+
+
Shares
Live Updates :

LIVE Updates: जेन-जी आन्दोलनको दोस्रो दिन, कहाँ के भइरहेछ ?

सरकारी दमनको विरोध र जेन-जी आन्दोलनको पक्षमा देश-विदेशमा कहाँ के भइरहेका छन् ? हामी यहाँ लाइभ अपडेट गर्नेछौं । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार भएको जेन-जी आन्दोलनमा सरकारी दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।
  • सरकारी दमनको विरोधमा मंगलबार बिहानैदेखि देशभर प्रदर्शन भइरहेका छन्।
  • देश-विदेशमा जेन-जी आन्दोलनको पक्षमा विभिन्न गतिविधि भइरहेका छन् र तिनीहरूको जानकारी लाइभ अपडेट गरिनेछ।

२४ भदौ, काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । सरकारी दमनको विरोधमा मंगलबार पनि बिहानैदेखि देशभर प्रदर्शन भइरहेको छ ।

सरकारी दमनको विरोध र जेन-जी आन्दोलनको पक्षमा देश-विदेशमा कहाँ के भइरहेका छन् ? हामी यहाँ लाइभ अपडेट गर्नेछौं ।

Live Updates

१४९ ताजा अपडेट
2 hours ago, 18:56:34
प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
2 hours ago, 18:43:54
विमानस्थलको गेटमा पुगे जेनजी, ठूलो संख्या सेना परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

त्यहाँ ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ ।

2 hours ago, 18:43:29
सर्वोच्च अदालतमा आगजनी, दनदनी बलिरहेको छ मुद्दाका महत्वपूर्ण कागजात

जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।

2 hours ago, 18:43:04
अष्ट्रेलियाको वोलङ्गनमा नेपाली समुदायद्वारा श्रद्धाञ्जली सभा आयोजना

भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अष्ट्रेलियाको वोलङ्गनमा नेपाली समुदायले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

वोलङ्गनमा आयोजित श्रद्धाञ्जली सभामा २ सय बढी नेपालीहरू भेला भई शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका २० बढी जेनजी युवाहरूप्रति श्रद्धाञ्जली व्‍यक्त गरेका हुन् ।

2 hours ago, 18:42:32
नेकपाले जेनजी आन्दोलनमा साथ दिने, विप्लव आफैं सहभागी हुने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जेनजीको जारी आन्दोलनलाई साथ दिने निर्णय गरेको छ । नेकपा महासचिव विप्लव आफैं जेनजी आन्दोलनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।

2 hours ago, 18:42:01
नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।

यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ ।

2 hours ago, 18:41:16
जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

2 hours ago, 18:40:39
विराटनगरको भाटभटेनीमा तोडफोड
  • विराटनगरमा जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र तोडफोड भएको छ।
  • सरकारी कार्यालय र नेताको घरमा आगजनी गर्ने समूहले भाटभटेनी लुटपाट गरेका हुन्।
  • लुटपाट भएको स्थानमा सुरक्षाकर्मी नभएको र प्रहरी नआएको भाटभटेनी व्यवस्थापनले जनाएको छ।
2 hours ago, 18:39:11
सडक विभागमा पनि प्रदर्शनकारीले लगाए आगो
  • प्रदर्शनकारीहरूले २४ भदौमा बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्।
  • उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।
  • यसअघि सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवासमा आगजनी गरेका थिए।
2 hours ago, 18:38:47
कांग्रेस नेता मोहन बस्नेतको घरमा तोडफोड

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनीकारीले तोडफोड गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले नेता बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरी दिएका छन् ।

भक्तपुरको बालकोटस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।

3 hours ago, 17:18:51
सिंहदरबारको मूल गेटमा चढेर जेनजी प्रदर्शनकारीले फहराए राष्ट्रिय झण्डा

उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएका छन् ।

कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् ।

4 hours ago, 16:48:31
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।

नेता सिंह र उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह नेपाली सेनाको सुरक्षामा छन् ।

4 hours ago, 16:39:46
प्रदर्शनकारीले झलनाथ पत्नीलाई जलाए

प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् । उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ ।

उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

4 hours ago, 16:31:50
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

4 hours ago, 16:28:38
सिंहदरबारमा प्रदर्शनकारीले यसरी लगाए आगो (तस्वीर/भिडियो)

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।

4 hours ago, 16:26:23
जेनजी प्रदर्शनकारीले जलाए पूर्वराष्ट्रपति भण्डारीको घर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर पनि प्रदर्शनकारीहरूले जलाइदिएका छन् ।

उनको भंगालस्थित घरमै पुगेर जेनजी प्रदर्शनकारीहरूले घर जलाइदिएका छन् । उनको घर लगभग सबै जलेको छ ।

4 hours ago, 16:25:35
सरकारी वकिलको कार्यालयमा आगजनी

जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।

सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।

4 hours ago, 16:24:30
सिंहदरबार गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर जेनजीले आफैं पड्काए

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् ।

सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् ।

4 hours ago, 16:05:52
सिंहदरबारमा प्रदर्शनकारीले यसरी लगाए आगो (तस्वीरहरू)

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।

4 hours ago, 16:05:00
प्रदर्शनकारीले जलाए स्वास्थ्य मन्त्रालय

प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथ स्थित मन्त्रालयको भनवमा आगजनी गरेका हुन् ।

