+
+
Shares
अनुभूति :

सर्वोच्चमा आगोसँगै खरानी भएको नेपालको न्यायिक इतिहास

सर्वोच्च अदालतमा रहेका ती मिसिलहरू केवल कागजका टुक्रा थिएनन्। ती हरेक मिसिलमा कुनै न कुनै नेपालीको जीवनको कथा जोडिएको थियो। कोही आफ्नो जमिनको लागि लडिरहेका थिए, कोही आफ्नो सम्मानको लागि, कोही आफ्नो हकअधिकारको लागि।

लीलानाथ घिमिरे लीलानाथ घिमिरे
२०८२ भदौ २७ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जब मैले सुनें कि सर्वोच्चको डाटा सेन्टर सबैभन्दा पहिले जलाइएको थियो, मेरो मन झनै भारी भयो। यदि डाटा सेन्टर नै छैन भने, अब ती डिजिटल अभिलेखहरू कहाँ खोज्न जाने?
  • आगोले केवल कागज जलाएन, हजारौं नेपालीको आशालाई पनि खरानी बनायो।
  • मलाई विश्वास छ, हाम्रो एकताले यो आँसुलाई आशाको सागरमा बदल्नेछ। हामी नेपाली हौं- हामी जलेर पनि फिनिक्स जस्तै फेरि उभिन्छौं।

मेरो जीवनको एउटा महत्वपूर्ण हिस्सा पत्रकारितामा बित्यो। आठ वर्षअघि मैले पत्रकारिताको बाटो मोडेर वकालत रोजें। पत्रकारितामा रहँदा मैले समाजका हरेक तह र तप्काका कथाहरू सुनेको थिएँ, मानिसहरूको आशा, निराशा र संघर्षलाई नजिकबाट नियालेको थिएँ । तर, जब म कानून व्यवसायमा प्रवेश गरें, मैले बुझें- नेपालको सर्वोच्च अदालत हरेक नेपालीको अन्तिम आशाको केन्द्र हो।

यो केवल इँटा र काठको भवन होइन, यो त न्यायको मन्दिर हो, जहाँ जनताको विश्वास, संविधानको आत्मा र नेपालको न्यायिक इतिहास जीवित रहन्छ। यो मन्दिर मेरो लागि मात्र होइन, हरेक नेपालीको हृदयमा बसेको पवित्र स्थल हो, जसले वर्षौंदेखि आँसु र आशाको पुल बाँधेको छ।

जब सर्वोच्च अदालतमा आगो झोसिएको खबर मेरो कानमा आइपुग्यो, मेरो हृदयमा १० रेक्टर स्केलको भूकम्प गयो। सर्वोच्चमा आगो बल्दै गरेको दृश्य देख्दा मेरा आँखाबाट अनायासै आँसु वर्षिन थाले, आफूलाई थाम्नै सकिनँ। मेरो मन भत्भती पोल्दै गयो, जतिजति आगोका लप्काले भवनलाई लपेट्दै थियो। वर्षौंदेखि अभिलेख गरिएका दस्तावेजहरू केही घण्टामा खरानीमा परिणत हुँदै थिए। हजारौंको आशा र भरोसाका मिसिल, प्रमाण र ऐतिहासिक फैसलाहरू त्यही भवनभित्र जल्दै थिए।

ती कागजातहरू केवल कागजका टुक्रा थिएनन्, ती त मानिसहरूको जीवनका कथाहरू थिए- वर्षौंसम्मको संघर्ष, आँसु र आशाका आधारहरू। हरेक पानामा कसैको रगत र पसिनाको गन्ध थियो, कसैको सपनाको सास थियो। यो दृश्यले मेरो मनलाई यति गहिरो चोट पुर्‍यायो कि म रातभर निदाउन सकिनँ, आँसुले तकिया भिजिरह्यो।

