+
+
Shares

खरानीमाथि पाल टाँगेर सर्वोच्चमा इजलास चलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतमा भएको आगजनीपछि प्रधानन्यायाधीशसहित सबै न्यायाधीशले भेला भएर सीमित मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरेका छन्।
  • सर्वोच्च अदालतले एनेक्स भवनको हलमा आगामी आईतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनहरु हेर्ने निर्णय गरेको छ।
  • अदालतले क्षतविक्षत संरचना व्यवस्थापन गरी ६/७ वटा इजलास सञ्चालन गर्ने तयारी गरेको छ र दशैंमा न्यायाधीशले घरमै फैसला लेख्ने अभ्यास गर्नेछन्।

२६ भदौ, काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा विहीबार प्रधानन्यायाधीश सहित सबै न्यायाधीश भेला भए । र, सग्लो रहेको भवनको एउटा हालमा फूल कोट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) राखेर आगामी सातादेखि केही सीमित मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरे ।

सर्वोच्च अदालको एनेक्स भवनमा रहेको हलमा भेला भएका न्यायाधीशहरुको फूल कोर्टले आगामी आईतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनहरु हेर्ने निर्णय गरेको हो ।

‘हामीसँग त अहिले केहीपनि छैन, एउटा सादा रजिष्ट्रारमा मुद्दा दर्ता गर्ने र जसोतसो सुनुवाइ अघि बढाउने कुरा भएको छ’ ती न्यायाधीशले भने, ‘जसोतसो एक/दुईवटा पाल जुटेको छ, त्यसमै इजलास सञ्चालन गर्ने तयारी हो ।’

सर्वोच्च अदालतले आफ्नो परिसरमा २/३ वटा पाल टाँगेर प्रशासनिक काम गर्ने र इजलास बनाउने तयारी गरेको छ । पुरानो भवनमा रहेको एकाध इजलासका संरचना प्रयोगमा आउनेछन् भने आगजनीबाट जोगिएका केही ठाँउमा जुगाड गरेर इजलास बनाउने तयारी गरेको छ ।

इजलास शुरु भएको ६ दिनपछि अड्डाअदालतहरुमा दशैंविदा शुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा विदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरु संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेवारे छलफल गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अन्नपूर्ण न्यूरो अस्पताल अगाडीपट्टि बनिरहेको भवनमा समेत इजलास सञ्चालनको सम्भावनावारे अध्ययन भइरहेको बताए । त्यसो गर्दा सबैतिर मिलाएर ६/७ वटा इजलास बन्ने देखिन्छ ।

‘समाजमा कैयौ संवेदनशिल विषय छन्, न्यायको याचना गर्नुपर्ने मान्छेहरु अदालत जलेकाले रोकिएका छन्’ उनले भने, ‘विषयवस्तुको संवेदनशिलताका आधारमा न्यायको माग गर्नेहरुप्रति सम्बोधन हुनुपर्छ भनेर जसरी भएपनि इजलास सञ्चालन गर्ने निर्णय भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?