+
+
Shares
ब्लग :

के गर्ने युवा ? करिअर मार्गदर्शनबाट करिअर तयारी

करिअर मार्गदर्शनले बाटो देखाउँछ, तर करिअर तयारीले त्यो बाटोमा हिंड्न सीप, आत्मविश्वास र दृढता दिन्छ। नेपालका युवाले सपना देख्न मात्र होइन, त्यो सपना पूरा गर्ने साधन पनि पाउनुपर्छ।

आशिष ठाकुर आशिष ठाकुर
२०८२ भदौ १२ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा करिअर मार्गदर्शनले विद्यार्थीलाई क्षमता पहिचान र अध्ययन क्षेत्र छान्न सहयोग पुर्‍याएको छ, तर तयारी अभावले प्रभाव सीमित छ।
  • विदेश र जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, फिनल्याण्डका उत्कृष्ट अभ्यासले करिअर तयारीमा सीप विकास र उद्योगसँग सहकार्य आवश्यक देखाएका छन्।
  • नेपालमा डिजिटल मूल्याङ्कन, प्रशिक्षित काउन्सिलर र स्थानीय उद्योगसँग सहकार्यले गुणस्तरीय करिअर मार्गदर्शन र रोजगारीमा सकारात्मक प्रभाव पारेको छ।

एसईई सकिएसँगै आयुषा जीवनको महत्वपूर्ण मोडमा थिइन्। परिवार, साथीहरू र समाजले दिएका सुझावहरू प्रशस्त थिए। कसैले विज्ञान पढ भन्थे भने कसैले विदेश जाने तयारी गर्न। तर, उनको मनमा स्पष्टता थिएन।

यस्तै अवस्थामा गाउँको सामाजिक विषयका शिक्षक रहेका उनका मामाले एउटा सुझाव दिए, ‘तिमी करिअर काउन्सिलिङ केन्द्र जाऊ, जहाँ करिअर परामर्शकर्ताले रुचि र खुबीको आधारमा तिम्रो क्षमता पत्ता लगाई करिअर छानेर अघि बढ्न परामर्श र आवश्यक योजना पनि बनाइदिनेछन्।’

त्यो सानो सुझावले उनको जीवनको दिशा नै बदल्यो। शिक्षा तालिम केन्द्रकी करिअर काउन्सिलरसँगको पहिलो भेटमा आयुषाले अनुभव गरिन्- कसैले उनलाई सुन्दैछ, बुझ्दैछ र बाटो देखाउँदैछ। विस्तृत मूल्याङ्कन परीक्षण, गहिरो संवाद र भविष्यबारे क्रमबद्ध सोचको अभ्यासपछि उनले आफू र आफ्नो क्षमता स्पष्ट पहिचान गरिन् र सोही अध्ययन क्षेत्र छानेर त्यसमा पुग्ने बाटो स्पष्ट देखिन्।

यो कथा कुनै एकल घटना मात्र होइन। यो नेपालका सयौं, हजारौं युवाको प्रतिनिधि घटना हो। हाम्रो देशमा यस्ता युवाहरू प्रशस्त छन् जो अवसरबारे सुन्छन्, सपना देख्छन्, तर त्यसका लागि तयार हुने अभ्यास वा समर्थन पाउँदैनन्। यही हो करिअर मार्गदर्शन र तयारी बीचको वास्तविक दूरी।

मार्गदर्शनको सीमा र तयारीको आवश्यकता

नेपालमा करिअर मार्गदर्शन अब नौलो विषय रहेन। विद्यालय, स्थानीय सरकार र अन्तर्राष्ट्रिय साझेदारीमा आधारित परियोजनाहरूले यसलाई विद्यालयसम्म पुर्‍याइरहेका छन्। इनस्योर (ENSSURE) परियोजना जस्तो कार्यक्रमले साझेदार सहित नेपालभरि हजारौं विद्यार्थीलाई डिजिटल मूल्याङ्कन, करिअर परामर्श आदि उपलब्ध गराउँदै आएको छ।

