
२४ भदौ, काठमाडौं । देशभरि एक दर्जन स्थानमा अझै पनि राजमार्ग अवरुद्ध रहेको सडक विभागको विवरणले देखाएको छ ।
सडक विभागका अनुसार अहिले ठूला र व्यस्त राजमार्गमा ठूलो अवरोध छैन । तर, रसुवागढी बाढीले चीनसँगको मुख्य व्यापारिक मार्ग र नाका भने अवरुद्ध छ । १४ साउनको बाढीका कारण गल्छी-रसुवागढी सडक खण्डको रसुवा जिल्लामा सडक नदी कटानमा परेको थियो ।
अहिले अवरुद्ध सडक खण्ड खुलाउने प्रयास भइरहेको समेत सडक विभागले जनाएको छ । सोही राजमार्गको तातोपानी/टिमुरेमा समेत सडक अवरुद्ध छ । चीनबाट आएको बाढीका कारण नदीले सडक कटान गर्दा यो सडक अवरुद्ध बनेको विभागको विवरण छ ।
यसबाहेक कर्णाली राजमार्गको हुम्ला खण्डसमेत अवरुद्ध छ । हुम्ला पैमा खोलाको बहाब बढ्दा सडक अवरुद्ध बनेको हो । कोशी राजमार्गको संखुवासभामा समेत यातायात अवरुद्ध छ । बरुण नदीको डाइभर्सन बगेको र पुल निर्माणका लागि ढलानको काम बाँकी रहनु र खोलामा पानीको बहाब बढ्दा समेत त्यहाँ सडक अवरुद्ध रहेको विभागको विवरणमा उल्लेख छ ।
त्यसैगरी तमोर करिडोरको ताप्लेजुङमा समेत सडक अवरुद्ध छ । त्यहाँको फक्ताङलुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बगेको हो । ६ साउनमा बगाएको उक्त पुल रेमिट हाइड्रोबाट बनाउन पहल भइरहेको समेत विभागले जनाएको छ ।
भेरी करिडोरको पश्चिम रुकुममा समेत सडक अवरुद्ध छ । त्यहाँको चोखा खोला, रिजगाडर उसुम खोला र छलगाडमा सडक अवरुद्ध रहेको देखिएको छ । भेरी करिडोरकै पश्चिम रुकुमस्थित खार खोला नजिक सडक अवरुद्ध छ ।
सहिदमार्ग अन्तर्गत रोल्पाको पुतलाचौर/ग्राम्जिममा निरन्तर पहिरो झर्दा सडक अवरुद्ध देखिन्छ । दुल्लु–जुम्ला सडक अन्तर्गत दैलेख बागदुल्लामा माथिबाट आएको पहिरोले सडक बन्द रहेको पाइएको छ ।
यसैगरी भेरी करिडोर अन्तर्गत नै डोल्पा चुगाढ खोलामा सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोशी राजमार्गको संखुवासभास्थित अल्फटेमा समेत सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक कोदारी र घट्टेखोला नजिक सडक बन्द छ ।
१० असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सरकारले भने १० असोजभित्र अवरुद्ध राष्ट्रिय राजमार्ग र मुख्य सडक पुन: सञ्चालनमा ल्याइ सक्ने लक्ष्य लिएको छ । आइतबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७१औं बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन र प्रभावित राजमार्गको पूर्ववत् सञ्चालनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माले जानकारी दिए ।
उनका अनुसार बैठकले सडक विभागबाट सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको छ ।
विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक १० असोजभित्र पुन: सञ्चालनमा ल्याउने निर्णय समेत गरेको हो । त्यसका लागि तीव्र गतिमा काम गर्ने निर्णय गरिएको छ । पुल र सडक भार बहन क्षमताभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालनका कारण पुल र सडकमा क्षति हुन नदिन र विभिन्न कारण अवरुद्ध भई आवागमन प्रभावित हुन नदिन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियमित जाँच र निरीक्षण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया 4