
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका छलफलहरू डिस्कर्ड नामक अनलाइन च्याट प्लेटफर्ममा भएका थिए जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
- डिस्कर्ड एप सन् २०१५ मा अमेरिकी युवा उद्यमी जेसन सिट्रन र स्ट्यानिस्लाभ भिस्नेवस्कीले गेमरहरूको लागि बनाएका थिए।
- डिस्कर्डले आवाज, भिडियो र टेक्स्ट च्याट सुविधा दिन्छ र नेपालमा कोभिडपछि व्यापक रूपमा प्रयोगमा आएको छ।
दुई दिने जेनजी आन्दोलनका क्रममा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् ।
भदौ २५ गते जेनजीहरूले नयाँ सरकारका लागि कसरी अघि बढ्ने ? सेनासँग वार्ता गर्न को-को प्रतिनिधि जाने जस्ता विषयबारे युथ अगेन्स्ट करप्सन’मा छलफल गरे । यसलाई नेपालका केही मिडियाले ठूलै महत्व दिएर प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।
खासमा जेनजी आन्दोलनको सुरुआती चरणका छलफलहरू डिस्कर्डका सर्भरहरूमै भएका थिए ।
फेसबुक, इन्स्टाग्राम, टिकटक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल लोकप्रिय भएको नेपालमा डिस्कर्ड नवीन प्लेटफर्म हो । तर, अहिले नेपालबाट गुगल प्ले स्टोरमा सबैभन्दा बढी डाउनलोड गरिने एपमध्ये डिस्कर्ड नवौंमा उक्लिएको छ ।
यता गुगल ट्रेन्डमार्फत पछिल्लो एक हप्ताको वेब सर्चको ट्रेन्ड हेर्दा पनि डिस्कर्डलाई लिएर ह्वात्तै खोजी बढेको देखिन्छ । मान्छेहरूले बढीजसो जेनजी डिस्कर्ड, जेनजी डिस्कर्ड नेपाल, जेनजी डिस्कर्ड लिङ्क, हामी नेपाल जस्ता कीवर्डहरू प्रयोग गरेर डिस्कर्डको खोजी गरिरहेका छन् ।
नेपालमा यति धेरै हलचल ल्याउन भूमिका खेलेको डिस्कर्ड के हो त ? यो कसरी बनाइएको थियो ? यसमा त्यस्तो के छ ?
सन् २०१५ को कुरा हो । अमेरिकाका दुई युवा उद्यमी जेसन सिट्रन र स्ट्यानिस्लाभ भिस्नेवस्कीले एउटा प्लेटफर्म सार्वजनिक गरे-डिस्कर्ड ।
त्यतिबेला इन्टरनेटमा फेसबुक, स्काइप, ह्वाट्सएप जस्ता प्लेटफर्महरूमार्फत अनलाइनच्याट सर्भिस चलिरहेका थिए । तर अनलाइन गेम खेल्नेहरूलाई चाहिने सुविधा ती प्लेटफर्मले दिन सकिरहेका थिएनन्।
गेम खेल्दा अर्को गेमरसामु आवाज ढिलो पुग्ने, कहिले आवाज नै काटिने, कहिले सेटअप गर्नै झन्झटिलो हुने जस्ता समस्याहरू ती प्लेटफर्महरूमा हुन्थे। त्यही असुविधाबाट दिक्क भएका युवाहरूलाई नयाँ विकल्प दिने उद्देश्यले जेसन र स्ट्यान (स्ट्यानिस्लाभको छोटो नाम)ले डिस्कर्ड बनाएका हुन् ।
