+
+
Shares

समाजको मनोबल बढाउन जेन-जीसहितले थाले बस्तीमा गस्ती

वडा कार्यालय जलाउन खोज्नेलाई स्थानीयले लखेटे

‘देश अहिले लगभग शून्यताको अवस्थामा छ । प्रहरीदेखि सबैजसो राष्ट्रसेवक त्रासमा छन् भने समाजलाई लयमा ल्याउने, थप भड्किन नदिने आन्दोलनमा होमिएका हामी जेन–जीको पनि दायित्व हो,’ सन्तोषले भने ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ भदौ २७ गते १२:२८
पोखराबासी सडकमा । फोटो : दिवस बराल

२७ भदौ, पोखरा । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका विरुद्ध आन्दोलनमा उत्रिएका पोखरा हेमजाका युवाले सरकारी संरचना जलाउने प्रयासलाई रोकेका छन् भने बस्ती जोगाउन गस्ती गर्ने गरेका छन् ।

भदौ २३ गते जेनेरेसन जेडको (जेन–जी) पुस्ताको आन्दोलनमा भएको सरकारी दमनपछि भोलिपल्ट सबै सरकारी सरकारी संरचना, नेताको घर, ठूला व्यवसायी निसानामा परेका थिए । पोखरामा पनि शृंखलाबद्ध रूपमा तोडफोड, लुटपाट र आगजनीमात्रै चलेन, जेन–जी आन्दोलनको नाममा शहरभरि आतंक नै मच्चाइयो ।

पहिलो पटक आन्दोलनमा उत्रिएको पुस्तालाई सरकारको नेतृत्वले गरेको अपमान, दमन र नरसंहारले हेमजाका युवाहरूको पनि मन रोएको थियो । तर, जनताको करबाटै निर्माण भएका सरकारी संरचनामा क्षति पुर्‍याउन उक्साउने, लुटपाट, तोडफोड र आगजनी गर्ने समूह सहरैभरि उस्तै देखिन्थे । राज्यका सम्पत्तिमाथि विध्वंस मच्चाएकोप्रति हेमजाका जेनजी युवाहरूलाई चित्त बुझेको थिएन ।

देशभर सरकारी तथा व्यापारीका संरचनामा आगलागी भएपछि सग्लो रहेको पोखरा–२५ को वडा कार्यालयमा भोलिपल्ट बुलेट, क्रस फायरजस्ता मोटरसाइकल पड्काउँदै केही युवा पुगे ।

त्यसअघि नै, एउटा सानो जेन–जी समूह वडामा जनताको पक्षमा काम गर्न, भ्रष्टाचार नगर्न चेतावनी दिँदै थियो । ‘गलत बाटो हिंड्दा कस्तो परिस्थिति आउँदो रहेछ भन्ने ख्याल गर्नुस्,’ भन्दै थियो । उनीहरू केवल प्रधानमन्त्री र राष्ट्रपतिका फोटो निकालेर बाहिरिएका थिए ।

त्यसलगत्तै मोटरसाइकलमा केही युवाहरू आए र धमाधम कार्यालय तोडफोड गर्न खोजे । उनीहरू वडा कार्यालयमा आगो लगाउने तयारी गर्दै थिए । स्थानीय जेन–जीसहितका युवाहरू आए र उनीहरूलाई त्यहाँबाट लखेटे ।

जेन–जी समूहसहितका स्थानीयको तदारुकताले वडा कार्यालय जल्न पाएन । उनीहरूले त्यहाँ थप कुनै अप्रिय घटना हुन दिएनन् । उनीहरूले अहिले शान्ति सुरक्षाका लागि बस्तीमा गस्ती नै गर्ने गरेका छन् ।

‘हेमजाका जेन–जी समूहले खबरदारी गराएर गइसकेका थिए । पछि केही युवा बुलेट बाइक पड्काउँदै आए र वडा भवन तोडफोड गर्न गर्न सुरु गरे,’ वडाध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाले भने, ‘अब हामी वडाबाट नियमित जनताको सेवा दिन सक्ने अवस्थामा छौं तर महानगरपालिकाको कार्यालय भने जलेर ध्वस्त छ ।’

जेन–जी आन्दोलनमा सहभागी भएका स्थानीय सन्तोष तिमिल्सिनाले संरचना ध्वस्त बनाउनु आफूहरूको कुनै उद्देश्य नभएको र भीडमा घुसपैठ हुँदा त्यो अवस्था आएको बताउँछन् ।

उनले बस्तीमा शान्ति सुरक्षाका लागि समूह नै बनाएर गस्ती गरिरहेको जानकारी दिए । जेन–जीको आन्दोलन एक हिसाबले सफल भएको तर उनीहरूलाई देखाएर केही अराजक स्वार्थ समूह, केही लुटेरा र आवाराको समूहले समेत फाइदा उठाएको उनको बुझाइ छ ।