विद्यार्थीका अलावा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न सात दिनको प्रशिक्षक प्रशिक्षण, दुई दिनको पुनर्ताजगी तालिम र प्रधानाध्यापकहरूलाई एकदिने अनुगमन तालिम पनि प्रदान गर्दै आएको छ। साथसाथै ती विद्यार्थीका अभिभावकहरूलाई पनि करिअर मार्गदर्शनको अभिभावकीय शिक्षा पनि उपलब्ध गराउँदै आएको छ।

सूचना पाएको विद्यार्थीले त्यसलाई व्यवहारमा उतार्न नसके त्यो मार्गदर्शन निष्प्रभावी हुन्छ। यो स्थिति त्यस्तै हो, जस्तो कसैले नक्शा त पाएको छ, तर यात्रा गर्न न सीप छ, न साधन। करिअर तयारी भनेको त्यही साधन र सीप हो जसले युवालाई अवसरसम्म पुर्‍याउँछ। अबको बाटो भने हामीले त्यसमा ध्यान दिनुपर्छ।

विश्वका उत्कृष्ट अभ्यास

जर्मनीको दोहोरो शिक्षा प्रणालीमा विद्यार्थीले पढाइसँगै उद्योगमा काम गर्छन्– हप्तामा दुई दिन कक्षामा र बाँकी दिन उद्योगमा। यसले उनीहरूको सीप, अनुशासन र आत्मविश्वास दुवै बढाउँछ। स्नातक भएपछि रोजगारी पाउन उद्योगसँगको सम्पर्क नै पर्याप्त हुन्छ।

सिङ्गापुरको एप्लाइड सिकाइ कार्यक्रमले विद्यालयदेखि नै उद्योग भ्रमण, प्रोजेक्ट–आधारित सिकाइ र वास्तविक समस्या समाधानलाई अनिवार्य गरेको छ। यसले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक संसारसँग जोड्छ।

अष्ट्रेलियाको करिअर शिक्षा रणनीतिमा विद्यार्थीले १० कक्षादेखि नै आफ्नो करिअर पोर्टफोलियो बनाउन थाल्छन्। यसमा प्रमाणपत्र मात्र होइन, परियोजना, इन्टर्नसिप र सामुदायिक संलग्नताको विवरण हुन्छ।

फिनल्याण्डको कार्य जीवन सक्षमता मोडेलमा शिक्षक र करिअर काउन्सिलर दुवैलाई उद्योग अनुभव दिलाइन्छ, जसले उनीहरूले दिने मार्गदर्शनलाई अझ यथार्थपरक बनाउँछ। यी अभ्यासहरूले देखाउँछन्- करिअर मार्गदर्शन भनेको केवल ‘कुन बाटो जाने’ भन्ने कुरा होइन, ‘त्यो बाटोमा हिंड्न सक्षम हुने’ तयारी पनि हो।

नेपालका अभ्यास र प्रभाव

बागमती, लुम्बिनी र कोशी प्रदेशमा डिजिटल मूल्याङ्कन र प्रशिक्षित काउन्सिलरको संयोजनले ग्रामीण विद्यालयसम्म गुणस्तरीय मार्गदर्शन पुर्‍याएको छ। काभ्रेको एउटा विद्यालयमा मूल्याङ्कनपछि इलेक्ट्रिकल इन्जिनियरिङमा रुचि पत्ता लगाएकी छात्राले स्थानीय प्राविधिक विद्यालय भ्रमणपछि त्यही क्षेत्रमा अध्ययन शुरु गरिन्।

कोशी प्रदेशमा, स्थानीय सरकारकै बजेटमा करिअर सत्र सञ्चालन र उद्योग प्रतिनिधिलाई विद्यालयमा ल्याउने अभ्यास शुरु भएको छ। मोरङको एउटा गाउँपालिकामा हरेक वर्ष ९ र १० कक्षाका विद्यार्थीका लागि करिअर मार्गदर्शन सत्र राखिन्छ, जसमा स्थानीय गार्मेन्ट उद्योगका प्रतिनिधि र प्राविधिक प्रशिक्षक सहभागी हुन्छन्। यसबाट स्नातक भएलगत्तै करिब २० प्रतिशत विद्यार्थी रोजगारी वा तालिममा प्रवेश गर्छन्।