4 hours ago, 16:04:26
धुँवामाण्डु बन्यो काठमाडौं

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

4 hours ago, 16:03:44
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

 

https://www.onlinekhabar.com/2025/09/1760788/two-people-died-in-police-firing-in-kalimati

4 hours ago, 16:03:01
सिंहदरबारमा सेनाको गाडीलाई राष्ट्रिय झण्डासहित जेनजीको स्वागत

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले नेपाली सेनाको गाडीलाई सिंहदरबारमा स्वागत गरेका छन् ।

सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले सुरक्षाका लागि पुगेको नेपाली सेनाको गाडीलाई झण्डासहित स्वागत गरेका हुन् ।

4 hours ago, 16:02:13
प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण, भने- यो हाम्रो इतिहास हो
  • प्रदर्शनकारीहरूले रामशाह पथस्थित पुरातत्व विभागको संरक्षण गरेका छन्।
  • आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार र सर्वोच्चमा आगजनी गरे पनि पुरातत्व विभाग सुरक्षित राखेका छन्।
  • प्रदर्शनकारीहरूले \'यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं\' लेखिएको प्लेकार्ड बोकेर संरक्षणका लागि आह्वान गरेका छन्।
4 hours ago, 16:01:30
कोशी प्रदेशसभा भवनमा आन्दोलनकारीले लगाए आगो

कोशी प्रदेशसभा भवनमा आगलागी भएको छ । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् ।

5 hours ago, 15:55:16
प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी गरेको हो ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

5 hours ago, 15:54:44
गण्डकीमा नयाँ शक्तिका मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का सांसद फणीन्द्र देवकोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि अघिल्लो साल जेठ २९ मा फणिन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

5 hours ago, 15:54:02
जेलबाट निस्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

5 hours ago, 15:53:10
पोखरामा सरकारी कार्यालयदेखि नेताका घरसम्म जले, आन्दोलन नियन्त्रणबाहिर

पोखरा जेनजी पुस्ताले पोखरामा गरेको आन्दोलन प्रहरी नियन्त्रण बाहिर गएको छ । जेनजीको प्रदर्शनमा पोखरा महानगरपालिकाको कार्यालय बाहिरबाट सुरु भएको तनाब नियन्त्रण बाहिर गएको हो । प्रहरीले सुरुमा भीड नियन्त्रण गर्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शनकारीले प्रहरीलाईसमेत घेरेर पोखरा महानगरमा तोडफोड र आगजनी गरे ।

उनीहरुले पोखरा महानगरमै आगो लगाइदिएका छन् भने त्यहाँका कागजात, गाडी र फर्निचरसहित कार्यालय नै जलेको छ । आन्दोलनकारीले प्रहरी बिट, गण्डकीका सामाजिक मन्त्री विन्दु थापा, उनका भाइ धु्रव थापाको घरमा आगो लगाएका छन् । थापाको गाडी सोरुममै आगो लगाइदिएका छन् ।

प्रदर्शनकारीले पोखरा महानगरको वडा नम्बर ८ कार्यालय पनि पूर्णरुपमा ध्वस्त पारेका छन् । सबै कागजात, फर्निचरसहित भवनमै आगो लगाइदिएका छन् । पोखराका मेयर धनराज आचार्यको घरमा पनि तोडफोड र आगो लगाएका छन् भने धनराजको लगानी रहेको भनिएको र उनकै भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि तोडफोड र आगो लगाइदिएका छन् ।

5 hours ago, 15:40:53
जेनजीबाट घरमै कुटिए देउवा दम्पती

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

https://www.onlinekhabar.com/2025/09/1760757/deuba-couple-beaten-up-at-home-by-genji

5 hours ago, 15:25:57
प्रदर्शनकारीलाई बालेनले भने- संयम अपनाउनुहोस्
२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्-
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेन-जी Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

5 hours ago, 15:21:30
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा

राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।

https://www.onlinekhabar.com/2025/09/1760735/all-three-organs-of-the-state-are-under-the-control-of-the-protesters-parliament-singha-durbar-and-supreme-court-are-burnt-down

5 hours ago, 15:10:22
प्रदर्शनकारीले जलाए प्रहरी वृत्त सातदोबाटो

प्रदर्शनकारीहरूले प्रहरी वृत्तसात दोबाटोमा पनि आगजनी गरेका छन् ।

5 hours ago, 15:08:20
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्।

5 hours ago, 15:02:36
पेरिसडाडामा आगजनी

नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिसडाँडामा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मा‌ओवादी मुख्यालयमा आगजनी गरेका हुन् ।

