
२९ भदौ, काठमाडौं । ठमेलमा मदिरा, ठेलागाडा तथा नाङ्गलामा हुने व्यवसाय राति १० बजेसम्म गर्न पाइने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले रात्रिकालीन समयमा लुटपाट, भिडभाड र चोरीका घटना बढेकाले साना व्यवसायलाई १० बजेसम्म खुला गर्न अनुरोध गरेको हो ।
पर्यटकीय क्षेत्र ठमेल घुम्न आउने पर्यटकको शान्ति सुरक्षा गर्नु परिषद्को पहिलो दायित्व रहेको परिषद्का कार्यवाहक महासचिव पूण्यराम लगेजुले बताए ।
‘साना व्यवसाय र मदिरा पसलका कारण सडकमा भिडभाड बढेकाले १० बजेसम्म खुला गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘ठमेलमा पछिल्लो समय अवाञ्छित गतिविधि बढेकाले पनि साना व्यवसायलाई छिटो बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।’
सडकमा होहल्ला गर्ने र झैंझगडा गर्नेको संख्या बढेकाले पनि सुरक्षा व्यवस्था मजुबत बनाएर लानुपर्ने अवस्था आएको लगेजुले बताए ।
२४ घण्टा मदिराजन्य पसल खुला हुँदा ठमेलमा ठूला लगानीमा खुलेका व्यवसायलाई प्रत्यक्ष प्रभाव परेको एक रात्रिकालीन व्यवसायीले बताए ।
‘बढी राजस्व तिर्ने व्यवसायीलाई यसले ठूलो प्रभाव परेको छ,’ उनले भने,’ मदिरा सेवन गरेर होटल रेस्टुरेन्टहरूमा ग्राहक पुग्दा अपेक्षा गरे बमोजिम व्यापार हुन सकेको छैन ।’
ठमेलमा साना व्यवसायीले तिर्ने राजस्व र ठूला व्यवसायीले तिर्ने राजस्वमा फरक रहेको उनको भनाइ छ । साना व्यवसायीलाई राज्यले निश्चित समय र नियम बनाएर व्यवसाय गर्ने वातावरण बनाउन उनले सुझाव दिएका छन् ।
पर्यटकको सिजन लागेकाले ठमेललाई सुरक्षित र शान्त रहेको सन्देश फैलाउनु पर्ने उनले बताए । साना–साना व्यवसायीका कारण लुटपाट र चोरीका घटना बढेकाले पनि यसले ठमेललाई असुरक्षित बनाइरहेको उनले दाबी गरे । उनी भन्छन्, ‘सडकमा रातभरि हल्ला गर्दै बाटामा बसेर मदिरा सेवन गरिरहेका हुन्छन् ।’
प्रतिक्रिया 4