
२९ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनले उग्ररूप लिएको भोलिपल्ट भएको प्रदर्शनले राज्यका महत्त्वपूर्ण संरचना जलेर ध्वस्त भए । देशका विभिन्न कारागारबाट १४ हजार भन्दा बढी कैदी बन्दीहरू भागेको समाचार बाहिरिए ।
अन्तरिम सरकारका प्रधानमन्त्रीले शपथ लिए पश्चात र स्थिति सामान्य बन्दै गएपछि कतिपय कैदी बन्दीहरू आफैं कारागार फर्किरहेका छन् । कतिपयलाई नेपाल प्रहरीले पक्राउ गरेर पुनः कारागार फिर्ता गरिरहेको छ ।
यसै क्रममा कतिपय कैदी बन्दीहरू आफ्ना कानुन व्यवसायीहरूको सम्पर्कमा समेत आएका छन् । आफ्ना सम्पर्कमा आएका कैदी बन्दीहरूलाई ती अधिवक्ताहरूले नै कारागार फर्काउन सहजीकरण गरेको पाइएको छ ।
त्यस्ता अधिवक्तामध्येका एक लबन न्यौपानेले आज आइतबारमात्र एक महिला कैदीलाई प्रहरीसँग सम्पर्क गराई कारागार पठाइएको बताए ।
‘कानुनी राज्यमा अदालतको आदेश वा फैसलाले कारागार चलान भएको व्यक्ति अदालतको आदेश वा फैसलाले मात्र बाहिर आउनसक्ने भएकाले हाम्रो सम्पर्कमा आएकालाई कारागार फर्काइरहेका छौँ,’ अधिवक्ता न्यौपानेले भने, ‘आजै मात्र पनि हाम्रो सम्पर्कमा आएकी एक महिला बन्दी गृह काठमाडौंमा थुनामा रहेकी एक कैदीलाई कारागार कार्यालयमा बुझाउन सहजीकरण गरेका छौं ।’
कानुनी राज्य र समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक सचेत नागरिकले गर्नै पर्ने कर्तव्य आफूहरूले गरेको अर्का अधिवक्ता विनोदमणि भट्टराईले बताए ।
आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरू फर्कनुको विकल्प नभएको भन्दै उनले परिस्थिति सहज भएपछि अधिकांश कैदी बन्दीहरू कारागार फर्कनेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया 4