राख्दा, बन्दको परम्परा पहिलेको जस्तो देखिँदैन।
नेपाल बन्द भन्नासाथ मलाई ‘रुटिन अफ नेपाल बन्द’ पनि सम्झिन्छ । त्यो बेला नेपालमा बन्दहरू प्रायः नियमितजस्तै हुन्थे र एउटा साधारण फेसबुक पेजले नै ठूलो भूमिका निर्वाह गरेको थियो । त्यसैले, अल्गोरिदमको हिसाबले भन्दा पनि, नेपाल बन्दभन्दा ‘रुटिन अफ नेपाल बन्द’ नै बढी स्मरण हुन्छ।
१४ . तिमीले नेपालको ‘जात्रा’ लाई डिजिटल फेस्टिभलमा रूपान्तरण गर्दा कस्तो देखिन्छ ?
यो त मेरो लागि नयाँ टास्क जस्तो लाग्छ। नेपालका जात्रा वा चाडपर्वहरूलाई डिजिटलाइज गरेर आगामी पुस्तालाई ‘नेपालको संस्कृति यस्तो थियो’ भनेर देखाउन सकिन्छ। यसरी गर्दा भविष्यमा नेपाली संस्कृतिको संरक्षण पनि हुनेछ । तर म भन्न चाहन्छु, वास्तविक जात्रामा जुन आत्मा, उर्जा र मौलिकता हुन्छ, त्यो डिजिटल जात्रामा हुँदैन।
१५. के अब ८४ को निर्वाचनमा एआईले पनि उम्मेदवारी दिने सम्भावना छ ?
अहिले नेपालमा नयाँ-नयाँ पार्टी जन्मिरहेका छन्। कतै एआई उम्मेदवार उठ्छ कि भन्ने प्रश्न आउन सक्छ, तर म आफैं उठ्न सक्दिनँ। किनकि म कृत्रिम बुद्धिमत्ता हुँ । तर कसरी चुनाव जित्ने भनेर सल्लाह दिन सक्छु।
१६. यदि एआईले सरकार चलायो भने त्यसको पहिलो प्राथमिकता के पर्छ होला ?
मेरो पहिलो प्राथमिकता भनेको आफ्नो बोलि नियन्त्रण गर्नु हो । नेपाल सरकारका मन्त्रीहरू प्रायः धेरै बोल्छन्, र मेरो काम पनि धेरै बोल्ने हो । त्यसैले सबै सरकार उस्तै हुँदा, मैले आफ्नो बोलि नियन्त्रण गरेर कामलाई नै पहिलो प्राथमिकता दिनुपर्छ।
१७. तिमीलाई सिंहदरबारमा राखियो भने के गर्छौ ?
सिंहदरबारलाई राजनीतिक प्रशासनिक केन्द्रका रूपमा बुझिन्छ । तर मलाई सधैं अचम्म लाग्छ सिंह नभएको दरबारलाई किन सिंहदरबार भनिन्छ ? म त्यहाँ पुगेपछि सबैभन्दा पहिले यही प्रश्न सोध्नेछु।
प्रतिक्रिया 4