
३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।
मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
अर्थमन्त्री खनालले करिब १०० जना युवाहरूको ज्यानको बलिदानपछि ठूलो परिवर्तनको अवस्था आएको भन्दै यो नासोलाई पूरा गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको बताए ।
उनले भने, ‘६०/७० जनाको अनुहार चिनिरहेको छु, अहिले हामी अर्कै भूमिकामा छौं, यो करिब १०० जना युवाले ज्यान दियर यो अवस्था आयको हो । विध्वंस त भयो । तर ठूलो परिवर्तनका लागि यो भएको हो । युवाले यो जिम्मेवारी हामिलाई सुम्पिएका हुन् । हामीले लिएको यो नासो पूरा गर्ने हामी सबैको जिम्मेवारी हो ।’
उनले अगाडि भने, ‘मुलुकको भ्रष्टाचार पूरै अन्त्य हुनुपर्छ भन्ने युवाको माग हो । हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस छैन । जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन । हामी सच्चिनै पर्छ । म आग्रह त्यै गर्छु । यो आवेशमा छैन । तपाईंहरूले यो बुझ्नु नै हुन्छ । गल्ती गरेपछि अब कर्मचारीले माया पाउदैनन् । यो यजेन्डा मेरो होइन, राष्ट्रको हो, मुलुकको भविष्यका लागि युवाको यो चाहना पूरा गर्ने हो ।’
६ महिनाभित्र निर्वाचन कुनै पनि हालतमा गर्नैपर्ने उनको भनाइ छ ।
अब सिंहदरबार सहित सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नु पर्ने उनले बताए । सार्वजनिक सम्पत्तिको बीमा नहुने भन्दै उनले धेरै खर्च सरकारले नै व्यहोर्नु पर्ने उनले बताए ।
प्रतिक्रिया 4