5 hours ago, 15:00:08
प्रधानमन्त्रीले घुँडा टेके, अब संयम अपनाउनुहोस् : पारस खड्का
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्रीले राजीनामा दिइसकेको सन्दर्भमा आन्दोलनकारी युवाहरूलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्-
नयाँ बानेश्वर संसद भवनको ताजा अवस्था! सडकमा हुनुभएको युवाहरु अब संयमता अपनाउनु होला । तपाईंले घुँडा टेकाउन खोज्नुभएकोहरुले घुँडा टेकिसके!
सिंहदरबार, काठमाडौं र हेटौडामा राष्ट्रिय डेटा सेन्टरहरू रहेका छन्। कृपया त्यहाँ आगजनी वा तोडफोड नगर्नुहोस्। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रशासन, क्षेत्रीय र सीमा प्रशासन, जग्गा नापजोख र जग्गा कर कार्यालय, अदालतहरू र नगरपालिकाहरूमा पनि कृपया आगजनी वा डेटाबेस नष्ट गर्ने काम नगर्नुहोस्।
यी संस्था संवेदनशील राष्ट्रिय डाटाहरू समेटेका छन्। केही स्वार्थी समूहहरूले तपाईंलाई यसलाई नष्ट गर्न उक्साउन सक्छन्, तर कृपया सतर्क रहनुहोस् र यस्तो क्षति हुन नदिनुहोस्।
6 hours ago, 14:48:04
आन्दोलनकारी युवासहितको अन्तरिम सरकार गठन गरौं : भट्टराई
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आन्दोलनकारी युवासमेत रहेको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन्।
  • डा. भट्टराईले संविधानभित्रैबाट अघि बढ्न, आन्दोलनकारी युवाहरूको माग सम्बोधन गर्न र संविधानको अग्रगामी संशोधन गर्नुपर्ने बताए।
  • उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीसहित निष्पक्ष निर्वाचनको बाटो अबलम्बन गर्न सुझाव दिए।
6 hours ago, 14:45:13
आन्दोलनकारी युवासहितको अन्तरिम सरकार गठन गरौं : भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधनिभत्रैबाट अघि बढ्न आन्दोलनकारी युवासमेतको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

6 hours ago, 14:37:14
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

6 hours ago, 14:34:45
प्रदर्शनकारी संसद भवनभित्र छिरे

प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।

जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

6 hours ago, 14:34:17
पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।

6 hours ago, 14:33:51
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

6 hours ago, 14:33:39
सिंहदरबार प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले निकाल्यो, बाहिर झडप जारी
  • सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेका छन्।
  • सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरिरहेका छन् भने प्रदर्शनकारीले पनि अश्रुग्यास प्रहार गरिरहेका छन्।
  • सिंहदरबारदेखि रामशाहपथ र पद्मोदय मोडसम्म प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध बनाएका छन्।
  • सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
6 hours ago, 14:31:41
प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।

जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।

6 hours ago, 14:31:17
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।

6 hours ago, 14:30:51
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

7 hours ago, 13:52:43
त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी सडकमा

त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी सडक उत्रिएका छन् । अस्पतालमा कार्यरत अधिंकाश स्वास्थ्यकर्मीले राष्ट्रपति कार्यालय पुगेर पुन अस्पताल फर्किएका छन् । सोमबार नयाँ पुस्ताका युवा (जेनजी) प्रर्दशनमा १९ जना मृत्यु र ४ सयभन्दा बढी घाइते भएका छन् । सरकारले नाबालकलाई क्रुर तरिकाले मारेको हुनाले विरोध स्वरुप सडकमा उत्रिएका हौ,’ सुचना अधिकारी काली प्रसाद रोस्याराले भने, ‘ अहिले काममा फर्किसकेका छौं ।’

7 hours ago, 13:50:45
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।

जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्।

https://www.onlinekhabar.com/2025/09/1760617/madhesh-chief-minister-satish-kumar-singh-resigns

7 hours ago, 13:50:04
एमाले र कांग्रेसका युवाले दल परित्याग गर्दै

जेनजीको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी सरकारले दमन गरेको घटनापछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका युवा नेताहरुले धमाधम पार्टी पत्यिागको परित्यागको घोषणा गरेका छन् ।

7 hours ago, 13:49:35
ब्रिफिङ : नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर

सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् ।

7 hours ago, 13:49:15
पूर्वराजा ज्ञानेन्द्र भने- देश भित्रैबाट समस्याको समाधान निकालियोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।

7 hours ago, 13:48:55
खेलकुदमन्त्री चौधरीले दिए राजीनामा
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै पदबाट राजीनामा दिएका छन्।
  • स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री, कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्।
  • कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्।
7 hours ago, 13:48:34
सुर्खेतमा जेनजीले गरे दलका पार्टी कार्यालयमा आगजानी

आन्दोलनरत जेन–जीहरूले सुर्खेतमा राजनीतिक  दलका पार्टी कार्यालयमा आगजानि गरेका  छन् ।

उनीहरुले मंगलबार दिउँसो नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजानी गरेका हुन् ।

7 hours ago, 13:48:10
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

7 hours ago, 13:44:21
ब्रिफिङ : नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर
  • सरकारविरुद्धको आन्दोलन चर्किएपछि देशव्यापी आगजनी र तोडफोड भएका छन्।
  • राष्ट्रपति, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको निजी निवासमा आगजनी र तोडफोड भएको छ।
  • सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित स्थानमा ओसारिरहेका छन्।

7 hours ago, 13:24:49
६० जना लेखक र संस्कृतिकर्मीले मागे प्रधानमन्त्री ओलीको राजीनामा

६० जना लेखक र संस्कृतिकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

जेनजीको प्रदर्शनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि दमन गरेको भनेर सरकारको चर्को आलोचना गरेका छन् ।

7 hours ago, 13:24:17
जेनजी आन्दोलनको समर्थन गर्दै अमेरिकाको युटाहामा पनि नेपालीको सभा