एक त उनीहरू आफैं पनि गेम खेल्न मन पराउने मान्छे थिए । त्यही भएर गेमरहरूले खेलमा रमाउन भन्दा बढी च्याट मिलाउन र समस्या सल्टाउन समय खर्चिरहनु परेको उनीहरूलाई मज्जैले थाहा थियो । किनकि त्यस्तो हुँदा खेलको मजा नै हराउँथ्यो ।
अनि यही समस्याको समाधान गर्न उनीहरूले साधारण तर विश्वसनीय भोइस च्याट प्लेटफर्म बनाउन तिर लागे । र, केही महिनामै बनाइ छाडे । तर सुरुमा सानो समूहलाई मात्र प्रयोग गर्न दिइएको थियो । तर, प्लेटफर्मको फिचरका कारण यो एप चाँडै चर्चामा आयो ।
नाममै लुकेको संकेत
अङ्ग्रेजी शब्द Discord को अर्थ नै ‘मेल नभएको आवाज’ वा ‘असहमति’ भन्ने हुन्छ । तर जेसन र स्ट्यानले यो शब्दलाई सकारात्मक अर्थमा लिने प्रयास गरे । अनि सुरु दिनदेखि नै उनीहरूले प्रयोगकर्तालाई त्यस्तै आग्रह गरे ।
उनीहरूको भनाइमा डिस्कर्डले असहमतिका आवाजलाई मिलाएर नयाँ समुदाय बनाउने अवसर दिन्छ । र, यथार्थमा पनि डिस्कर्डले असहमति र विविधतालाई साझा च्याट प्लेटफर्ममार्फत प्रयोगकर्ताहरूलाई एकतामा बाँधिरहेको छ । जसको एक उदाहरण जेनजी आन्दोलन पनि बन्न पुग्यो ।
सुरुमा डिस्कर्ड गेमिङ समुदायमै लोकप्रिय भयो । लिग अफ लेजेन्ड, वर्ल्ड अफ वारक्राफ्ट जस्ता अनलाइन गेम खेल्नेहरूले सर्भर खोलेर (सरल भाषामा बुझ्दा ग्रुप) यसमा आफ्ना साथीहरूलाई बोलाउने गर्थे । यहीकारण चाँडै लाखौँ प्रयोगकर्ताहरू डिस्कर्डमा जोडिन पुगेका थिए ।
सर्भरमा धेरै जना जोडिन मिल्ने भएकाले डिस्कर्डको दायरा केवल गेममै सीमित रहेन । विद्यार्थीहरूले पढाइको समूह बनाउन थाले । कलाकारहरूले आफ्ना काम देखाउन डिस्कर्ड प्रयोग गर्न थाले । प्रविधिक क्षेत्रका व्यक्तिले कोडिङ र नयाँ आविष्कारबारे छलफल गर्न प्रयोग गर्न थाले ।
यो एप व्यापक बनेको भने कोभिड महामारीपछि हो । किनकि त्यसबेला भौतिक रूपमा भेला हुन गाह्रो थियो । त्यही कारण अनलाइन मिटिङ, कार्यशाला र कार्यक्रमका लागि डिस्कर्ड उपर्युक्त प्लेटफर्म बन्यो ।
संस्थापकका संक्षिप्त चर्चा
१९८४ सेप्टेम्बर २१ मा अमेरिकामा जन्मिएका जेसन डिस्कर्ड बनाउनुअघि नै एप डेभलपमेन्ट क्षेत्रमा थिए । डिस्कर्डअघि उनले २००९ मा ओपनफिन्ट नामक मोबाइल गेमहरूका लागि सामाजिक सञ्जालसरह प्लेटफर्म बनाएका थिए ।
२०१२ मा ह्यामर एन्ड चिजेल नामक गेम डेभलपमेन्ट स्टुडियो खोलेका थिए । उनले हालै मात्र डिस्कर्डको सीईओ पदबाट राजीनामा दिएका छन् । तर, अझैं पनि कम्पनीसँग उनको आवद्धता भने छ ।