पत्रकारितामा रहँदा मैले समाजको नाडी छामेको थिएँ। मैले देखेको थिएँ, कसरी सर्वोच्च अदालतको फैसलाले देशको दिशा बदल्न सक्छ। चाहे त्यो संवैधानिक विवाद होस्, चाहे सामान्य नागरिकको न्यायको लडाइँ, सर्वोच्च अदालत सधैं अन्तिम आशाको पहाड जस्तो उभिन्थ्यो।

सर्वोच्चका फैसलाले सामाजिक न्याय र संवैधानिक मूल्यहरूलाई बलियो बनाएका समाचारहरू लेखें मैले। ती समाचार लेख्दा मेरो मनमा एउटा गर्वको भावना जाग्थ्यो, किनभने मलाई लाग्थ्यो- यो न्यायको ज्योति हो, जसले अन्धकारलाई चिरेर उज्यालो फैलाउँछ।

लीलानाथ घिमिरे

जब मैले पत्रकारिता छोडेर वकालत शुरु गरें अनि यो आशा अझ गहिरोसँग बुझें। हरेक मुद्दा, हरेक बहस, मेरा सेवाग्राहीको आँखामा म त्यही आशा देख्थें- सर्वोच्चले न्याय दिनेछ। ती आँखाहरूमा मैले आफ्नै प्रतिबिम्ब देख्थें, मेरो संघर्ष र सपना।

मलाई सम्झना छ, एक जना सेवाग्राहीले मलाई भनेका थिए, “सर्वोच्चमा पुगेपछि मेरो न्यायको ढोका खुल्छ।” उनको यो विश्वासले मेरो मनमा गहिरो छाप छोड्यो।

तर, जब त्यही सर्वोच्च आगोको लप्कामा पर्‍यो, मलाई लाग्यो- ती सेवाग्राहीको विश्वास पनि शायद खरानी भएको छ।

डिजिटइजेशनको सपना

पछिल्लो समय सर्वोच्च अदालत डिजिटाइज्ड हुँदै गएको थियो। मिसिलहरू स्क्यान गरिंदै थिए, डिजिटल डाटाबेस बनाइँदै थियो। सुनुवाइका प्रक्रियाहरू अनलाइन हुँदैथिए। यो परिवर्तनले हामीलाई उत्साहित बनाएको थियो। डिजिटल प्रणालीले हाम्रो कामलाई सहज बनाएको थियो। हामीले सोचेका थियौं, अब न्याय प्रणाली अझ पारदर्शी र प्रभावकारी हुनेछ। मलाई सम्झना छ, एक जना सहकर्मीले भनेका थिए, “अब हाम्रा मिसिलहरू डिजिटल ब्याकअपमा सुरक्षित छन्, हामीले कागजको भर पर्नुपर्दैन।” यो कुराले मलाई आशावादी बनाएको थियो।

तर, जब मैले सामाजिक सञ्जालमा सर्वोच्च अदालतमा आगलागी भएको समाचार देखें, मेरो मनले पत्याउन मानेन। प्रत्यक्ष प्रसारणमा आगोले सर्वोच्चको भवनलाई निलिरहेको दृश्य देख्दा मेरो मन चसक्क भयो। जब मैले सुनें कि सर्वोच्चको डाटा सेन्टर सबैभन्दा पहिले जलाइएको थियो, मेरो मन झनै भारी भयो।

यदि डाटा सेन्टर नै छैन भने, अब ती डिजिटल अभिलेखहरू कहाँ खोज्न जाने? के हामीले वर्षौंसम्म जम्मा गरेका प्रमाण, मिसिल र फैसलाहरू आगोको लप्काले नष्ट गरिदिए? यो प्रश्नले मेरो मनलाई रातभर सतायो। मेरो हृदय चिच्यायो- यो कस्तो न्याय हो?

