+
+
Shares

प्रदर्शनकारीको भिडमा जलिरह्यो देउवा निवास

चुम्बक ल्याई-ल्याई सुन जस्ता धातु खोज्नेहरू पनि त्यहीँ भेटिए । र, त्यहीं थिए- कुनै समय लोकतन्त्रको लागि लडेका नेताको घर नै लडेको दृश्य हेर्न आउनेको भिड ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २६ गते २१:३८

२६ भदौ, काठमाडौं । नेपाली राजनीतिको केन्द्रमा रहने अर्को ठाउँ हो, बुढानीलकण्ठ । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास भएकाले पनि राजनीतिक जमघट बाक्लै हुन्थ्यो । कतिपय निर्णायक वार्ताको साक्षीसमेत बनेको छ, देउवाको बुढानीलकण्ठ निवास । यो निवासबाट राज्यसत्ता सञ्चालनमा प्रभाव पार्ने ठूलाठूला निर्णय भएका छन् ।

कुनै समय रिपोर्टिङमा पुग्दा नेता/कार्यकर्ताको लस्कर त्यहाँ देख्न पाइन्थ्यो । तर अहिले परिस्थिति फरक छ । गत सोमबार र मंगलबार सत्ता नै उलटफेर गर्नेगरी जेनजीका नाममा चर्किएको प्रदर्शनका कारण यो घर खण्डहर बनेको छ । आगोको रापले तात्तिएको भित्तो र खरानीबाहेक केही बाँकी छैन । छन् त, आगोले पूर्ण रूपमा जल्न नसकेका सर-सामानका अवशेष मात्र ।

फराकिलो चौरलाई काख बनाएको यो घर परैबाट टिठलाग्दो देखिन्छ । त्यसकै अगाडि दुई वटा गाडीहरू जलेर नष्ट भएका छन् । वरपरका अन्य संरचना पनि केही बाँकी छैनन् । सिसाका टुक्रा भुइँमा असरल्ल छन् । होसपूर्वक टेक्दै यी दृश्य नियाल्ने स्थानीयको भिड छ । ‘जल्न त जल्यो । तर, दुर्भाग्य- यहाँका धेरै कुरा चोरिए,’ हामी छेउमा रहेका एक स्थानीय बोले ।

हुन पनि त्यहाँ च्यातिएका पैसा पनि छोडिएका थिएनन् । भएका पनि उठाउँदै कचौरा र गोजीमा हालेर लानेहरू थिए । चुम्बक ल्याई-ल्याई सुन जस्ता धातु खोज्नेहरू पनि त्यहीँ भेटिए । र, त्यहीं थिए- कुनै समय लोकतन्त्रको लागि लडेका नेताको घर नै लडेको दृश्य हेर्न आउनेको भिड ।

‘पछि आएर खराब भए । सुरुमा त यिनले पनि लोकतन्त्रको लागि लडेकै हुन् । यसरी मरणासन्न हुनेगरी कुटेर सबै खरानी बनाइदिनु चाहिँ नहुने,’ जलेको देउवा निवास हेर्न आएकी एक महिला बोलिन् ।

मान्छेपिच्छे फरकफरक धारणा सुनिन्थे । मंगलबार घर खरानी बनाउने र बनेको हेर्ने साक्षीहरू पनि त्यहीँ भेटिए । उनीहरूका अनुसार घरको दुवैतिर (अगाडि गेड र पछाडि) बाट प्रदर्शनकारी आए । ढुंगामुडा गरे । अनि भित्र छिरेर सुरुमा गाडीमा आगो लगाउन थाले । त्यसपछि लुटपाट र आगजनी सँगसँगै भयो । एक-दुई घण्टाको निमेषमै देशका पूर्वप्रधानमन्त्रीको घर खण्डहर बन्यो ।

भौतिक संरचनामा गरिएका आक्रमण एकातिर भए । त्यसबाहेक देउवा दम्पती प्रदर्शनकारीबाट कुटिए पनि । बहालवाला परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रत्ताम्मे हुनेगरी कुटाइ खाएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र छन् ।

त्यही दिन प्रदर्शनकारीले यो देउवा निवास नमज्जाले ढल्यो । न त्यसबेला सधैँ आइरहने कार्यकर्ता थिए, न साथ दिने उनका समर्थक नेता ! प्रदर्शनकारीको भिडमा एक्लै यो घर जलिरह्यो ।

हामी बिहीबार दिउँसो पुग्दा ताप घटेको थिएन । घरभित्रका कोठा हप्प थिए । भुइँ तातो थियो । सरसामान छरपस्ट थिए । कुनै कोठाका अस्तित्व बाँकी थिएनन् । ‘अरू त कहाँ के-के पो थियो चिनिएन । तर यो ट्याङकीमुनि पक्कै सुन र पैसा हुनुपर्छ । निकाल्ने हो,’ मोबाइल टर्च बाल्दै सेफ्टी ट्याङ्की जस्तो देखिने अन्डरग्राउन्ड ट्याङ्कीभित्र छिर्दै एकजना बोले ।

यसरी आगजनीपछि पनि लुटपाट र चोरी भइरहेको यो घरमा कुनै सुरक्षा छैन । हामी पुगेको करिब एक घण्टापछि मात्र नेपाली सेनाले घरभित्र नबस्न माइकिङ गर्यो । त्यसपछि पुनः आफ्नै गन्तव्यमा सेना हिँड्यो ।

स्थानीयहरू सेनासँग लुकामारी गर्दै घरभित्र छिरिरहेका थिए । जेन-जी आन्दोलनको असन्तोष दर्शाइरहेको यो घर अब सम्झनामा सीमित बनेको छ ।

स्टोरी/कौशल काफ्ले

तस्वीर/आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?