
३० भदौ, काठमाडौं । जेनजी समूहका युवा प्रतिनिधिहरुले प्युठान जिल्लाका सबै नेता, ठेकेदार, उच्च पदस्थ कर्मचारी, उनीहरूका परिवार तथा नातेदारहरुकोि सम्पत्ति छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
प्युठान जिल्लामा विगतदेखि हालसम्म मन्त्री, सांसद, स्थानीय तहका प्रमुख/उपप्रमुख, वडा अध्यक्षहरू, जिल्ला तहका उच्च पदस्थ कर्मचारीहरू र ठेक्का व्यवसायमा संलग्न व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गरी छानबिन गर्न समेत युवाहरुले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, ‘ती व्यक्तिहरूको नजिकका पारिवारिक सदस्य, रेगुलर कारोबार साझेदार तथा इष्टमित्रहरूको पनि सम्पत्ति छानबिन गरियोस्, यदि अस्वाभाविक सम्पत्ति फेला परेमा विस्तृत अन्वेषण गरियोस् ।’
जेनजी युवा प्रतिनिधिको रूपमा विप्लव विष्टको हस्ताक्षर रहेको ज्ञापनपत्रमा यस प्रक्रियासँग सम्बन्धित सबै दस्तावेज, बोली/बक्यौता तथा लगानी स्रोतहरूको स्वतन्त्र परीक्षण गर्न माग गरिएको छ ।
सम्पत्ति छानबिनका लागि एक स्वतन्त्र, पारदर्शी र विशेषज्ञसहितको छानबिन समिति गठन गर्न र त्यसमा नागरिक समाज र स्थानीय प्रतिनिधिहरूको पनि प्रतिनिधित्व गराउन माग गरिएको छ ।
छानबिन प्रक्रियामा सार्वजनिक सुनुवाइ तथा जनहित सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न र निष्कर्ष घोषणा गरेसँगै उपयुक्त कानुनी कारबाही अगाडि बढाउन समेत माग गरिएको छ ।
यदि छानबिनको क्रममा भ्रष्टाचार वा धमाधम सम्पत्ति अधिग्रहणको प्रमाण भेटिएमा कानुनी तथा प्रशासनिक कारबाहीका लागि सुझाव दिनसमेत भनिएको छ ।
माग कार्यान्वयन नभए वयस्क कानुनसम्मत मोर्चा, सार्वजनिक चलान तथा सशक्त सञ्चार माध्यममार्फत थप दबाब दिने र नागरिक आन्दोलन सञ्चालन गर्ने चेतावनी युवाहरूले दिएका छन् ।
‘तर हामी पहिलो प्राथमिकतामा कानुनी र शान्तिमु्खी माध्यमबाट निर्णय खोजिरहेका छौं र यसैले आयोग र सम्बन्धित निकायहरूसँग वैधानिक तथा पारदर्शी छानबिनको अपेक्षा राख्छौं’, ज्ञापनपत्रमा लेखिएको छ ।
यो मागपत्र प्राप्त भएको १५ कार्य दिन भित्रबाट प्रारम्भिक प्रमाणसहित छानबिन सुरू गर्न भनिएको छ । यदि नियम/प्रक्रियाका कारण यो समय उपलब्ध नभए नयाँ समयसीमा सार्वजनिक गर्न भनिएको छ ।
प्रतिक्रिया 4