
News Summary
Generated by OK AI. Editorially reviewed.- खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा किरण साहलाई पर्सा प्रहरीले तीन वटा कसुरमा अनुसन्धान गर्दै हिरासतमा राखेको छ।
- साहले मन्त्री यादवलाई फोनमा ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ, प्रहरीले त्यो अडियो इडिट गरिएको बताएको छ।
- वीरगञ्जमा फैलिएको हैजा संक्रमणका कारण साहले मन्त्रीलाई फोन गरी आक्रोश पोखेकी थिइन्, मन्त्रीले प्रभावित क्षेत्रमा खानेपानी नमुना संकलन गराएको बताएका छन्।
१७ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा गत शनिबारदेखि किरण साह नाम गरेकी महिला प्रहरी हिरासतमा छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले साहलाई हिरासतमा लिएर तीन वटा कसुरमा अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी किशोर लम्सालका अनुसार उनीमाथि ज्यान मार्ने धम्की दिएको, साइबर अपराध र अफवाह फैलाएको गरी तीन कसुरमा अनुसन्धान भइरहेको छ ।
यो प्रकरणसम्म आइपुग्नुमा भने मन्त्री यादव र महिला साहबीचको फोन संवाद हो । साहले मन्त्री यादवलाई फोन गर्दै वीरगञ्जमा फैलिएको हैजाबारे बताएकी थिइन् । यसमा मन्त्री जिम्मेवार भएको उनले बताइन् ।
सार्वजनिक भएको अडियोमा साहले मन्त्रीलाई ‘आफू नडराउने र नछाड्ने’ धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ । अन्य कुराकानी भने आफ्नो बुबा स्वयं हैजाको बिरामी भएको र आईसीयूमा उपचार गराएको दाबी गरेको सुनिन्छ ।
तर, प्रहरीले भने फोनमा भनेजस्तो साहकी बुबालाई हैजा नभएको बताएको छ । डीएसपी लम्साल भने सार्वजनिक अडियो नै इडिटेड रहेको बताउँछन् ।
प्रहरी स्रोतका अनुसार मन्त्रीलाई फोन गरेको अडियो रेकर्ड गरेर कोही पत्रकारलाई दिएको र त्यसपछि इडिट गरेर सार्वजनिक भएको हो ।
प्रवक्ता लम्सालले पनि ‘मन्त्रीलाई ज्यान लिन्छु’ भनेको भागलाई हटाएर अडियो सार्वजनिक गरिएको बताउँछन् । ‘ज्यान से मार्दुङ्गा भनेको पार्ट काटेर अडियो सार्वजनिक गरिएको छ । इडिट नगरिएको पूरा अडियोमा भने ज्यान मार्ने धम्की दिएको सुनिन्छ,’ डीएसपी लम्सालले अनलाइनखबरसँग भने ।
ज्यान मार्ने धम्की दिएपछि मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहले पर्सा प्रहरीमा तीन वटा कसुरमा उजुरी दिएका थिए ।
गत शनिबार उनलाई पक्राउ गरेर प्रहरीले तीन कसुरमा अनुसन्धान गरिरहेको छ । पहिलो पटकका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
साहले भनेजस्तो उनको बुबालाई हैजा नभएको प्रहरीले बताएको छ । उनी पूरानै बिरामी रहेको पाइएको प्रहरी स्रोत बताउँछ । उपचाररत उनका बुबा अहिले भने डिस्चार्ज भइसकेको बताइएको छ ।
उनकी दिदीकी छोरीलाई भने हैजा भएको पाइएको प्रहरीले बताएको छ । हैजा प्रभावित क्षेत्रमा उनीहरूको बसोबास रहेका प्रहरीको भनाइ छ ।
त्यही आवेगमा आएर आफूले गाली गरेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् ।
साह बारा निवासी हुन् । मन्त्री यादव निकट स्रोत भने साहलाई कसैले परिचालन गरेको दाबी गरेको छ । ‘हैजाबारे कुनै साइनो नै नभएको अवस्थामा फोन गरेर धम्की दिनुमा कसैले परिचालित गरेको हुनसक्ने हाम्रो बुझाइ हो,’ मन्त्रीको सचिवालयका एक अधिकारीले भने ।
करिब १० दिन अगाडिदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रका बस्तीमा हैजा संक्रमण देखिएको छ । हैजा संक्रमण फैलिएर बाराको कलैयामा पनि पुष्टि भएको छ ।
हैजाबाट संक्रमितको संख्या बढ्दै गएको छ । केहीको भने आईसीयूमै राखेर उपचार गरिएको छ । तर, हैजाको स्रोत पत्ता नलाग्दा रोग नियन्त्रण हुन सकेको छैन । सोही सन्दर्भमा किरण साहले मन्त्री यादवसँग आक्रोश पोखेकी थिइन् ।
वीरगञ्जमा हैजाको महामारी फैलिएपछि आफूले कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा पुगेर खानेपानीको नमुना संकलन गर्न लगाएको मन्त्री यादवले बताएका छन् ।
नमुना परीक्षण गर्दा हैजाका जिवाणु भेटिएको थियो । तर खानेपानीको स्रोतमा कसरी हैजाको जिवाणु मिसियो भन्ने पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया 4