 सेवाग्राहीको आँसु, मेरो पीडा

मलाई सम्झना छ, मेरो एक जना सेवाग्राहीको मुद्दा सर्वोच्चमा विचाराधीन थियो। उनले वर्षौंसम्म आफ्नो जमिनको स्वामित्वको लागि लडाइँ लडेका थिए। उनको मिसिल, प्रमाण र कागजातहरू त्यही भवनभित्र थिए। मैले उनलाई फोन गरें, तर उनको आवाजमा निराशा र डर स्पष्ट सुनिन्थ्यो। उनले भने, “अब मेरो मुद्दा के होला? मेरो जीवनको आधार ती कागजातमा थिए।” उनको यो प्रश्नले मेरो मन भारी बनायो। मसँग जवाफ थिएन, किनभने म आफैं पनि त्यही प्रश्नसँग जुधिरहेको थिएँ। उनको आँसुले मेरो मनलाई झनै पोल्यो। मलाई लाग्यो, यो आगोले केवल भवनलाई जलाएन, हजारौं नेपालीको सपनालाई खरानी बनायो।

आन्दोलनकारीको निशाना किन सर्वोच्च ?

जब ती सबै आगोको चपेटामा परे, मलाई लाग्यो- यो आगोले केवल कागज जलाएन, हजारौं नेपालीको आशालाई पनि खरानी बनायो।

मेरो मनमा सबैभन्दा ठूलो प्रश्न छ- किन सर्वोच्च? किन यो मन्दिर आन्दोलनकारीहरूको निशानामा पर्‍यो? मलाई थाहा छ, सर्वोच्च अदालत सधैं विवादरहित रहेन। हो, त्यहाँ दलीय नियुक्ति पाएका न्यायाधीशहरू थिए। एकाध मुद्दामा तिनीहरूले दलीय प्रभाव देखाए होलान्। तर, सर्वोच्च अदालत ती न्यायाधीशहरूको मात्र होइन। यो त देशको संवैधानिक आत्मा हो, जनताको अन्तिम आशा हो। यदि कसैलाई न्यायाधीशका फैसलाप्रति गुनासो थियो भने, त्यसको समाधान आगलागी होइन। यो त हाम्रो इतिहास, हाम्रो विश्वास र हाम्रो भविष्यमाथिको प्रहार हो।

मलाई लाग्छ, यो आगलागी आन्दोलनकारीहरूको मात्र काम थिएन। यो त नेपालको न्यायिक इतिहास मेटाउन चाहनेहरूको सुनियोजित प्रहार थियो। यो केवल सर्वोच्च अदालतमाथिको आक्रमण होइन, यो त सम्पूर्ण नेपाली जनतामाथिको आक्रमण हो। यो त हाम्रो संवैधानिक मूल्यमान्यता, हाम्रो इतिहास र हाम्रो भविष्यमाथिको प्रहार हो। यो सोच्दा मेरो मनमा आक्रोश उम्लिन्छ र आँसुले मेरो आँखालाई धमिल्याउँछ। म रोइरहेको छु, किनभने यो केवल मेरो पीडा होइन, यो हरेक नेपालीको पीडा हो।

 हजारौंको आशा र भरोसाको खरानी

सर्वोच्च अदालतमा रहेका ती मिसिलहरू केवल कागजका टुक्रा थिएनन्। ती हरेक मिसिलमा कुनै न कुनै नेपालीको जीवनको कथा जोडिएको थियो। कोही आफ्नो जमिनको लागि लडिरहेका थिए, कोही आफ्नो सम्मानको लागि, कोही आफ्नो हकअधिकारको लागि। ती प्रमाणहरू वर्षौंसम्मको मिहिनेत र संघर्षका साक्षी थिए। ती फैसलाहरूले समाजलाई दिशा दिएका थिए, संविधानको रक्षा गरेका थिए। तर, जब ती सबै आगोको चपेटामा परे, मलाई लाग्यो- यो आगोले केवल कागज जलाएन, हजारौं नेपालीको आशालाई पनि खरानी बनायो।

