+
+
Shares

सेप्टेम्बर ९ मा आउँदैछ आइफोन १७, यी हुनेछन् फिचर्स

क्यालिफोर्नियाको क्यूपर्टिनोस्थित एप्पल मूख्यालय हुने उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिज तथा नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १४:३०
फाइल तस्वीर

नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित वार्षिक समारोह आगामी सेप्टेम्बर ९ मा हुने भएको छ । उक्त समारोहको नाम Awe Dropping राखिएको छ ।

उक्त समारोहमा लागि एप्पलले सञ्चार माध्यमहरुलाई निमन्त्रणा पठाएको सिएनएनले उल्लेख गरेको छ। स्मरण रहोस् एप्पलले सन् २०१२ देखि नै हरेक वर्ष सेप्टेम्बरमा आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ ।

क्यालिफोर्नियाको क्यूपर्टिनोस्थित एप्पल मूख्यालय हुने उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिज तथा नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ ।

विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा श्रोतहरुलाई उधृत गर्दै आएका समाचारहरुका अनुसार यसपटक एप्पलले आइफोन १७, आइफोन १७ प्रो तथा आइफोन १७ प्रो म्याक्ससँगै आइफोन १७ एयर पनि लञ्च गर्नेछ । आइफोन एयर भर्सन निकै पातलो र हलुका हुनेछ ।

यो मोडल डिजाइनमा उल्लेख्य परिवर्तनका साथै निकै साँघुरो बेजल (स्क्रिनको चारैतर्फ रहेको घेरा) को साथ आउनेछ । एप्पलले यस पटकबाट आइफोनको प्लस मोडेललाई अन्त्य गर्नेछ ।

समाचारमा दाबी गरिए अनुसार आइफोन १७ एयरलाई एप्पलले अधिकाधिक पातलो बनाउने कोसिस गरेको छ । हालै सामसुङले पनि ग्यालेक्सी एस२५ एज लञ्च गरेको थियो, जुन अत्यन्तै पातलो छ । यद्यपि ग्यालेक्सीको उक्त पातलो संस्करणलाई प्रयोगकर्ताले खासै रुचाएका छैनन् ।

यस्तो अवस्थामा एप्पलको पातलो आइफोन प्रयोगकर्ताहरुको रुचीमा पर्छ कि पर्दैन त्यो हेर्न बाँकी छ । आइफोन १७ एयरको मोटाई ५.५ देखि ५.६ मिलिमिटर हुने बताइएको छ ।

आइफोन १७ को प्रो मोडेलमा ठूलो क्यामेरा सेन्सर, उत्कृष्ट अप्टिकल सिस्टमसँगै अद्यावधिक प्रोसेसर हुने बताइएको छ । नयाँ आइफोनको सफ्टवेयरप्रति धेरैको चासो छ । अहिलेको एआईको युगमा एप्पल नवप्रवर्तकको रुपमा अगाडि आउँछ कि पूरानै ढर्रा दोहोराउँछ भन्ने विषयलाई वालस्ट्रिटले हेरिरहेको सिएनएनको विश्लेषण छ ।

एयर मोडेलमा सिंगल क्यामेरा सेटअप हुनेछ। त्यस्तै स्याटेलाइट कलिंग फिचरलाई पनि अपग्रेड गरिनेछ

एप्पलले आफ्नो ए१९ चिपसेटलाई आइफोन १७ सिरिजका सबै मोडेलमा उपलब्ध गराउने सम्भावना छ ।

आइफोन १७ सिरिजको मूल्यका बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । आधिकारिक मूल्य तथा बजारमा उपलब्ध हुने मिति एप्पलले सेप्टेम्बर ९ मै सार्वजनिक गर्नेछ ।

आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित समारोहलाई कम्पनीले एप्पल डटकम, एप्पल टिभी तथा युट्युबबाट समेत प्रत्यक्ष प्रशारण गर्नेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?