
२५ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन् ।
जेनजी आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो ।
सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने गरी जलेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
अहिले प्राधिकरणको दुई वटा कार्यालयबाट काम भइरहेको छ । त्यसमध्ये सिनामंगल कार्यालय भने सुरक्षित छ ।
बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय रहेको थियो । यसैगरी प्रशासन विभाग, वित्त विभाग, आन्तरिक अडिट विभाग यहाँ थिए ।
यसैगरी वायुसेवा कम्पनीहरूको नियमका लागि महत्त्वपूर्ण मानिने सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ जस्ता विभागहरू समेत यही बिल्डिङमा थिए ।
प्राधिकरणको सेन्ट्रल लाइब्रेरी र कानुन विभागका कागजात समेत सँगै जलेका छन् ।
आगजनीका कारण नागरिक उड्डयन प्राधिकरणका अधिकांश महत्त्वपूर्ण डाटा ध्वस्त बनेको उनले जानकारी दिए ।
प्राधिकरणको विमानस्थल कार्यालयलाई भने सेनाले सुरक्षा दिएको थियो । अवस्था केही सामान्य हुनासाथ उडानहरू खुल्ने विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4