
२६ भदौ, काठमाडौ । रामशाह पथको बीच भागमा उठेर बसेको त्यो अद्भूत संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन अब इतिहासको एउटा अध्याय मात्रै बनेको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीले गरेको आगजनीले ५० वर्ष पुरानो भवनलाई क्षणभरमै धुलो र खरानीमा परिणत गरिदियो ।
यो भवन साधारण संरचना मात्र थिएन । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो ।
आज त्यही कृति जलेर खण्डहर बनेको छ ।
स्वास्थ्य मन्त्रालयको त्यही भवनभित्र दशकौँदेखि लेखिएका कागजतहरू, नीतिहरू, योजनाहरू र स्मृतिहरू अब जलेर खरानीमा विलीन भए ।
यो भवन केवल मन्त्रालयको कार्यालय मात्र थिएन । यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो ।
स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्वीजरल्यान्ड, जर्मनी, नेरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीका बर्षको तीन–चार टोली नै आउने गरेका थिए ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सम्झन्छन्, ‘युरोप–अमेरिकाबाट पनि इन्जिनियरिङका विद्यार्थी अवलोकन गर्न आउने गरेको थिए ।’
उनका अनुसार पहिले यो भवनको कोठाहरूलाई ठूलो वा सानो बनाउन मिल्थो ।
‘तीन तले यो भवनमा पिलर छैन,’ मरासिनी भन्छन्, ‘बलियो चाहिँ कति भने २०७२ सालको महाभूकम्पले पनि यसलाई केही असर गरेन ।’
यस्तो खालको आर्किटेक्ट नेपालबाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो ।
तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि यूएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।
सो सम्झौता सम्पन्न गर्ने क्रममा यूएसएडले लुई कानलाई व्यावसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए ।
आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भवनको रूपमा उक्त भवनले मान्यता पाएको थियो ।
पछि यो भवनको माथिल्लो तलाको खाली ठाउँमा छानो राखेर स्वास्थ्य मन्त्रालयका आधिकारीले चौथो तला बनाइयो । माथिको डिजाइनमा २०५६ सालतिर थप भौतिक संरचना गरेपछि भवनको मुख्य स्वरूपै बिग्रियो । काठमाडौं महानगरपालिका र सर्वोच्च अदालतले माथि थपिएको भाग भत्काउन भनेको थियो ।
डा. मरासिनी भन्छन्, ‘स्वरूप बिगारेको विषयलाई लिएर अन्तर्राष्ट्रिय रूपमै विरोध भयो । त्यसपछि बाहिरका विद्यार्थी भवन हेर्न आउन पनि छाडे ।’
नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको तत्कालिन परियोजना प्रमुख डा. रिता थापाका अनुसार डिजाइन शुल्क मात्र ६० हजार रुपैयाँ थियो ।
नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ सालमा उद्घाटन गरेका थिए ।
२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सयो ।
पद्मसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो ।
त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।
तर, मंगलबार साँझ झोसिएको आगोले भने सबै नष्ट गर्यो । ऐतिहासिकता र विरासतको एउटा महत्त्वपूर्ण अध्याय भष्म भए पनि, यसको पिल्लरविहीन ढाँचा अझै ठडिएको छ ।
रामशाहपथको धुलाम्य आकाशमुनि, जलेर बाँकी रहेको कङ्कालले केवल इँटा–ढुङ्गा मात्र होइन, नेपालको इन्जिनियरिङ गौरव र बिर्सन नहुने स्मृतिहरू बोकेको छ ।
अब प्रश्न छ– के यो धरोहरलाई फेरि पुनर्निर्माण गरिनेछ ?
डा. मरासिनी भन्छन्, ‘अब पनि यस्तो उत्कृष्ट संरचना बनाउन सकिन्छ । त्यसका लागि यूएसएडसँग पुरानो नक्सा पनि होला । स्वास्थ्य मन्त्रालयका अधिकारीले यूएसएडसँग सम्पर्क गरेर पुनः ऐतिहासिक भवन बनाउनुपर्छ ।’
प्रतिक्रिया 4