+
+
Shares

पर्यटक आवागमन सहजीकरण गर्न होटल एसोसिएसनको आह्वान

प्राथमिकता साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटन भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल गर्न हानको आग्रह छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १७:३०
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले देशको वर्तमान विषम परिस्थितिमा पर्यटक आवागमन सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ ।

विद्यमान निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटक यात्रुको भ्रमण अनिश्चित भएकोमा हानले चिन्ता व्यक्त गरेको छ ।

प्राथमिकता साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटन भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल गर्न हानको आग्रह छ ।

आसन्न चाडपर्व र पर्यटकीय सिजन प्रारम्भ हुने समयमा सिर्जित नयाँ परिवर्तन र संक्रमणकालमा नेपालमा रहेका र आउने पर्यटकको उचित व्यवस्थापनमा होटल लगायत आतिथ्य क्षेत्र सधैं क्रियाशील रहेको हानको भनाइ छ ।

तर, यस कार्यमा सम्बद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भए नेपाल आउने पर्यटकबाट हुन थालेको अत्यधिक एवं अप्रत्यासित बुकिङ क्यान्सलेसन केही हदसम्म रोक्न मद्दत पुग्ने हानले जनाएको छ ।

होटल लगायत निजी तथा सार्वजनिक सम्पत्तिमा भएका आगजनी देशकै सम्पत्तिको विनाश भएको र यस्ता महत्त्वपूर्ण संरचना निर्माणमा भोलि देशकै सीमित साधन र स्रोत खर्चिनुपर्ने हुँदा थप विनाश हुन नदिन सबैमा हानले अपिल गरेको छ ।

हाल हानले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरणमा काम गरिरहेको छ । अलपत्र पर्यटकलाई होटल आवास आवश्यकता भए हानको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?