अमेरिकाको युटाहा राज्यमा नेपाली युवाले सोमबार भएको प्रदर्शनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभा गरेका छन् ।

नेप्लिज कम्युनिटी युटाहाको संयोजनमा भेला भएका युवाले नेपालमा जेनजी प्रदर्शनमा ज्यान गुमाउने १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरे।

7 hours ago, 13:22:57
कलंकी चोकमा गोली चलेपछि स्थिति तनावग्रस्त

राजधानीको कलंकी चोक तनावग्रस्त बनेको छ । प्रदर्शनकारी तोडफोडमा उत्रिएको भन्दै सुरक्षाकर्मीले गोली प्हार गरेपछि कलंकीको स्थिति तनावग्रस्त बनेको हो ।

शान्तिपूर्ण आन्दोलन गरिरहेका जेनजी र तिनको समर्थकमाथि प्रहरीले एक्कासि अश्रुग्यास प्रहार र लगत्तै गोली प्रहार गरेपछि कलंकी चोकको अवस्था तनावग्रस्त बनेको हो । त्यसैको विरोधमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

7 hours ago, 13:18:57
सिरहामा कर्फ्यू

मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

7 hours ago, 13:16:10
प्रदर्शनकारीले होटल हिल्टनमा गरे आगजनी

प्रदर्शनकारीहरूले होटल हिल्टनमा आगजनी गरेका छन् । होटल हिल्टन नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय नजिक छ ।

7 hours ago, 13:15:02
एमाले सांसद बासुदेवले मागे प्रधानमन्त्रीको राजीनामा

नेकपा एमालेका सांसद बासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरेले प्रधानमन्त्रीले राजीनामा दिन ढिला गर्न नहुने उल्लेख गरेका हुन् ।

7 hours ago, 13:14:17
आन्दोलनकारीको कब्जामा पोखरा महानगरपालिका
7 hours ago, 13:13:29
गगन थापाको घरमा आगजनी
  • जेनजीका प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा आगजनी गरेका छन्।
  • प्रदर्शनकारीले गगन थापाको घरमा रहेको गाडीमा आगजनी गरेका थिए।
  • सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवामाथि प्रहरीले चरम दमन गरेको थियो र कम्तिमा १९ जनाको मृत्यु भएको छ।

7 hours ago, 13:12:59
राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी
  • राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
  • सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ।
  • प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि देशभर प्रदर्शन भएको छ।

7 hours ago, 13:12:30
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
  • सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ।
  • जनमत पार्टीको आन्तरिक छलफलबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको छ।
  • जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले \'केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो\' भने।

7 hours ago, 13:09:23
शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले
  • जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण भएपछि सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा राख्न थालेका छन्।
  • चारवटै सुरक्षा निकाय परिचालित छन् र बालुवाटारसहित विभिन्न स्थानमा सैनिक र निजी हेलिकोप्टर अवतरण भएका छन्।
  • प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका र २ सय बढी घाइते भएका छन्।
7 hours ago, 13:08:50
देउवालाई दुई महामन्त्रीको चेतावनी- मन्त्री फिर्ता नबोलाए फरक कदम चाल्छौं

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।

7 hours ago, 13:08:14
नैकापमा सशस्त्र प्रहरीको गाडीमा आगजनी
  • सशस्त्र प्रहरी बलको गाडीमा काठमाडौंको नैकापमा आगजनी भएको छ।
  • प्रदर्शनकारीहरुले स्थान-स्थानमा आगजनी र तोडफोड गरेका छन्।
  • प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि देशभर प्रदर्शन भएको छ।
7 hours ago, 13:07:34
दोषीलाई तत्काल कार्वाहीको दायरामा ल्याउनुपर्छ : राजेश हमाल
  • अभिनेता राजेश हमालले जेनजी आन्दोलनमा भएको हिंसाको घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
  • उनी फेसबुक पोस्टमार्फत गैरलोकतान्त्रिक चरित्रविरुद्ध निर्वाचन र संसदजस्ता संरचनालाई उपयोग गर्न सुझाव दिएका छन्।
  • उनले ८ सेप्टेम्बर, २०२५ लाई नेपालको लोकतान्त्रिक यात्राको सबैभन्दा कालो दिनको रुपमा स्मरण हुने उल्लेख गरेका छन्।

7 hours ago, 13:06:54
भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी

ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।

7 hours ago, 13:06:28
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

7 hours ago, 13:06:02
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।

7 hours ago, 13:05:37
उच्चस्तरीय शासकीय सुधार आयोगको सदस्यबाट दिपेश घिमिरेले दिए राजीनामा

उच्चस्तरीय शासकीय सुधार आयोगको सदस्यबाट दिपेश घिमिरेले राजीनामा दिएका छन् ।

मंगलबारको आन्दोलनपछि आयोगमा बसेर काम गर्न सक्ने अवस्था नरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् ।

7 hours ago, 13:02:33
सुर्खेतमा एमाले कार्यालय जल्यो

सुर्खेतमा जेनजी प्रदर्शनकारीहरूले नेकपा एमालेको कार्यलयमा आगजनी गरेका छन् ।

 

