
News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ।
- अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बरमा ब्याजदर ०.२५ प्रतिशत घटाउने अनुमानले सुनको माग बढेको छ।
- अमेरिका र भारतबीच व्यापार युद्धले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
१६ भदौ, काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय बजारमै सुन महँगिदा नेपाली बजारमा प्रभाव परिरहेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४८० अमेरिकी डलर हाराहारी पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुनको माग बढेको छ । मुख्यतः दुई कारणले सुनको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो हो : अमेरिकी केन्द्रीय बैंकले ब्याज कटौती गर्ने अनुमान । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बरको मध्यतिर हालको सन्दर्भ ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाउने चर्चा चलेको छ । यहीं अनुमानले लगानीकर्तामा सुनतिर आकर्षण बढ्न गएको सीएनबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर कटौतीका लागि केन्द्रीय बैंकलाई दबाब दिइरहेका छन् । जुलाइ महिनामा अमेरिकाको उपभोक्ता मूल्यवृद्धि २.६ प्रतिशतमा रहेकाले केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना बढेको छ ।
अर्कोतर्फ अमेरिका र भारतबीच बढ्दो व्यापार युद्धसँगै चीन, रुस र भारत नजिकिएको विषयले पनि सुनको मूल्यमा असर पारेको छ । विश्वमा व्यापारिक तथा राजनीतिक द्वन्द्व बढ्दा सुनको मूल्य महँगिने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।
यतिबेला भारत र अमेरिकाबीचको व्यापार युद्धले सुनको मूल्यमा केही हदसम्म प्रभाव पारेको उनले बताए । गरगहनाका लागि भारतमा सुनको माग अत्याधिक रहने गर्छ ।
विश्वमा सबैभन्दा धेरै सुन अमेरिकाले भण्डारण गरेको छ । अमेरिकाले हालै भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएसँगै दुई देशबीचको व्यापारिक सम्बन्ध चिसिएको छ ।
कति पुग्ला सुनको भाउ ?
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यतिबेला सुनको मूल्यबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य घटबढ भइरहन्छ ।
सुनको मूल्यले विगतमा बनाएका प्राविधिक चार्ट तथा वृद्धिदर हेरेर नै भविष्यको मूल्यबारे विभिन्न विश्लेषण भइरहेका छन् । सोमबार प्रतिऔंस ३४८० डलरमा कारोबार भएको सुन केही दिनमै ३५०० डलरसम्म पुग्न सक्ने अनुमान छ ।
डिसेम्बरको अन्तिमसम्म ३७८० डलरसम्म पुग्ने क्वाइन कोडेक्सको प्रक्षेपण छ । विज्ञ टिममार्फत प्राविधिक चार्टलाई हेरेर क्वाइनकोडेक्सले प्रक्षेपण गर्दै आएको छ ।
प्रतिऔंस ३७८० डलर भनेको हालको भन्दा ८.९ प्रतिशत बढी हो । हाल नेपाली बजारमा तोलाको २ लाख ५ हजार मूल्य रहेको सुन त्यो अनुमान नजिक हुँदा २ लाख २३ हजार रुपैयाँ हुन जान्छ । क्वाइन कोडेक्सको यो अधिकतम अनुमान हो ।
२०२६ को अन्त्यमा ४ हजार ३ सय प्रतिऔंस पुग्ने उसको प्रक्षेपण छ । उसको यो प्रक्षेपणनजिक मूल्य पुगेमा नेपाली बजारमा सुन प्रतितोला २ लाख ५२ हजार रुपैयाँ हुन जान्छ।
यस्तो छ क्वाइन कोडेक्स प्रक्षेपण
प्रतिक्रिया 4