वर्षौंदेखि अभिलेख गरिएका दस्तावेजहरू केही घण्टामा खरानीमा परिणत भए। मलाई ती दिनको सम्झना हुन्छ, जब सर्वोच्च अदालतका ऐतिहासिक फैसलाहरूले देशलाई धेरै पटक जोगाएका थिए। कतिपय फैसला सामाजिक न्यायको लागि कोसेढुंगा साबित भएका थिए। आज, जब म त्यही भवन आगोले घेरिएको देख्छु, मलाई लाग्छ- ती ऐतिहासिक फैसलाहरूको अभिलेख पनि खरानी भए। के हामीले अब हाम्रो न्यायिक इतिहासको एउटा हिस्सा गुमायौं ? यो प्रश्नले मेरो मनलाई चिथोरिरहेको छ।

सर्वोच्चको डाटा सेन्टर सबैभन्दा पहिले जलाइएको खबरले मेरो मनमा नयाँ डर जन्मायो। यदि डिजिटल अभिलेखहरू पनि नष्ट भए भने, अब ती दस्तावेजहरू कहाँ खोज्न जाने? हामीले सोचेका थियौँ, डिजिटाइजेशनले हाम्रा मिसिलहरूलाई सुरक्षित राख्नेछ। नेपाल कानून पत्रिका सर्च गर्नासाथ कम्प्युटरमा पाइन्थ्यो। पुराना नजिरहरू सहजै पाउने ती दिन अब सकिए जस्तै भयो। यो आगलागीले हाम्रो प्रणालीको कमजोरीलाई नाङ्गो बनायो। यदि डाटा सेन्टर नै छैन भने, हामीले हाम्रो न्यायिक इतिहासको ठूलो हिस्सा गुमाएका छौं। यो सोच्दा मेरो मन थामिनसक्नु पीडाले भरिन्छ। यो आगोले मेरो विश्वासको आधारलाई पनि डढाएको छ।

 फिनिक्स जस्तै फेरि उभिन्छौं

यो निराशा र आँसुको घडीमा पनि मलाई केही कुराले आशा दिएको छ। बिहानै सर्वोच्चमा केही कर्मचारी र कानून व्यवसायीहरू पुगे, जल्न बाँकी मिसिलहरूको उद्धार गरे। सामाजिक सञ्जालमा मानिसहरूले लेखिरहेका छन्, “हामी फेरि सर्वोच्च बनाउँछौं। न्यायको ज्योति कहिल्यै निभ्न दिंदैनौं।” यी सन्देशहरूले मेरो मनमा बल पुर्‍याएको छ। भवन त केवल इँटा र काठको संरचना हो। साँचो न्याय त हाम्रो मनमा, हाम्रो विश्वासमा र हाम्रो एकतामा छ। यो आगलागीले हामीलाई कमजोर बनाउन सक्दैन।

हामी नेपाली हौं, हामीले विपत्तिहरूलाई जित्दै आएका छौं। २०७२ को भूकम्पले हामीलाई हल्लाएको थियो, तर हामीले फेरि उठेर देश बनायौं। यो आगलागीले पनि हामीलाई रोक्न सक्दैन। यो घटनाले मलाई एउटा कुरा सिकायो- हामीले हाम्रो न्याय प्रणालीलाई अझ बलियो बनाउनुपर्छ। सर्वोच्च अदालतको भवन फेरि ठडिनेछ, तर हामीले यो अवसरलाई हाम्रो न्यायिक प्रणालीलाई सुधार गर्ने मौकाको रूपमा लिनुपर्छ।

हामीले सुनिश्चित गर्नुपर्छ कि भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिऊँ। हाम्रा महत्वपूर्ण संस्थाहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्छ। र सबैभन्दा महत्वपूर्ण, हामीले जनताको विश्वासलाई पुनर्जन्म दिनुपर्छ। मेरो मन अझै रोइरहेको छ, तर मलाई विश्वास छ, हाम्रो एकताले यो आँसुलाई आशाको सागरमा बदल्नेछ। हामी नेपाली हौं- हामी जलेर पनि फिनिक्स जस्तै फेरि उभिन्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?