
१२ भदौ, धनगढी । बिहीबार दिउँसो २ बजे कैलालीको गोदावरी नगरपालिका–९ को खुटिया नदीमा चार किशोर डुबेर बेपत्ता भएको खबर आयो ।
इलाका प्रहरी कार्यालय मालाखेती, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुग्यो ।
शेहरी पुल नजिकै वारीपट्टी नदी छेउमा किशोरहरूका लुगा थिए भने पारीपट्टी तीन किशोर अर्धनग्न अवस्थामा थिए ।
अर्धनग्न अवस्थामा भेटिनेमा धनगढीका नवील बुडाल, युवराज कुँवर र प्रकाश मल्ल थिए ।
उनीहरूसँगै गएका धनगढीको तारानगरका १७ का सक्षम जोशी, जाइका १७ वर्षीय प्रतीक चौधरी, उत्तरबेहडीका १७ वर्षका जेव भण्डारी र जादेज भण्डारी भने नदीमा बेपत्ता थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दकाअनुसार उनीहरू मध्ये भण्डारी भने जुम्ल्याहा दाजुभाइ हुन् ।
उनीहरूको शव डुबेको स्थान नजिकै फेला परेको थियो । प्रहरीकाअनुसार मृतकहरू साथीको जन्म दिन मनाउन भन्दै घरबाट निस्किएका थिए ।
तर, कसको जन्म दिन थियो भन्ने कुरा भने खुलेको छैन् । डीएसपी चन्दकाअनुसार वारीपट्टी कपडा राखेर पारी तरेर साथमा लगेको खानेकुरा खाएर फर्किने क्रममा चार जना नदीमा डुबेका थिए ।
‘सातै जना साथमा लगेको खानेकुरा खाइसकेपछि वारी कपडा राखेको स्थानतर्फ फर्किने क्रममा डुबेको देखिन्छन्,’ चन्दले भने, ‘एक जना डुबेपछि बचाउन खोज्न अन्य तीनको पनि ज्यान गयो । तीन जना भने पारीतर्फै रोकिएछन् ।’
मृतकमध्ये तीन जना धनगढीकै बालमिकी इन्टरनेशल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा ११ कक्षामा अध्ययनरत थिए ।
नदीमा डुबेर मृत्युु भएका चारै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4