+
+
Shares

सर्वोच्च अदालत र अरु न्यायपालिका : खरानी बाहेक केही छैन बाँकी

कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ। काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको छ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ भदौ २५ गते ९:२९
जेनजी पुस्ताको प्रदर्शनको क्रममा मंगलबार आगजनी हुँदा खण्डहर बनेको सर्वोच्च अदालत। तस्वीर: दीपक अधिकारी/अनलाइनखबर।  

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सर्वोच्च अदालत परिसरमा प्रदर्शनकारीहरूले कागजातहरू संकलन गरी आगो लगाएका छन्।
  • प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको तेस्रो तलामा रहेको डाटा सेन्टरमा आगजनी गरेका छन्।
  • आगोले अदालतका अभिलेख, डिजिटल डाटा र न्यायिक संग्रहालयमा क्षति पुगेको छ र अदालत सञ्चालन अवरुद्ध भएको छ।

२५ भदौं, काठमाडौं। मंगलबार अपराह्न इजलासहरूमा सुनुवाइ सकिँदै थियो, कतिपय कानून व्यवसायीहरू झोला टिपेर आ–आफ्नो ल–फर्मतिर फर्कदै थिए। एकाएक प्रदर्शनकारीहरूको समूह सर्वोच्च अदालत परिसरमा छिर्‍यो।

शुरुमा उनीहरू मुद्दाको कागजात र फाइलहरूको खात हुने शाखा(फाँट)हरूमा छिरे। एक प्रत्यक्षदर्शी कर्मचारीका अनुसार, उनीहरूले कागजातहरू एक ठाउँमा थुपारे, अनि आगो दन्काए। त्यसपछि अर्को समूहले त्यसैगरी अर्का दुई/तीनवटा फाँटको कागजात त्यसैगरी संकलन गरेर फेरि आगो झोसे।

सर्वोच्च अदालतको मुल भवनको प्रमुख मोहडामा तीन तला अग्लो आँखीझ्याल छ र सबैभन्दा माथि न्यायको प्रतिकको रूपमा श्रीयन्त्र राखिएको छ। अदालतका कर्मचारीहरूले हरेक दिन त्यस पूजा गरेर अदालती कामकारबाही शुरु गर्थे। मंगलबारको आगजनीले आँखीझ्याल र श्रीयन्त्र, दुवै ध्वस्त हुन पुगेका छन्।

३/४ ठाउँमा आगो दन्किएपछि उनीहरू सरासर सर्वोच्च अदालतको तेस्रो तलामा पुगे। सर्वोच्च अदालतको पहिलो तलामा इजलासहरू छन् भने दोस्रोमा प्रधानन्यायाधीशको कार्यकक्ष, बैठक कक्ष र मुख्यरजिष्ट्रारको कार्यालय छन्। तल्लो तलामा आगो बालेपछि प्रदर्शनकारीहरू सोझै तेस्रो तलामा पुगेका थिए।

‘तेस्रो तला हाम्रो बडा संवेदनशील ठाउँ हो। तीव्र गतिमा डिजिटलाइज्ड हुने प्रक्रियामा रहेको सर्वोच्च अदालतका सबै अभिलेखहरूको डाटासेन्टर नै त्यही हो,’ सर्वोच्च अदालतका एक सहसचिवले भने, ‘भूइँतलापछि उनीहरूले सोझै डाटा सेन्टरमा आगो लगाए अनि बल्ल अरुतिर आगजनी गर्न थाले।’

सीमित सुरक्षाकर्मीहरूले ठूलो संख्यामा आएका प्रदर्शनकारीहरूलाई थेग्न सकेनन्। त्यसपछि प्रदर्शनकारीहरूको अर्को टोलीले सर्वोच्च अदालतको एनेक्स भवनको भूइँतलमा रहेको अभिलेख शाखामा आगजनी शुरु गर्‍यो।

पहिले न्यायपरिषद्को कार्यालय समेत रहेको एनेक्स भवनको भूइँतलामा पुराना मुद्दाका अभिलेख र फैसलाहरू संग्रहित थियो। सर्वोच्च अदालतले गरेका सबैजसो फैसलाहरू अभिलेख शाखामा सुरक्षित रहन्छन्। ती सहसचिवले भने, ‘अब हामीसँग केही पनि छैन, खरानी मात्रै छ।’

सर्वोच्च अदालतले हेटौंडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ। दुवैतर्फ आक्रमण भएपछि अहिले सर्वोच्च अदालतको वेबसाइट ‘डाउन’ छ। सफ्टवेयरबाट मुद्दाहरू अघि बढाउने अवस्था छैन।

