+
+
Shares
विचार :

नागरिक सरकार खोज्ने दायित्व जंगीअड्डा कि शीतलनिवासको ?

सहजकर्ताको रुपमा सेनाले महत्वपूर्ण भूमिका निभाउन सक्छ। तर, अब बन्ने सरकारको नागरिक सर्वोच्चता बचाउन जंगीअड्डाको ढोकामा गएर सरकार नमागौं। यो कुनै पनि हालतमा राजनीतिक निर्णय हुन सक्दैन।

मनऋषि धिताल मनऋषि धिताल
२०८२ भदौ २६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेनालाई राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा काम गर्न दिइने र सरकार गठन जंगीअड्डामा नभई राष्ट्रपति र संसद्मा विधिवत् निर्णय गर्नुपर्ने बताइएको छ।
  • राष्ट्रपति शीतलनिवास र संसद् भवनलाई नयाँ नागरिक सरकार निर्माणका वैधानिक स्थल मानिएको छ।
  • राजनीतिक नेतृत्व संविधान र व्यवस्थाभित्रै जन्मनुपर्ने र सेना विवादित नबनाउन आग्रह गरिएको छ।

नयाँ सरकारबारे जंगीअड्डा बाहिर छलफल र वादविवाद भएका खबर आइरहँदा यो भीषण संक्रमणका बेला ध्यान दिनुपर्ने अति महत्वका कुरामाथि तत्काल र खुला बहस गरौं। सेना राज्यको एक अंग हो। उसको काँधमा अहिले राष्ट्रिय सुरक्षाको गम्भीर र महत्वपूर्ण जिम्मेवारी छ।

सेनालाई आफ्नो जिम्मेवारीको काम गर्न दिऊँ। अब बन्ने सरकारको नागरिक सर्वोच्चता बचाउन जंगीअड्डाको ढोकामा गएर सरकार नमागौं। यो कुनै पनि हालतमा राजनीतिक निर्णय हुन सक्दैन।

हामीसँग राष्ट्रपति संस्था छ। गणतन्त्र नेपालको त्यो जननिर्वाचित सर्वोच्च संस्था हो। राजनीतिक निर्णयहरू विधिवत् र संस्थागत गर्ने अन्तिम थलो हो। आन्दोलनकारीका तर्फबाट वार्तामा जान चाहने र जान आवश्यक व्यक्तिहरू टुंगो लगाएर यदि राष्ट्रपति शीतलनिवासमा हुनुहुन्छ भने वार्ता र सहमति त्यहाँ हुनुपर्छ।

सहजकर्ताको रुपमा सेनाले महत्वपूर्ण भूमिका निभाउन सक्छ। तर खरानीको थुप्रो अगाडि नै सही शीतलनिवास वा संसद् भवन अगाडि नै नयाँ नागरिक सरकार बन्ने बारेको छलफल र निर्णय हुनुपर्छ। त्यो निर्णय प्रक्रियाले नेपाली जनताले ठूलो बलिदानबाट स्थापना गरेको यो संविधान र व्यवस्थालाई हाँक्ने सफा, नयाँ र इमानदार नेतृत्व पाएको अनुभूति गर्नेछन्।

अदूरदर्शी, स्वार्थी र भ्रष्टाचारी नेतातन्त्रलाई पराजित गरेको आन्दोलनबाट जन्मिने कुशल नागरिक नेतृत्व यो संविधानको दायरा भित्रबाट नै बन्नुपर्दछ। अहिले पनि राजनीतिक रुपमा जीवित रहेको संसद्बाट अनुमोदित गरेबाट त्यसको वैधता नागरिक सरकारको हुन्छ। जंगीअड्डाभित्र राजनीतिक नेतृत्व जन्माउँदा अहिलेसम्म निर्विवाद र गैर राजनीतिक रहेको हाम्रो सेना पनि विवादित हुन्छ।

संविधान र व्यवस्था भित्रैका खराबी सच्याउन भएको सफल र पवित्र आन्दोलन पछिको अन्तरिम नागरिक सरकार निर्माणका प्रसूति गृहहरू राष्ट्रपति भवन र संसद् मात्रै हुन्। यो व्यवस्थाका संरक्षक आन्दोलनकारीहरूले यो वैधानिकताबारे परिपक्व रुपमा बुझ्नुपर्छ।

यो व्यवस्था र संविधानअनुसार जनता यो देशका सार्वभौम शक्ति हुन्। यो बलियो तथ्य नबुझ्ने हो र यो व्यवस्था र संविधान नबच्ने हो भने जेनजी जस्तो एक्काइसौं शताब्दीको नयाँ राजनीतिक इतिहास निर्माता पुस्ताले विश्वको सर्वोत्तम व्यवस्था र संविधान गुमाएको खराब इतिहास निर्माण हुने खतरा पनि छ।

राणा, पंचायत र राजाविरुद्धको राजनीतिक आन्दोलनका सहभागी र साठी वर्षभन्दा बढी समयको राजनीतिक अनुभव भएका राष्ट्रपतिसँग संवाद गरेर नागरिक सरकार निर्माण गर्नु इतिहासका सबै लोकतान्त्रिक, स्वाभिमानी र क्रान्तिकारी आन्दोलनको स्वामित्व लिनु संविधानलाई सुरक्षित लिकमा हिंडाउनु हो। यो वैधानिक बाटोको यात्रा गरिए खरानी भएको देशलाई पुनर्निर्माण गर्न विश्वभरिका मित्र शक्तिहरूलाई पनि सहयोगको लागि अपिल गर्न सकिन्छ।

सेप्टेम्बर ९ मा जेनजीको महान् विजयसँगै भएको अकल्पनीय भौतिक क्षतिले आगामी दुई दशकसम्म देशको अर्थतन्त्र उठ्नै नसक्ने गरी थला परिसकेको छ। त्यो मात्रै होइन सिंहदरबार, सर्वोच न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मालपोत कार्यालय जस्ता रास्ट्रका अति संवेदनशील दस्तावेज सुरक्षित हुने महत्वपूर्ण स्थान र दस्तावेज पनि खरानी भएको अवस्थामा हाम्रो राष्ट्रियता पनि निकै खतरामा परेको छ।

चिहानघाटसम्म रह्यो भने खरानी टक्टक्याएर भए पनि जुरुक्कै उठौंला र मातृभूमिको माटो निधारमा घसेर भ्रष्टाचार र नातावाद मुक्त समाज निर्माणको नयाँ इतिहास निर्माण गरौंला। अन्यथा, हामी हाम्रो आफ्नै चिहानसम्मको पहिचान पनि बाँकी नरहेका हुनेछौं।

जेनजी पुस्ता बुद्धि पुर्‍याऊ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?