+
+
Shares

थकित, भोको र त्रासमा छन् गाजामा पत्रकार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाजामा २२ महिनादेखि जारी युद्धका कारण कम्तीमा १९७ पत्रकार मारिएका छन्, जसमा १८९ प्यालेस्टिनी पत्रकार छन्।
  • सोमबार नासेर अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २० जनामध्ये पाँचजना पत्रकार मारिएका छन्।
  • गाजामा खाद्य सुरक्षाको अभावले पाँच लाखभन्दा बढी मानिस भोकमरीको सामना गरिरहेका छन् र पत्रकारहरू भोकमरीमा परेका छन्।

विश्वलाई थाहा छ-युद्धका कारण गाजामा अहिले ठूलो मानवीय संकट जाइलागेको छ ।

त्यहाँ बालबालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी सबै सबैलाई गाह्रो छ । २२ महिनाको युद्धका कारण अहिले अधिकांश पत्रकारहरू बिजुली र इन्टरनेट पहुँचबाट टाढा छन् ।

उनीहरू अस्पताल वरपर पालमा बसेर काम गर्न थालेका छन् । किनकि गाजामा इजरायलले बिजुली काटेको छ । अस्पतालहरूमा भने जेनेरेटरहरू चलाउने गरिएको छ ।

तर, अस्पतालमा काम गर्दा समेत पत्रकारहरू सुरक्षित हुन सकेका छैनन् । अस्पताल र त्यस वरपर नै इजरायली आक्रमणमा परेर धेरै पत्रकारहरू मारिएका छन् ।

यो सोमबार मात्रै खान युनिसको दक्षिणी शहरमा रहेको नासेर अस्पतालमा भएको दोहोरो इजरायली आक्रमणमा मारिएका कम्तीमा २० जनामध्ये पाँचजना पत्रकार थिए ।

समाचारका लागि अहिले थुप्रै अन्तर्राष्ट्रिय समाचार संस्थाहरू गाजाभित्रका स्थानीय पत्रकारहरूमा निर्भर छन् । किनकि इजरायलले कहिलेकाहीँ बाहेक बाहिरका पत्रकारहरूलाई त्यस क्षेत्रमा पठाउँदैन ।

000

अमेरिकाको कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे का अनुसार गाजा युद्ध सुरु भएदेखि अहिलेसम्म कम्तीमा १९७ पत्रकार मारिएका छन् । तीमध्ये १८९ प्यालेस्टिनी पत्रकार रहेका छन् ।

गाजास्थित प्यालेस्टिनी पत्रकार अहेद फरवानाले इजरायली सेनाले आफूहरूलाई निशाना बनाएको बीबीसीलाई बताएका छन् । अर्का पत्रकार अब्दुल्लाह मिकदाद आफूहरू गर्मीमा ग्रीनहाउस र जाडोमा रेफ्रिजरेटरजस्तै हुनु परेको बताएका छन् । साथै कुनै दिन खानेपानी/शौचालय जस्तो आधारभूत मानवीय आवश्यकताहरूको अभावबीच पालमा बसेर काम गर्छु भनेर कहिल्यै नसोचेको उनले सुनाए ।

त्यहाँ दुई वर्षदेखि लगातार युद्ध चल्दा पत्रकारहरू थकित भएका छन् । तर समाचार कभरेजको माग भने यथावत् नै रहेको छ । अझ बढी छ । यसले गर्दा गाजाका कतिपय युवाहरू रिपोर्टर र फोटो पत्रकार बन्न लागेका छन् ।

केही पत्रकारहरूले आधिकारिक रूपमा स्थानीय वा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि काम गर्छन् । तर धेरैलाई अस्थायी करारमा राखिएको छ । त्यसको अर्थ उनीहरूको रोजगारी जहिले पनि खतरामा छ । साथै उनीहरूले पाउने सुरक्षा उपकरण, बीमा र स्रोतसाधन पनि फरक-फरक हुन्छ ।

‘विश्वका हरेक पत्रकारलाई अन्तर्राष्ट्रिय सुरक्षाको अधिकार छ । दुर्भाग्यवश इजरायली सेनाले पत्रकारहरूसँग यसरी व्यवहार गर्दैन । अझ प्यालेस्टिनी पत्रकारहरूसँग’ जर्मन पत्रिका ‘डेर स्पीगल’का संवाददाता घाडा अल-कुर्दयसो भन्छिन् ।

तर इजरायलले आफ्ना सेनाले पत्रकारहरूलाई निशाना बनाएको कुरा बारम्बार अस्वीकार गर्दै आएको छ ।

यद्यपि इजरायली सेनाले १० अगस्टमा गाजा शहरमा रहेको अल जजिराका संवाददाता अनास अल शरीफलाई निशाना बनाएको स्वीकार गरेको थियो । उक्त आक्रमणमा अन्य तीन अल जजिराका कर्मचारी, दुई फ्रील्यान्सर र एक अन्य पुरुष पनि मारिएका थिए । शरीफले ‘हमास आतंकवादी सेलको प्रमुखको रूपमा काम गरेको’ आरोपमा आक्रमण गरेको इजरायलले बताएको थियो ।

यता सीपीजेले इजरायलले आफ्नो आरोपलाई प्रमाणित गर्न प्रमाण दिन असफल भएको बताउँदै आइरहेको छ ।

हालै मात्र नासेर अस्पतालमा भएको पहिलो आक्रमणमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी मारिएका थिए । त्यसको केही मिनेटमै भएको दोस्रो आक्रमणमा घटनास्थलमा पुगेका अन्य चार पत्रकारहरू पनि मारिएका थिए ।

यता इजरायली सेनाले भने हमासले नासेर अस्पतालको क्षेत्रमा राखेको क्यामेरालाई आक्रमण गर्दा त्यो दुर्घटना भएको बताएको थियो ।

000

गाजामा रहेर काम गरिरहेका पत्रकारहरू कुनै पनि क्षण के हुन सक्छ भन्ने थाहा नहुने बताउँछन् । आफ्नो पाल वा त्यसको वरपर बमबारी हुन सक्ने खतरा जहिल्यै हुने उनीहरू सुनाउँछन् । अनि थकित भए पनि अत्यधिक सतर्क र छिटो सोच्न सक्ने हुनुपर्ने बाध्यता छ उनीहरूलाई

त्यससँगै त्यहाँका पत्रकारहरू भोकमरीमा पर्न थालिसकेका छन् ।

हालै मात्र खाद्य सुरक्षा अनुगमन गर्ने संयुक्त राष्ट्रको निकायले गाजामा पहिलो पटक अनिकाल भएको बताएको थियो । इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) का अनुसार गाजामा हाल पाँच लाख बढी मान्छेहरू भोक, अभाव र मृत्युको सामना गरिरहेका छन् ।

यतिसम्मकी एउटा कफीको कपमा चनाको धुलो मिसाएर अथवा बिना चिनीको चियाले पुरै दिन काट्नु पर्ने अवस्था रहेको त्यहाँ पत्रकारहरू बताउँछन् । भोकका कारण अत्यधिक टाउको दुख्ने र थकान महसुस भइरहेको हुन्छ, त्यस्तोमा कुन बेला आक्रमण हुन्छ, त्यसका लागि पनि तयार भएर बस्नु पर्ने त्यहाँका पत्रकारहरूको बाध्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?