News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण फुटबल खेल २१ र २४ भदौमा दशरथ रंगशालामा हुँदैछ।
- नेपाली राष्ट्रिय टोलीले झन्डै दुई वर्षपछि दशरथ रंगशालामा खेल्दैछ।
- दशरथ रंगशालामै पछिल्लो पटक ५ मंसिर २०८० मा अन्तर्राष्ट्रिय खेल भएको थियो।
१७ भदौ, काठमाडौं । अन्जन विष्ट नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीमध्ये एक हुन् । उनले हरि खड्का र निराजन रायमाझीको बराबरी १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अर्कोतर्फ आदित्य शाक्य पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका छन् ।
एकजना अनुभवी र अर्का जुझारु नवयुवा, यी दुई खेलाडी सम्मिलित नेपाली फुटबल टोली बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ ।
फिफा विन्डोअन्तर्गत नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल यही २१ र २४ भदौ (सेप्टेम्बर ६ र ९) मा काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
नेपालका लागि एक दशक खेलिसकेका विष्ट र पहिलो पटक सिनियर टोलीमा परेका आदित्य राष्ट्रिय जर्सीमा दशरथ रंगशालामा खेल्न उत्साहित छन् । किनभने, नेपाली फुटबल टोलीले लामो समयपछि दशरथ रंगशालामा खेल्दैछ ।
‘दशरथ रंगशालामा खेल्न पाउँदाको फिलिङ भन्न सक्दिनँ । हामी साह्रै उत्साहित छौँ,’ अन्जनले मंगलबार बिहान प्रशिक्षणअघि सञ्चारकर्मीहरूसँग भने ।
पछिल्लो समय अन्जनले राष्ट्रिय टोलीदेखि क्लबस्तरसम्म खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । साथै उनले देशका लागि गोल नगरेको पनि धेरै भइसक्यो ।
त्यसैले अन्जन यसपटक आफ्नो उत्कृष्ट खेल देखाउने तयारीमा छन् । ‘म फिट नभई खेलेको धेरै भयो । त्यही भएर पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिले भने बेस्ट खेल दिन तयारी गरिरहेको छु,’ अन्जनले भने ।
आदित्य भने घरेलु मैदानमै राष्ट्रिय टोलीबाट डेब्यू गर्न पाउँदा निकै उत्साहित छन् ।
‘एकदमै उत्साहित छु । धेरै पछि राष्ट्रिय टोली दशरथ रंगशालामा खेल्न लागिरहेको छ,’ आदित्यले भने, ‘सबै फ्यानहरूलाई हामीलाई विश्वास गर्न आग्रह गर्छु । यो पटक हामी राम्रो प्रदर्शन गर्नेछौँ ।’
पारिवारिक पृष्ठभूमि नै फुटबल भएकोले आदित्यले सानैदेखि राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका थिए र त्यो अब पूरा हुने चरणमा छ ।
‘सानैदेखिको सपना थियो । राष्ट्रिय टोलीमा परेको थाहा पाउँदा एकदमै खुसी थिएँ । सुरुमा टोलीमा जाँदा थोरै डर पनि थियो । फुटबल पृष्टभूमिबाटै हुँदा राष्ट्रिय टोलीमा पुग्नुपर्छ भनेर सानैदेखि प्रेसर जस्तो पनि थियो,’ आदित्यले भने ।
राष्ट्रिय टोलीमा परे पनि अझै धेरै गर्न बाँकी रहेको आदित्यले बताए । ‘सबै पूरा भयो भन्ने होइन । अहिले लागि बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ,’ उनले भने ।
अन्जनलाई कीर्तिमान बनाउने अवसर
नेपाली राष्ट्रिय टोलीका अनुभवी केही खेलाडीमध्ये अन्जन एक हुन् । त्यसमा पनि सर्वाधिक गोलकर्ता भएकोले नेपालले खेल्दा हरेक पटक अन्जनको नाम चर्चामा आइहाल्छ ।
उनलाई अहिले कीर्तिमान बनाउने अवसर छ । त्यो अवसरले उनलाई दबाब पनि थप्न सक्छ । अन्जनले राष्ट्रिय टोलीबाट गोल नगरेको पनि धेरै समय भइसक्यो । त्यसलै पनि उनले घरेलु मैदानमा गोल गर्दै कीर्तिमान बनाउने अवसर छ । अन्जनले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा दशरथ रंगशालामै ह्याट्रिक गरेका थिए ।
‘म खासै गोलमा प्रेसर राख्ने मान्छे होइन । तर धेरै समय भयो नेपालबाट गोल नहानेको । मेरो विचारमा यो बेस्ट समय हो जस्तो लाग्छ,’ उनले भने ।