सर्वोच्च अदालतले मुद्दाका सबै प्रक्रियासम्बन्धी विवरण अनलाइनबाट चलाउँथ्यो। पछिल्ला वर्षमा मुद्दाका फाइलहरू डिजिटल रूपमा तयार गर्ने क्रम बढे पनि पुराना मुद्दाहरू भने कागजातबिना सुनुवाइ गर्न सम्भव हुँदैन।

अभिलेख जलेपछि सबै प्रमाण नष्ट भएका छन्, ती मुद्दामा के गर्ने भन्ने अन्योल छ। न्यायाधीशहरूले तयार पारेका कैयौं फैसलाको अभिलेख कम्प्युटरसँगै जलेर नष्ट भएका छन्। डिजिटल रुपान्तरणमा उदाहरणीय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट क्षति पुगेको छ।

एकपटक आगजनी गरेर हिंडेका प्रदर्शनकारीहरू दोस्रो पटक पनि सर्वोच्च अदालत छिरे। तिनीहरूले पहिलेका हुन् वा अरु हुन् खुल्न नसकेको कर्मचारीहरू बताउँछन्। त्यसक्रममा बार र सर्वोच्च बारमा आगजनी भइसकेको थियो।

दोस्रो पटक छिर्नेहरूले कानून पत्रिका प्रकाशित हुने छापाखाना र कानून पत्रिकाहरूको भण्डारण हुने कोठामा आगो लगाए। सर्वोच्च अदालतले केही वर्षयता निकै मेहनत र कतिपय न्यायाधीशहरूले व्यक्तिगत प्रयासबाट संकलन गरेका पुरातात्विक महत्वका वस्तुहरू संकलन गरेर न्यायिक संग्रहालय बनाएका थिए। प्रदर्शनकारीहरूले त्यहाँ समेत आगजनी गरे।

महान्यायाधीवक्ता कार्यालयमा पनि प्रदर्शनकारीहरूले त्यही शैलीमा आक्रमण गरेका थिए। ‘भएभरका कागजातहरू संकलन गरे, एक ठाउँमा ल्याएर आगो दन्काए,’ महान्यायाधीवक्ता कार्यालयका एक कर्मचारीका अनुसार, ‘महान्यायाधीवक्ता कार्यालय, सर्वोच्च अनि जिल्ला अदालतमा आगजनी गर्नेहरूको शैली एकै खालको थियो।’

प्रदर्शनकारीहरूले जिल्ला अदालतका साथै माइतीघर मण्डलामा रहेको जिल्ला सरकारी वकिलको कार्यालय र विशेष सरकारी वकिलको कार्यालयमा पनि त्यही शैली अपनाएर कागजात एक ठाउँमा बटुल्ने, आगो झोस्ने र हिड्ने गरेका थिए। सर्वोच्च अदालत परिसरमा पार्किङ गरिएका सवारीसाधनमाथि भएकोआगजनीको त कुनै हिसावकिताव नै छैन।

सर्वोच्च अदालतका एक न्यायाधीशले मंगलबारको आगजनीले न्यायपालिकाका सबै अभिलेखहरू ‘कोल्याप्स’ भएको प्रतिक्रिया दिए। ‘हामीले कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने हो, ती अब केही पनि बाँकी रहेनन्, अब के गर्नु?’ उनले भने, ‘केही महिना वा वर्षको प्रयासले यी अभिलेख सुरक्षित भएका होइनन्, दशकौंको मेहनत छ। सबै खरानी भयो।’

दुवै डाटा सेन्टरमा आक्रमणबाट क्षति पुगेकाले देशभरको अदालत सञ्चालन प्रक्रिया अवरुद्ध बनेको छ।

सर्वोच्च अदालतका अर्का न्यायाधीशले बुधबार बिहानभर सामूहिक छलफलको प्रयास हुने बताए। त्यसपछि सांकेतिक रूपमा भएपनि कहीँ कतैबाट अदालत सञ्चालनको प्रयास हुने उनको भनाइ थियो।

‘हिजो भूकम्पमा पनि हामीले सेवा दिएको हो, आज सबै खरानी भयो, तर पनि सेवा जसरी हुन्छ, सांकेतिक रूपमा अदालत खोल्ने प्रयास हुनेछ,’ उनले भने, ‘न्यायालयमा भएको यो क्षतिमा हामी सबै एकै ठाउँमा छौं, सामूहिक प्रयासबाट केही न केही काम शुरु गर्ने तयारी छ।’

तस्वीरहरु : दीपक अधिकारी/अनलाइनखबर।  

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?