लुम्बिनी प्रदेशमा भने मार्गदर्शनसँगै सीप कार्यशाला, उद्योग भ्रमण र अनुगमन गर्ने अभ्यास भइरहेको छ। रूपन्देहीका केही विद्यार्थीले करिअर सत्रपछि स्थानीय पर्यटन व्यवसायमा छोटो तालिम लिई रोजगारी पाएका छन्।

जीवन बदल्ने व्यक्तिगत कथाहरू

आयुषाले व्यक्तिगत परामर्शपछि उनले अनिश्चिततालाई स्पष्टतामा बदलिन् र आफैंले रोजेको क्षेत्रमा अघि बढिन्। उनी जस्तै श्रीष्टिना अनौपचारिक सेटिङको छोटो संवादमै उनले करिअर मूल्याङ्कन गरिन् र आफ्ना रुचि तथा क्षमता स्पष्ट पारिन्।

औद्योगिक तालिम र पढाइ दुवै छोडेका विशालले प्रत्यक्ष परामर्शपछि फेरि नियमित भए। अनन्तले करिअर मार्गदर्शनपछि पढाइसँगै फार्मेसीमा तालिम शुरु गरे, अहिले पढाइ र काम दुवैमा सक्रिय छन्।

यी कथाहरूले देखाउँछन् कि करिअर तयारी भनेको जीवन बदल्ने शक्ति हो, जुन केवल सूचनाले सम्भव हुँदैन र त्यसका लागि संरचित समर्थन, सीप विकास र निरन्तर प्रेरणा आवश्यक हुन्छ।

अबको बाटो

नेपालको श्रम बजारमा हरेक वर्ष लाखौं युवा प्रवेश गर्छन्। धेरैजसो युवाले अवसर देख्छन्, तर त्यसका लागि तयार हुँदैनन्। यसले बेरोजगारी मात्र होइन, श्रमको गुणस्तर र उत्पादकत्वमा पनि असर पार्छ।

अब शिक्षा प्रणालीले करिअर तयारीलाई मूलधारमा ल्याउनुपर्छ। यसका लागि राष्ट्रिय करिअर तयारी फ्रेमवर्क विकास र कार्यान्वयन गर्नुपर्छ। विद्यालय–उद्योग सहकार्यलाई कानूनी संरचनामा ढाल्नुपर्छ। त्यस्तै, करिअर काउन्सिलर तालिमलाई नियमित, मान्यताप्राप्त कार्यक्रममा समावेश गर्नुपर्छ र ग्रामीण क्षेत्रमा डिजिटल हेल्पलाइन र अनलाइन परामर्श सेवा शुरु गर्नुपर्छ।

करिअर मार्गदर्शनले बाटो देखाउँछ, तर करिअर तयारीले त्यो बाटोमा हिंड्न सीप, आत्मविश्वास र दृढता दिन्छ। नेपालका युवाले सपना देख्न मात्र होइन, त्यो सपना पूरा गर्ने साधन पनि पाउनुपर्छ। हामीसँग अब अनुभव, उदाहरण र सफल अभ्यास छन्। अब चाहिएको कुरा हो, ती सबैलाई राष्ट्रियस्तरमा फैलाउने राजनीतिक इच्छाशक्ति र दीर्घकालीन योजना।

यदि अहिले नै मार्गदर्शनलाई तयारीमा रूपान्तरण गर्न सकेनौं भने हजारौं युवाले अझै पनि अस्पष्ट दिशामा यात्रा गर्नुपर्नेछ। तर यदि गर्‍यौं भने नेपालको भविष्य केवल शिक्षित होइन, सक्षम र प्रतिस्पर्धी पुस्ताले तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?