
१९ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबीएल) र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। यो सम्झौताले नेपालमा महिलालाई उद्यमशीलतामा आकर्षित गर्दै महिला व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरी यस महिला व्यावसायिक सेवा सुरु गरेका हुन् ।
यस सम्झौतामार्फत महासंघ सम्पूर्ण सदस्य र महिलाद्वारा सञ्चालित उद्यमहरू तथा नयाँ उद्यमी बन्न चाहने महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गरिने छ ।
सम्झौता अनुसार महासंघ सदस्यहरूलाई लक्षित गरी बैंकका २ सय ७५ शाखामार्फत विभिन्न सेवा प्रदान गरिनेछन् ।
महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई विशेष प्राथमिकता साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिने छ । यस अतिरिक्त वित्तीय साक्षरता सम्बन्धी सेवा पनि प्रदान गरिने सीईओ पाण्डेले जानकारी दिए ।
बैंकले यो सम्झौताबाट महिला उद्यमी महासंघका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । यस सहकार्यले महिला सशक्तीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4