
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वत फलेवास नगरपालिका-४ का वडाध्यक्ष अच्युत तिवारीलाई जेन-जी आन्दोलनमा भड्काउने स्टाटस लेखेको आरोपमा पक्राउ गरिएको छ।
- पक्राउ परेका तिवारीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार मुद्दा चलाइएको छ।
- आन्दोलनका क्रममा पर्वतमा सरकारी संरचना तोडफोड र आगजनी हुँदा १४ जना पक्राउ परेका छन्।
३० भदौ, पोखरा । २४ भदौको जेन-जी आन्दोलनकारीले निजी तथा सरकारी संरचना तोडफोड तथा आगजनी गरिरहेका बेला स्टाटस लेखेर भड्काउन खोजेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
आगजनी भइरहेका बेला स्टाटस लेखेर आन्दोलनकारीलाई थप उत्तेजित बनाउने कार्य गरेको आरोपमा पर्वत फलेवास नगरपालिका- ४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।
आन्दोलनकारीलाई भड्काउँदै पर्वतका प्रहरी प्रमुख डीएसपी रविन विष्ट समेतलाई कारबाही हुने बताएका वडाध्यक्ष तिवारीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको हो ।
‘देशभर जेनजी आन्दोलनका नाममा सरकारी संरचनामाथि आगो लागिरहेका थिए, पर्वतमा पनि आन्दोलनले उग्र रूप लिँदे गर्दा वडाध्यक्षबाटै भड्काउने काम भएपछि पक्राउ गरी कारबाही अगाडि बढाइएको हो,’ पर्वत प्रहरी प्रमुख विष्टले भने, ‘तिवारीविरुद्ध अनुसन्धानका लागि आज म्याद थप हुँदैछ ।’
तिवारीले पर्वतका बालुवा तस्कर, उनको संरक्षण गर्ने र कारबाहीका लागि उजुरी दिँदा नलिने पर्वत प्रहरी प्रमुख डीएसपी विष्टसमेतलाई जेन-जीले कारबाही गर्ने आशा लिएको फेसबुकमा स्टाटस लेखेका थिए ।
स्टाटस लेखेकै आधारमा डीएसपीको नाम लिएकाले प्रतिशोध साँधेर पक्राउ गरी साइबर अपराधको मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका नेताहरूले तिवारीलाई छाड्न दबाब दिइरहेका छन् ।
पर्वतमा प्रमुख ३ पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यालयहरू जलेका छन् भने पूर्वमन्त्री तथा एमाले नेता पदम गिरीको घरसमेत जलाइएको छ । कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीको घरमा सामान्य तोडफोड भएको छ ।
जेन-जी आन्दोलनलाई भड्काउने काम गरेको भन्दै तिवारीविरुद्ध प्रहरीले साइबर अपराधमा मुद्दा अगाडि बढाएको हो । आन्दोलनमा मानवीय क्षतिसमेत हुनसक्ने गरी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले स्टाटस लेखेको प्रहरीको आरोप छ ।
‘फलेवासका बालुवा तस्करहरू, तस्कारका संरक्षकहरू र कारबाही गरिपाउँ भनी पत्र बुझाउन जाँदा पत्र नबुझ्ने डीएसपी रविन विष्टलगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी, यी भ्रष्टहरूलाईसमेत जेन-जीले कारबाही गरिदिन्छ भन्ने आशा गरेको छु, प्रहरीले कारबाही नगर्ने भएपछि,’ वडाध्यक्ष तिवारीले स्टाटस लेखेका थिए ।
प्रहरीले यही स्टाटसलाई आधार बनाएर पक्राउ गरी साइबर अपराधको मुद्दा अगाडि बढाएको हो ।पर्वतमा लामो समयदेखि अवैध रूपमा कालीगण्डकी दोहन हुँदै आएको र यसको नियन्त्रणका लागि प्रहरी प्रशासनको समेत संलग्नता हुने गरेको आरोप लाग्ने गरेको छ । तर यही विषयलाई उठान गर्दै स्टाटस लेखेका तिवारीले आन्दोलनलाई भड्काउने काम गरेको भन्दै पक्राउ परेका हुन् ।
तिवारीलाई छाड्न नेपाली कांग्रेसका नेताहरूले दबाब दिइरहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले तोडफोडमा संलग्नहरूको फोटो, भिडियो उपलब्ध गराउन सार्वजनिक आह्वानसमेत गरेको छ ।
आन्दोलनका क्रममा पर्वत कारागार तोडफोड गर्ने १४ जना पक्राउ परेका छन् । पर्वत कारागारमा जम्मा ९३ जनामा केदीबन्दी थिए । आन्दोलनका क्रममा १९ जना भाग्न सफल भएका थिए । त्यसमध्ये ९ जना पक्राउ परिसकेको र थपलाई पक्राउ गर्न टोली परिचालन गरिएको डीएसपी विष्टले जानकारी दिए ।
प्रतिक्रिया 4