
२८ भदौ, काठमाडौं । सिंहदरबार परिसरभित्र आगजनी भएका मन्त्रालयमा सरसफाइको काम सुरु भएको छ ।
अहिले शिक्षा मन्त्रालयका कर्मचारीहरु टुटफुट भएका र जलेका सामान पन्छाउने अनि बढारकुडार गर्ने काममा व्यस्त छन् । क्षति आँकलन गर्ने र मर्मत सम्भार गरी पुन: सेवा सुरु गर्न तयारी सुरु गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
शिक्षा मन्त्रालयले सिंहदरबार र केशरमहल दुवै क्षेत्रबाट सेवा दिने जनाएको छ । ‘सिंहदरबारमा सरसफाइ भइरहेको छ । मन्त्रालयका केही काम केशरमहलबाट पनि प्रवाह गर्छौं,’ शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले भने ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।
शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्याङ जलेका छन् । कर्मचारीहरुका कार्यकक्षहरुमा तोडफोड पनि भएको छ ।
सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा केही महाशाखा वा शाखा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
सरसफाइ गरेर काम गर्न मिल्ने ठाउँलाई प्रयोग गर्ने र ठाउँ अपुग भएकाको हकमा केशरमहलमा राखेर काम गर्ने मन्त्रालयको तयारी छ ।
‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौं,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।
यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरुले गरेका छन् ।
तस्वीरहरु : दिनेश गौतम/अनलाइनखबर
प्रतिक्रिया 4