8 hours ago, 12:58:11
गुणस्तर तथा नापतौल विभागमा आगजनी
No description available.
8 hours ago, 12:56:17
ओलीले प्रधानमन्त्री र पार्टीबाट तत्काल राजीनामा गर्नुपर्छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाँडो राजीनामा गर्नुपर्ने बताएका छन् ।

‘देशलाई जोगाउन र क्षति कम गराउन प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन’, अनलाइनखबरसँग पाण्डेले भने । जेनजी प्रदर्शनकारीहरुको माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि उनले बताए ।

8 hours ago, 12:55:33
ओली निवासमा आगो

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगो लागेको छ ।

8 hours ago, 12:40:15
सुरक्षाकर्मीले शीर्ष नेतालाई सुरक्षित स्थानमा सारे

सुरक्षाकर्मीले दलहरूका शीर्ष नेताहरूलाई सुरक्षित स्थानमा सारेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार सुरक्षा जोखिम रहेका केही शीर्ष नेताहरूलाई सुरक्षित स्थानमा सारेका हुन् ।

शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले

8 hours ago, 12:34:11
कलंकीमा पनि गोली चल्यो

कलङ्कीमा प्रदर्शनकारीमाथि गोली चलेको छ । गोली लागेर चार प्रदर्शनकारी घाइते भएका छन् ।

8 hours ago, 12:32:36
प्रहरी प्रभाग बालकुमारी पनि आगजनी

प्रहरी प्रभाग बालकुमारीमा पनि आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले बालकुमारी प्रभागमा आगजनी गरेका हुन् । अहिले ठाउँ ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

8 hours ago, 12:32:01
दुर्गेशले बीचमै रोके ‘यूके टूर’, फर्किएर जेनजी आन्दोलनमा सहभागी हुने
  • गायक दुर्गेश थापाले आफ्नो एक महिना लामो यूके टूर बीचमै रोक्ने घोषणा गरेका छन्।
  • उनले नेपालमा चलिरहेको जेनजी आन्दोलनमा सहभागी हुन मंगलबार काठमाडौं फर्कने बताएका छन्।
  • टिकट काटिसकेका दर्शकलाई उनले आफ्नै खर्चमा रकम रिफन्ड गरिदिने र क्षमाप्रार्थी भएको बताएका छन्।
8 hours ago, 12:31:15
सरकारको दमनविरुद्ध नेविसंघ सडकमा

सरकारले जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सडकमा उत्रिएको छ ।

त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता तथा कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपाली कांग्रेसलाई सत्ता छाड्न चेतावनी दिएका छन् ।

8 hours ago, 12:30:31
ऊर्जामन्त्री खड्काको घरमा आगजनी

ऊर्जामन्त्री दिपक खड्काको घरमा आगजनी भएको छ ।

आक्रोशित प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित मन्त्री खड्काको घरमा आगजनी गरेका हुन् ।

8 hours ago, 12:21:44
कस्तो छ नेपाली कांग्रेस मुख्यालयको अवस्था ?

सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

8 hours ago, 12:19:33
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

 प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

8 hours ago, 12:18:54
सरकारको दमनविरुद्ध नेविसंघ सडकमा
  • नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले जेन-जी आन्दोलनमा गरिएको दमनविरुद्ध त्रिचन्द्र कलेज अगाडि सडकमा प्रदर्शन गरेको छ।
  • नेविसंघले नेपाली कांग्रेसलाई सत्ता छाड्न चेतावनी दिंदै \'नेपाली कांग्रेस सरकार छोड\' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेको छ।
  • हिजो भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सत्ता छोड्न दबाब बढेको छ र भ्रातृ संगठनले सरकारको समर्थन फिर्ता लिन माग गरेको छ।
8 hours ago, 12:16:13
भक्तपुरको लोकन्थलीमा प्रदर्शनकारीले जलाए प्रहरी बिट

भक्तपुरको लोकन्थलीस्थित प्रहरी बिटमा प्रदर्शनकारीले प्रहरी बिट जलाएका छन् ।

प्रहरी बिट भत्काएर प्रदर्शनकारीले आगजनी गरेका हुन् । भक्तपुरमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

भक्तपुरका मुख्य सडकहरीमा कहीँ कतै सुरक्षाकर्मी देखिएका छैनन् ।

8 hours ago, 12:15:26
नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार

नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।

स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कफ्यूकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।

8 hours ago, 12:14:50
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा

खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी ुवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’

8 hours ago, 12:10:55
बसुन्धरा प्रहरी चौकीमा आगजनी

प्रदर्शनकारीले बसुन्धरास्थित प्रहरी चौकीमा आगजनी गरेका छन् ।

8 hours ago, 12:09:42
अपडेटः घाइते प्रदर्शनकारीको अवस्था कस्तो छ ?