नेपालमा ए डिभिजन लिग नहुँदा पछिल्लो समय राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङदेखि अन्जनसम्मका सिनियर खेलाडीहरू बंगलादेशी क्लबमा अनुबन्ध भएका छन् । यो मैत्रीपूर्ण खेलपछि उनीहरू बंगलादेशी लिग खेल्न जानेछन् ।
नेपालमा लिग नहुँदा खेलाडीलाई घाटा लागिरहेको अन्जनले बताए । खेलाडीले विदेशी लिग खेल्न पाए पनि नेपालमै फुटबल गतिविधिहरू हुनुपर्ने उनको भनाइ छ ।
‘ए डिभिजन लिग नभएर, नियमित फुटबल नभएर राष्ट्रिय टोलीलाई एकदम गाह्रो भइरहेको छ,’ अन्जनले भने, ‘खेलाडी बाहिर जाने क्रम बढिरहनुको कारण नेपालमा फुटबल नभएर पनि होला । आशा छ, लिग पनि अब सुरु हुन्छ होला ।’
यसपटक राष्ट्रिय टोलीमा सिनियर र जुनियर खेलाडीको मिश्रण रहेकोले त्यसलाई प्रशिक्षकले पनि राम्रो तरिकाले तालमेल मिलाइरहेको अन्जनले बताए । नयाँ आएका खेलाडीहरू पनि राम्रो रहेको अन्जनले बताए ।
आदित्यसँगै डिफेन्डर अमित लामा पहिलो पटक राष्ट्रिय टोलीमा पर्दा युवा फरवार्ड समीर तामाङले सिनियर टोलीमा पुनरागमन गरेका छन् ।
दुई वर्षपछि दशरथ रंगशालामा खेल
नेपाली राष्ट्रिय टोलीले झन्डै दुई वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ ।
नेपालले पछिल्लो पटक ५ मंसिर २०८० मा फिफा विश्वकप र एसियन कप छनोटअन्तर्गत यमनविरुद्ध दशरथ रंगशालामा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो ।
त्यसयता दशरथ रंगशालामा महिला राष्ट्रिय टोली र क्लब स्तरको खेल आयोजना हुँदै आए पनि पुरुष राष्ट्रिय टोलीको खेल भएको छैन ।
दशरथ रंगशालाको पिचको अवस्था, सुरक्षा व्यवस्था र फ्लड लाइडको समस्या देखाउँदै त्यसयता नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न पाएको थिएन । नेपालले विश्वकप र एसियन कप छनोटअन्तर्गत नै बहराइन र यूएईविरुद्ध आफ्नै होम म्याच देश बाहिर गएर खेलेको थियो ।
यस्तै एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाविरुद्ध पहिलो खेल घरेलु मैदान खेल्ने तय भए पनि मैदानकै अवस्थामा कारण नेपालले मलेसियामा गएर खेलेको थियो र मलेसियामा हुने खेल नेपालको मैदानमा हुनेगरी स्वाप गरिएको थियो ।
तर, फेरि दशरथ रंगशाला एएफसी छनोटको खेल खेलाउन अयोग्य हुँदा नेपालले मलेसियासहित भियतनामविरुद्धको खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।
फिफा र एएफसीको मान्यताप्राप्त आधिकारिक खेलहरू तत्काल दशरथ रंगशालामा हुने छैन । तर फिफा विन्डोमै हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भने दशरथ रंगशालामै आयोजना हुन लागेको छ ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रका अनुसार मैत्रीपूर्ण खेल भएकोले दुई देशको सहमति भए खेल खेलाउन सकिनेछ ।
‘दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल नहुने चाहिँ होइन । नेपाल र बंगलादेश खेल्दा फिफाको इन्टरनेसनल विन्डोअन्तर्गत फिफासँग फिफा टायर फर्म भरेर अप्रुभ लिएको हुन्छ,’ मिश्रले सोमबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा भनेका थिए, ‘एएफसी र फिफाको टुर्नामेन्ट, एसियन कप क्वालिफायर फिफा विश्वकप क्वालिफायरमा उनीहरूको रिक्वायरमेन्ट नपुगेको हो ।’
मिश्रले दशरथ रंगशालामा आगामी नोभेम्बरमा साफ वुमन्स क्लब च्याम्पियनसिप आयोजना हुने पनि जानकारी दिए ।
साथै, अप्रिल २०२६ मा साफ च्याम्पियनसिप होम र अवेमा हुने तयारीमा रहेको र त्यसो भएमा केही खेल दशरथ रंगशालामै हुने उनले जानकारी दिए । यसलाई भने साफको प्रतियोगिता समितिले स्वीकृत गर्न बाँकी छ ।
प्रतिक्रिया 4