त्यस्तै डिस्कर्डका अर्का संस्थापक स्ट्यानिस्लाभ पनि टेक्निकल जिनियस नै हुन् । किनकि डिस्कर्डमा उनको मुख्य भूमिका नै प्राविधिक पक्षमा थियो । उनले एपको कोर इन्जिनियरिङ र डिजाइन गरेका थिए ।
छोटकारीमा उनलाई स्ट्यान भनिने गरिएको छ । उनी रुसी मूलका अमेरिकी उद्यमी हुन् । उनले पनि जेसनले झैं डिस्कर्ड बनाउनुअघि गिल्डवर्क नामक गेमिङ प्लेटफर्म स्थापना गरेका थिए । अनि जेसनको ह्यामर एन्ड चिजेल स्टुडियो बनाउन ठूलो भूमिका खेलेका थिए ।
यसरी दुवैले मिलेर भोइस, भिडियो र टेक्स्ट कम्युनिकेसन एप-डिस्कर्ड, २०१५ को मार्चमा बेटा भर्सन लञ्च गरिएको थियो । त्यसमा सफल भए पनि मे महिनामा फूल भर्सन लन्च गरिएको थियो ।
अहिलेसम्म आइपुग्दा यो एपमा विभिन्न फिचरहरू आइसकेको छ ।
एपका मुख्य फिचरहरू
सर्भर र च्यानल
एपमा इमेलमार्फत अकाउन्ट खोले पछि जोकोही प्रत्येक प्रयोगकर्ताले आफ्नै ‘सर्भर’ बनाउन सक्छ । त्यो सर्भरभित्र भोइस, टेक्स्ट वा भिडियो च्यानलहरू छुट्टै बनाउन सकिन्छ । त्यसले गर्दा विषयअनुसार छलफल गर्न सजिलो बनाउँछ । बिम्बात्मक उदाहरणबाट बुझ्दा, डिस्कर्ड ठूलो घर हो भने त्यहाँ विभिन्न च्यानलहरू कोठाहरू हुन्।
गुणस्तरीय भोइस च्याट
डिस्कर्डको खास टेक्नोलोजी भनेको ल्याग (ढिलो प्रतिक्रिया) नहुनु हो । कम भए पनि अत्यन्तै कम हुनु हो । योस फिचर गेमिङ वा मिटिङका लागि अति नै महत्त्वपूर्ण हुन्छ । मिलिसेकेन्डमा मात्र ल्याग भयो भने पनि गेममा धेरै फरक पर्छ ।
भिडियो र स्क्रीन शेयर
ल्याग नहुने भएकाले डिस्कर्डमा कुराकानी गर्ने मात्र नभई अन्य काम गर्न पनि निकै सजिलो हुन्छ । यसमा बाट स्क्रीन देखाउन, प्रोजेक्ट प्रेजेन्ट गर्न वा फिल्म हेरेर रमाइलो गर्न पनि मिल्छ ।
फ्रि र प्रिमियम विकल्प
फ्रि र प्रिमियम गरी डिस्कर्डमा दुई वटा अकाउन्ट अप्सन छ । सामान्य प्रयोगका लागि फ्रि अकाउन्ट पर्याप्त हुन्छ। तर प्रिमियम, जसलाई एपमा ‘डिस्कर्ड निट्रो’ पनि भनिन्छ, मार्फत विभिन्न प्रकारका इमोजी, ठूलो फाइल पठाउने क्षमता, हाई रिजोलुसनको भिडियो पठाउने/पाउने सुविधा पाइन्छ ।
समग्रमा डिस्कर्डको मुख्य विशेषता प्रयोगकर्तालाई ‘कम्युनिटी’ अर्थात् समुदायको अनुभूति दिनु हो । यहाँ प्रयोगकर्ताहरू केवल कुरा गर्न आउँदैनन्, बरु आफ्नै संसार बनाउन आउँछन् । जसले उनीहरूलाई एउटा ठूलो घरमा बसे जस्तो बोध गराउँछ ।
प्रतिक्रिया 4