
१९ भदौ, जनकपुरधाम । सरोकारबालालाई पन्छाएर मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले आपत्ति जनाएको छ ।
मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी अघि मन्त्रालयले काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा आज बिहीबार छलफल गर्दैछ । यो सूचना गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो ह्वाट्सएप ग्रुपमार्फत दिएका छन् ।
तर, यसबारे ऐनका प्रमुख सरोकारवाला नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र आठवटै जिल्ला शाखालाई औपचारिक जानकारी नदिइएको महासंघका मधेश महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशमै सञ्चार क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका औपचारिक संघ–संस्थाहरू पनि सहभागी नगराइ काठमाडौंमा छलफल कार्यक्रम राखिएको घटना आफैंमा गम्भीर र नियतगत शङ्का उत्पन्न गर्ने खालको रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘मधेशमै सम्पन्न हुनुपर्ने छलफललाई राजधानीमा राख्नु प्रदेश सरकारको बजेट दुरुपयोगजस्तो देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सरोकारवालाको सहभागिता र सहमति बिना अघि बढाइने संशोधन प्रस्तावहरू अस्वीकार्य हुने र त्यसविरुद्ध प्रतिकार गर्न महासंघ बाध्य हुने चेतावनी दिइएको छ ।
महत्वपूर्ण ऐन संशोधन प्रक्रियामा सरोकारवालालाई पाखा लगाएर आयोजना गरिने कुनै पनि छलफल वा गोष्ठी औचित्यहीन हुने महासंघको ठहर छ ।
महासंघले संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम स्वीकार्य नहुने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया 4