जेन-जीले गरेको प्रर्दशनका क्रममा घाइते भएका केही व्यक्तिहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । वरिष्ठ न्युरोसर्जन डा. राजीव झाले बुधबार बिहानको राउन्ड सकेपछि कुरा गर्दै घाइतेहरूको अवस्थाको बारेमा जानकारी दिएका छन् ।

‘हिजो मात्र करिब १०-१२ जनाको अप्रेसन गरियो । ७ जनाको शरीरमा लागेको रबरको गोली निकालेर घाउ सफा भइसकेको छ,’ डा.  झाले भने, ‘उनीहरू अहिले औषधि र एन्टिबायोटिक उपचारमा छन् ।’

8 hours ago, 12:08:13
काठमाडौं -११ स्थित शेषमतिमा रहेको प्रहरी चौकीमा आगजनी

काठमाडौं -११ स्थित शेषमतिमा रहेको प्रहरी चौकीमा आगजनी । प्रदर्शनकारीहरूले चौकीमा आगजनी गरेका हुन् ।

8 hours ago, 12:07:02
बालकोटमा प्रदर्शनकारीमाथि गोली चल्यो, २ जना घाइते

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरूमाथि गोली चलेको छ । दुईजना घाइते भएका छन् ।

8 hours ago, 12:06:07
काठमाडौंको आकाशमा टायर बालेका धुँवा

अनलाइनखबरको कार्यालयबाट काठमाडौंका सबैतिर टायर बालेको धुँवा देखिएको छ ।

No description available.

8 hours ago, 12:03:38
गगन थापाको घरमा पनि तोडफोड

नेपालीका कांग्रेसका महामन्त्री गगन थापाको घरमा पनि तोडफोड भएको छ ।

8 hours ago, 12:03:11
रविको निर्देशनपछि रास्वपाका सबै सांसदले राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने ।

8 hours ago, 12:01:54
प्रधानमन्त्रीले बोलाए साँझ ६ बजे सर्वदलीय बैठक

वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

No description available.

8 hours ago, 12:00:32
आन्दोलनलाई सम्बोधन गर्ने अदालतका कर्मचारीको अल्टिमेटम

काभ्रे जिल्ला अदालतका कर्मचारीद्वारा सरकारलाई आन्दोलन सम्बोधन गर्न अल्टिमेटम ।

9 hours ago, 11:57:32
कीर्तिपुर नगरपालिकामा पनि आगजनी

काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले नाराबाजीसहित कार्यालय प्रवेश गरेर आगजनी गरेका हुन् ।

9 hours ago, 11:56:51
सानेपास्थति नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तोडफोड

प्रदर्शनकारीहरूले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड गरिरहेका छन् । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

9 hours ago, 11:53:51
सुदूरपश्चिमका मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी

सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सुरक्षा घेरा तोड्दै भित्र छिरेका प्रदर्शनकारीहरूले यसअघि गेटबाहिर टायर बालेर नाराबाजी गरेका थिए ।

9 hours ago, 11:51:47
सत्ताले हिजैदेखि राजनीतिक वैधता गुमाइसक्यो : शिव गाउँले

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले वर्तमान सत्ताले हिजैदेखि राजनीतिक वैधता गुमाइसकेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्रीजी, १९ जना छोराछोरीको हत्याको कलंक अब तपाइँले सधै बोक्नु पर्नेछ’ गाउँलेले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी अगाडि थप्छन्, ‘भ्रष्टाचार निर्मूलजस्तो सुशासनको माग बोकेर हिडेका युवा पुस्तालाई गोली उपहार दिने तपाइँको सत्ताले हिजोदेखिनै राजनीतिक वैधता गुमाइसकेको छ ।’

‘एमाले भित्रको ठूलो हिस्सामा आलोचनात्मक चेत कमजोर भएकोले पार्टीभित्र तपाइँलाई यो यथार्थ सायदै कसैले भन्ने छ’ उनलेले लेखेका छन्, ‘समयमै राजिनामा गरेर छानबिनमा सघाउनुस, ढिलाइको परिणाम महंगो हुनसक्छ ।’

9 hours ago, 11:51:15
पोस्टमार्टमका लागि १६ शव पुग्यो टिचिङ अस्पताल

सोमबार नयाँ पुस्ताका युवा (जेनजी) हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार १६ शव पोस्टमार्टमका लागि आइपुगेको छन् ।

‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन्, ’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘बाँकी अस्पतालमा होलान् ।’

9 hours ago, 11:48:23
नेविसंघ कपिलवस्तुका उपसभापतिको राजीनामा

नेविसंघ कपिलवस्तुका उपसभापति सञ्जय खनालले राजीनामा दिएका छन् । \'विद्यार्थीमाथि निर्मम गोली प्रहार भई ज्यान जादा पनि मौन बस्ने विद्यार्थी संघ र त्यसको नेतृत्व अब अस्तित्वमा रहनुपर्ने कुनै औचित्य छैन। यस्तो संगठन विघटन हुनु नै उपयुक्त हुन्छ,\' उनले भनेका छन् ।

9 hours ago, 11:42:35
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

9 hours ago, 11:38:34
गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

गृहमन्त्री रमेश लेखकको चन्द्रागिरीस्थित घरमा आगलागी गरिएको छ । जेन-जी प्रदर्शनकारी लगायतले नैकापस्थित लेखकको घरमा आगजनी गरेका हुन् ।

 

9 hours ago, 11:37:04
एमाले हेडक्वाटरमा तोडफोड

नेकपा एमालेको केन्द्रीय मुख्यालय च्यासलमा प्रदर्शनकारीले आक्रमण सुरु गरेका छन् ।

9 hours ago, 11:34:37
देउवाको घरमा तोडफोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरमा प्रदर्शनकारी छिरेका छन् । उनीहरूले तोडफोड सुरु गरेका छन् ।

