+
+
Shares

कुख्यात अपराधी जेलबाहिर, समाज त्रस्त

अपहरणदेखि व्यक्ति हत्या, तस्करी, बलात्कारसम्मका कुख्यात नाइकेहरू यतिबेला जेल बाहिर छन् । जेल भित्रैबाट पनि बाहिर आफ्नो गिरोह चलाउने ल्याकत राख्ने कैदीहरू भागेपछि समाज त्रसित बनेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ भदौ २६ गते २१:४२

२६ भदौ, काठमाडौं । जेनजी आन्दोलनको मौका पारेर कारागारबाट यस्तासम्म कैदी भागेका छन्, जसको नाम सुन्दा पनि समाज त्रस्त हुन्छ ।

अपहरणदेखि व्यक्ति हत्या, तस्करी, बलात्कारसम्मका कुख्यात नाइकेहरू अहिले जेल बाहिर छन् । जेल भित्रैबाट बाहिर आफ्नो गिरोह चलाउने ल्याकत राख्ने कैदीहरू जेनजी आन्दोलनको मौका छोपेर खुला आकाशमा पाइपुगेका छन् ।

जेलबाट भाग्नेहरूमा अपहरणकारीका नाइके भारतीय नागरिकदेखि सुन तस्करीका नाइकेसम्म छन् । भागेका कैदीको अवस्थाबारे प्रशासन अहिलेसम्म अनभिज्ञ छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै भागेका कैदीबन्दीलाई कारागार फर्कन आग्रह गरेको छ ।

‘हिरासतमा रहेका आरोपी, कारागारमा रहेका कैदीबन्दी भागी निस्केकाले यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित प्रहरी वा अन्य सुरक्षा निकायको सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ ।

प्रहरीको यो अनुरोधपछि केही कैदीबन्दी फर्किए पनि कुख्यात कैदीबन्दीहरू भने अझै फरार छन् ।

अपहरणकारी किङ सेट्टी फरार

जेलबाट फरार हुने कैदीमध्ये एक हुन्, भारतीय नागरिक उदय सेट्टी । उनी रसुवा कारागारमा थिए । त्यहाँ रहेका सबै ९८ जना कैदीबन्दी कारागार तोडफोड गरी भागेका थिए । यसरी भाग्नेमा उदय सेट्टी पनि रहेको कारागार प्रशासक कैलाश देवकोटा बताउँछन् ।

कारागारबाट भागेपछि उनी कहाँ गए भन्ने पत्तो लाग्न सकेको छैन । उनले कैद भुक्तान गर्न अझै करिब २ वर्ष बाँकी थियो । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले रसुवाबाट छुटेपछि अन्य ठाउँमा लगिने प्रहरीले बताउँदै आएको थियो ।

फरार सेट्टीको आपराधिक ट्र्याक रेकर्ड हेर्ने हो भने सर्वसाधारणको आङ नै जिरिङ्ग हुने खालको छ । २०६४ सालपछि नेपालमा भएका अधिकांश अपहरण र फरौतीको घटनामा उनको नाम जोडिन्छ ।

२०६४ पछि काठमाडौं, बुटवललगायत देशभर अपहरणको श्रृंखला नै चलेको थियो । १२ फागुन २०६४ मा अपहरणमा संलग्न रहेका २ जना पक्राउ परे । अन्य भने फरार नै थिए । महानगरीय प्रहरी अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को एन्टी किडन्यापिङ सेलले २ माघ २०६५ मा ५ जनालाई हतियारसहित पक्राउ गर्‍यो । तिनैमध्ये एक थिए, उदय सेट्टी ।

उनी काठमाडौंको गोल्फुटार बसेर अपहरणको श्रृंखला चलाउँदै आएका थिए । सेट्टीको समूहले नेपालका १२ प्रतिष्ठित व्यवसायी, चिकित्सक एवं धनाढ्यको अपहरण गरी २ करोड ६९ लाख असुलेको थियो ।

पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै सेट्टीले सामाखुसी र बालाजुबाट दुई जनाको अपहरण गरी २ करोड रुपैयाँ फिरौती लिएको थियो ।

उनी भारतको अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तव समूहसँग आबद्ध थिए । सन् २००३ मा कपडा व्यापारी पंकज अग्रवाललाई धम्क्याएर ५ करोड फिरौती असुल्न खोजेको आरोपमा सेट्टी पक्राउ परेका थिए । पछि जमानतमा छुटे । कुख्यात डन दाउद इब्राहिम तथा छोटा राजन समूहविरुद्ध सुराकीको काम गर्ने हुनाले ज्यान जोखिमको डरले उनी सन् २००४ मा नेपाल आएका थिए ।

गोल्ड डन गोरे पनि भागे

जेनजी आन्दोलनकै मौकामा फरार भएका अर्का कैदी हुन् गोरे उर्फ चुडामणि उप्रेती । सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरू भागेका थिए । सुन्धारा कारागारबाट मात्रै ३ हजार ३०० कैदी फरार भएका थिए ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वार्टर पुगेको थियो।

त्यसपछि मात्र नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म गोरेसहित करिब ३ हजार ३०० कैदीबन्दी फरार भइसकेका थिए ।

सुन्धारा कारागारबाट फरार भएका गोरे साढे ३८ क्विन्टल सुन तस्करी काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेब्रुअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।

प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो । न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जन्म कैदको सजाय पाएका गोरे भने अहिले सम्पर्कविहीन छन् ।

बम काण्डमा नाइके सञ्जय टक्ला

जेनजी आन्दोलन चर्किएपछि नख्खु कारागारबाट सुरुमा रवि लामिछाने निस्किए । रास्वपाका नेताहरूले उनलाई स्वागत गरे ।

रवि छुटेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय साह टक्ला निस्के । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

बम काण्ड नाइके कुख्यात अभियुक्त टक्ला भने अहिले पक्राउ परेका छन् । उनलाई काभ्रेको मंगलटारबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने स्रोतले बतायो ।

साढे १२ हजार कैदी अझै फरार

देशभरका विभिन्न कारागारबाट साढे १२ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार १२ हजार ८५२ कैदीबन्दी अझै फरार छन् ।

देशभरको कारागारबाट भागेकामध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

यसरी फरार हुनेहरूमा चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा जोडिएकादेखि विभिन्न जघन्य अपराधमा सजाय भोगेकाहरू छन् । व्यक्ति हत्या, अपहरण, बलात्कारदेखि सामान्य मुद्दाका कैदीबन्दीहरू पनि फरार भएका छन् ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।

बढ्यो सुरक्षा चुनौती

कारागारमा हुनुपर्ने साढे १२ हजार बढी कैदी अहिले समाजमा गएपछि सुरक्षा चुनौती थपिएको छ । कतिसम्म भने, कारागारबाट भागेकै भोलिपल्ट कैदीले बलात्कार प्रयाससम्म गरिसकेका छन् ।

जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका-१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ ।

सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोप छ । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए । त्यसपछि ती महिला चिच्याएकी थिइन् ।

महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पुर्‍याएर खेतबाट नियन्त्रणमा लिए । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको थियो ।

सुनार यसअघि पनि बलात्कार कसुरमा जेल परेका व्यक्ति हुन् । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई ९ वर्ष जेल सजाय तोकिएको थियो । सुनार प्रतिनिधि पात्र मात्रै हुन् ।

उनीजस्तै साढे १२ हजार कैदीबन्दी बाहिर निस्केकाले यसले सुरक्षा चुनौती बढाएको छ । यसअघि नायब महान्याधिवक्ता रहिसकेका सरकारी वकिल समूहका सचिव रेवतीराज त्रिपाठी पनि यसरी कैदीबन्दी भाग्दा समाज थप अशान्त बन्ने बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?