‘जेन–जीको आन्दोलन र माग जायज थियो । हामी सचेत छौं, के गर्न हुन्छ, के हुँदैन बुझेका छौं । तर, भीड उत्तेजित भएपछि दुर्घटनातिर गयो, त्यसमा अराजकता र घुसपैठसमेत भएपछि संरचना सखाप भए’ उनले थपे, ‘तर, अब भएका संरचनालाई जोगाउनु, समाजको आत्मबल बढाउनु र कुनै घटना घट्न नदिनु पनि हाम्रो नै दायित्व हो ।’

देशमा भ्रष्टाचार, लामो समय नेतृव गरेका प्रमुख राजनीतिक दलका नेताले गरेको अनियमितता र गरिब जनतालाई दु:ख गरेर पनि खान नपुग्ने, काम गर्छुभन्दा पनि युवाले रोजगारी नपाउने तर नेताका छोराछोरी भएकै कारण विलासी जीवन बाँच्ने गरेकोमा युवाहरूले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि पोख्दै आन्दोलनका योजना बुनेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि त्यो विरोधसहित मुख्य यिनै दुई एजेण्डाका साथ सडकमा उत्रिएका कलिला विद्यार्थीमाथि समेत सरकारले दमन गरेर नरसंहार गरेपछि युवाहरू ओक्रोश ह्वात्तै बढेको थियो ।

युवाहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।

गृहमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै नढाल्दासम्म आन्दोलन नरोक्ने योजनासहित युवाहरू मंगलबार सडकमा निस्किएका थिए । यही समूहमा थिए हेमजाबाट जेन–जी पुस्ताका सन्तोष तिमिल्सिना, विपिन पौडेल, रोशन थापा, विशाल पौडेल लगायतका युवाहरू सडकमा निस्किएका थिए ।

शान्तिपूर्ण आन्दोलन गर्ने र सरकार नढल्दासम्म प्रदर्शन तथा दबाब बढाइराख्ने योजनासहित सडकमा उत्रिएका थिए, उनीहरू । तर, परिस्थिति जटिल बन्न पुग्यो । प्रदर्शनमा जसै भीड बढ्दै जान थाल्यो, आन्दोलन पनि उग्र र उत्तेजित बन्दै जान थाल्यो ।

काठमाडौंमा एकपछि अर्को सरकारी संरचनाहरूमा आगो लाग्न थाले । तोडफोड, आगजनी र लुटपाट मच्चिन थाल्यो ।

जेन–जी समूहको आन्दोलनका लागि विपिन पौडेल, रोशन थापा, विशाल पौडेल, सन्तोष लगायतले म्यासेन्जरमा एउटा ग्रुप बनाएका थिए । पारस त्रिपाठीलगायत समेत सहभागी भएर अहिले युवाहरूले सामाजिक सञ्जालको ग्रुपमार्फत नै बस्तीमा गस्तीको सहजीकरण गरिरहेका छन् । उनीहरूको ग्रुपमा ४० जना जति जोडिएका छन् ।

‘देशमा अहिले लगभग शून्यताको अवस्थामा छ । प्रहरीदेखि सबैजसो राष्ट्रसेवक त्रासमा छन् भने समाजलाई लयमा ल्याउने, थप भड्किन नदिने आन्दोलनमा होमिएका हामी जेन–जीको पनि दायित्व हो,’ सन्तोषले भने, ‘देशमा ठूलो क्षति त भई नै हाल्यो तर, जेन–जी आन्दोलनले उपलब्धि पनि हासिल गरेको छ । केन्द्रमा अब अन्तरिम सरकार बन्ला र थप योजना अगाडि बढाउला ।’

तर, अहिले समाजको मनोबल जोगाइराख्नु र विस्तारै स्थितिलाई सामान्यीकरण गर्नुपर्ने प्रमुख दायित्व सम्पूर्ण जेन–जी र स्थानीयको समेत भएको उनीहरूको बुझाइ छ ।

उनीहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।

जेन–जीको आन्दोलनका कारण हेमजामा रहेका प्रहरीसमेत विस्थापित भएका थिए । अहिले प्रहरी आइसकेका छन् । तर, वडा प्रहरी कार्यालय बगरबाट हतियारसमेत लुटेर भागेका छन् । कैदीबन्दीहरूसमेत छुटेका छन् जसका कारण समाजमा डर पनि छ ।

‘एकातिर वर्षौंदेखि जरो गाडेर बसेका ठूला दल र नेताहरूको जरै हल्लिएकोमा खुसी छन् भने अर्कोतिर समाजमा अपराध बढ्न सक्ने त्रास पनि देखिएको छ’ युवाहरू भन्छन्, ‘यस्तो बेलामा हामीले थप डरभन्दा पनि समाजमा विश्वास बढाउनुपर्छ भनेर लागिरहेका छौं ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?