9 hours ago, 11:33:47
स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् ।

9 hours ago, 11:33:28
राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

कानुन न्यायत तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया राजीनामा दिनेबारे आन्तरिक छलफलमा छन् । मन्त्री चौरसिया सिंहदरबारमा आन्तरिक छलफलमा रहेका हुन् ।

उनी शेखर समूहका नेता पनि हुन् । शेखर समूहले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन भनिसकेको छ ।

9 hours ago, 11:32:43
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् ।

9 hours ago, 11:32:08
कलंकी र सातदोबाटोमा टायर बालेर प्रदर्शन (तस्वीरहरू)

नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।

कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

9 hours ago, 11:31:24
जेन जी प्रदर्शन : गोरखाका शैक्षिक संस्था बन्द

जेन जी युवाहरुको प्रदर्शनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ ।

सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् ।

9 hours ago, 11:30:39
कांग्रेसको भ्रातृ संस्था नेविसंघकै नेता कार्यकर्ता सडकमा उत्रिए

दोस्रो दिनको प्रदर्शनमा सत्ता पक्षकै भ्रातृ संस्थाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

सोमबार भएको प्रदर्शनमा सरकारी दमनको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।

9 hours ago, 11:29:55
साँखुको प्रहरी प्रभागमा ढुंगामुढा

काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शकारीहरूले तोडफोड गरेका छन् ।

१९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज फेरि आन्दोलन थप चर्को बन्दै गएको छ ।

यसैबीच साँखुको प्रहरी प्रभागमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा हानेका हुन् ।

9 hours ago, 11:28:49
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् ।

9 hours ago, 11:28:20
कर्फ्यूका कारण विमानस्थल पुग्न असहज भए हवाई यात्रुले टिकट रद्द वा सार्न पाउने

उपत्यकाका तीन वटै जिल्लामा जारी भएको कर्फ्यू आदेशका कारण समयमै विमानस्थल पुग्न असहज भएमा यात्रुले टिकट रद्द वा समय सार्न पाउने भएका छन् ।

वायुसेवा कम्पनीहरूले मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।

यती एयरलाइन्सले आफ्नो हवाई टिकट देखाएर यात्रा गर्न यात्रुहरूलाई सूचित गरेको छ ।

9 hours ago, 11:27:56
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
  • नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन्।
  • प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा र आगजनी गरिरहेका छन्।
  • काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि ढुंगामुढा गरेका थिए।
9 hours ago, 11:27:27
कर्फ्यूका कारण विमानस्थल पुग्न असहज भए हवाई यात्रुले टिकट रद्द वा सार्न पाउने

उपत्यकाका तीन वटै जिल्लामा जारी भएको कर्फ्यू आदेशका कारण समयमै विमानस्थल पुग्न असहज भएमा यात्रुले टिकट रद्द वा समय सार्न पाउने भएका छन् ।

वायुसेवा कम्पनीहरूले मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।

9 hours ago, 11:26:52
काभ्रेको बनेपामा टायर बालेर प्रदर्शन

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारका विरुद्ध भएको जेएजीहरुको प्रदर्शनमा भएको दमनको विरुद्धमा काभ्रेमा पनि प्रर्दशन शुरु भएको छ ।

बिहान १०:४५ बाट काभ्रेको बनेपाको चारदोवाटो र तिदोवाटोमा प्रदर्शन सुरु भएको छ ।

9 hours ago, 11:26:17
सिभिल अस्पताल पुगेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले रुँदै पतिलाई गरिन् फोन

युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन पूर्वप्रधानन्यायाधीश सुशिला कार्की सडकमा उत्रिएकी छन् ।

उनी घरबाट सोझै मिनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् ।

‘यो हदसम्म गएपछि सहन हुदैन भनेर उहाँ हामीसँगै गाडीमा आउनुभएको हो, अस्पतालमा गएर बिरामी र आफन्त भेट्निुभयो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘उहाँले मिनभवन सडकमा आएर युवाहरूप्रति ऐक्यबद्धता जनाउनुभयो । युवाहरूको आन्दोलन र भावनामा साथ दिने उद्देश्यले सडकमा आउनुभएको हो ।’

9 hours ago, 11:25:43
कुलमानले भने– जेनजी पुस्तालाई संलग्न गरी अन्तरिम सरकार बनाऔं

कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको समेत संलग्नतामा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

9 hours ago, 11:24:26
आन्दोलनमा सरकारको बर्बर दमनप्रति इप्पानको निन्दा
  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारको दमनमा १९ जनाको ज्यान गएको घटनाको घोर निन्दा गरेको छ।
  • इप्पानले भ्रष्टाचार, कुशासन र विकासमा अवरोधले युवामा निराशा बढेको बताउँदै सरकारलाई जवाफदेहिता र स्वतन्त्रता सुनिश्चित गर्न माग गरेको छ।
  • इप्पानले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ।
10 hours ago, 10:53:56
बानेश्वरमा जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा

आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

10 hours ago, 10:53:28
सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशा‍ना

सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका  छन्  ।

10 hours ago, 10:52:57
सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो ।

10 hours ago, 10:52:33
करिश्माले त्यागिन् एमाले, भन्छिन्- म जनताको कलाकार रहिरहन चाहन्छु
  • अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले छाडेको फेसबुकमार्फत घोषणा गरेकी छन्।
  • उनले आफू जनताकै कलाकार र आवाज बनेर रहन चाहेको बताएकी छन्।
  • करिश्माले १९ जनाको ज्यान जाने जेनजी प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दल छाडेको खुलाएकी हुन्।
10 hours ago, 10:52:00
बानेश्वरमा आन्दोलनमा जेन-जीका अभिभावक, सबै जेनजी मेरा छोराछोरी हुन्

संसद भवन परिसरमा मंगलबार पनि बिहानैदेखि युवाले प्रर्दश नगरिरहेका छन्  ।

सोमबार जेन-जीको आन्दोलनमा प्ररहरीले दमन गरेपछि मंगलबार पनि बानेश्वरमा युवाले प्रर्दशन गरिरहेका छन् । १९ जनाको मृत्यु भएपछि  आजको आन्दोलनमा अभिभावकहरू पनि पुगेका छन् ।

10 hours ago, 10:50:56
शोकमा देशभरका फिल्म हल बन्द

चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।

संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।

10 hours ago, 10:50:33
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।

हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीय शिवकुमार रिजालले जानकारी दिए ।

10 hours ago, 10:50:10
ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली

सोमबार नयाँ पुस्ताका युवा (जेनजी) हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको घटना स्थलमा मृत्यु भएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो ।

10 hours ago, 10:49:25
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

10 hours ago, 10:47:57
विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन

जेनजीको आन्दोलनमा प्रदर्शनमा प्रहरीको दमनको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबारको आन्दोलनमा प्रहरी दमनको विरोधमा मंगलबार बिहान प्रदेशसभा सचिवालय नजिकै रहेको देवकोटा चोकमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

10 hours ago, 10:42:15
आन्दोलनमा सहभागी हुन सुशीला कार्की र मनोज गजुरेल लगायत सडकमा

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कलाकार मनोज गजुरेल आन्दोलनमा सहभागी हुन सडकमा आएकी छन् ।

 

10 hours ago, 10:41:01
स्कुल ड्रेसमै विद्यार्थीहरू आन्दोलनमा

स्कुल ड्रेसमा आन्दोलनमा आएका विद्यार्थी भन्छन्- प्रहरीले गोली हान्दैन भनेर स्कुल ड्रेसमा आएका हौं । विद्यार्थी सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थी देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।

10 hours ago, 10:33:30
हरिसिद्धी प्रहरी प्रभागमा आगजनी

ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

10 hours ago, 10:33:05
भक्तपुरमा क्याम्पसका विद्यार्थीहरूद्वारा प्रदर्शन

भक्तपुरमा क्याम्पसका विद्यार्थीहरू सडकमा आएर प्रदर्शन गरेका छन् ।

10 hours ago, 10:30:31
वीरगञ्जमा पनि चर्कंदै प्रदर्शन

वीरगञ्जमा कर्फ्यू हटेसँगै प्रदर्शनकारी सडकमा जुट्न थालेका छन् । त्यहाँ पुनः प्रदर्शन सुरु भएको छ ।

10 hours ago, 10:28:00
प्रहरी दमनविरुद्ध अमेरिकामा नेपालीहरूको विशाल प्रदर्शन

भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा करिब ५ हजार नेपाली जम्मा भएको पत्रकार विकासराज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

10 hours ago, 10:26:36
रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ ।

10 hours ago, 10:25:20
प्रचण्ड निवास नजिकको प्रहरी बिटमा आगजनी

प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेका छन् ।

प्रहरी बिटमा आगो लगाएर एउटा समूह प्रचण्डको निवासतर्फ अघि बढेको छ ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

10 hours ago, 10:24:18
प्रहरीको दमनविरुद्ध जोरपाटीमा पनि प्रदर्शन

काठमाडौंको जोरपाटीमा युवाहरूले प्रदर्शन गरेका छन् ।

सोमबार जेनजीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा जोरपाटीका युवाले मंगलबार बिहान स्वत:स्फूर्तरुपमा प्रदर्शन गरेका हुन् ।

10 hours ago, 10:23:39
कर्फ्यु आदेशपछि आज सेयर बजार बन्द

नेपाल स्टक एक्स्चेन्जले जटिल परिस्थितिका कारण २४ भदौका लागि सेयर बजार बन्द गरिएको सार्वजनिक सूचना जारी गरेको छ।

10 hours ago, 10:23:13
पोखरामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् ।

10 hours ago, 10:22:49
कृषिमन्त्रीले दिए राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिएका छन् ।

10 hours ago, 10:20:16
सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

10 hours ago, 10:16:57
बानेश्वर चोकमा नारा : सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ

संसद् भवन अगाडि जेनजीजे आज पनि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहानै बानेश्वर स्वस्फुर्त आएका युवाले प्रदर्शन गरिरहेका हुन् ।

‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’ भनेर उनीहरूले नारा लगाइरहेका छन् ।

10 hours ago, 10:16:35
बानेश्वर चोकमा टायर बालेर प्रदर्शन

सोमबार आन्दोलनको केन्द्र बनेको बानेश्वर चोकमा आज पनि प्रदर्शन भइरहेको छ । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

10 hours ago, 10:13:57
कर्फ्यु अवज्ञा गरेको भन्दै युवालाई नियन्त्रणमा लिंदै प्रदर्शनकारी

कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?