+
+
Shares
स्थलगत :

पोशाक र बुट लुटिए, ट्राफिक प्रहरी चप्पलमै खटिए

‘त्यो दिन प्रदर्शनकारीले पोशाक बाले । कति लुटिए । लगाउन बुट छैन,’ लोतावाल चप्पलबाट आधा कुर्कुच्चा बाहिर निस्किएको अवस्थामा सवारी व्यवस्थापनमा खटिएका देवकोटाले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ ३० गते २१:४५

३० भदौ, काठमाडौं । खुट्टामा लोतावाल चप्पल । आङमा ट्राउजर र सर्ट । अनि, ट्राफिक फ्लारेसेन्ट भिरेर सडकमा निस्किएका धर्मराज देवकोटा झट्ट हेर्दा स्वयंसेवक जस्ता देखिन्थे ।

सोमबार दिउँसो काठमाडौं तीनकुने क्षेत्रको ट्राफिक व्यवस्थापनमा बिनाबर्दी खटिएका थिए प्रहरी जवान देवकोटा । उनी सिटी फुकेर सवारी साधनको व्यवस्थापन गरिरहेका थिए ।

प्रहरी जवान देवकोटा ।

२४ भदौको जेन–जी आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनी बिनाबर्दी काममा फर्किएका हुन् ।

‘त्यो दिन प्रदर्शनकारीले पोशाक बाले । कति लुटिए । लगाउन बुट छैन । यस्तो पीडादायी अवस्थामा राजधानीको ट्राफिक व्यवस्थापनमा जुट्नु परेको छ,’ लोतावाल चप्पलबाट आधा कुर्कुच्चा बाहिर निस्किएको अवस्थामा सवारी व्यवस्थापनमा खटिएका देवकोटाले भने ।

त्यो दिन देवकोटा बग्गीखानामा कार्यरत थिए । ठूलो समूह आएर कार्यालय तोडफोड र आगजनी गर्न थाल्यो । बल्लतल्ल ज्यान जोगाएर फेरि काममा फर्किएका उनी त्यो दिन सम्झन पनि चाहँदैनन् ।

‘बगीखानामा कार्यरत थिएँ । समय त्यस्तै भयो । शब्दमा अहिले केही बोल्न सक्दिनँ,’ उनले भने, ‘पोशाक नआएसम्म बिनाबर्दीमै जनताको सेवा गर्छु ।’

०००

देवकोटा मात्र होइन, यतिबेला काठमाडौं उपत्यकाका धेरैजसो ट्राफिक प्रहरी बिनाबर्दीमै काममा खटिएका छन् । हामी तीनकुनेपछि ट्राफिक प्रहरी प्रभाग कोटेश्वर पुगेका थियौं, जहाँ जलेको भवनभित्र एउटा कोठामा टेबल राखेर काम सुरु गरिएको छ ।

त्यहाँ खटिएका प्रहरी नायब निरीक्षक प्रमोदजंग कार्की र प्रहरी जवान तानिया भट्ट पनि बर्दीबिना नै काममा खटिएका छन् । उनीहरू पनि त्यो दिन सडकमा ट्राफिक व्यवस्थापनमै व्यस्त थिए । सडकमै आक्रमण हुन थालेपछि उनीहरू कार्यालयमा फर्किएका थिए ।

प्रहरी नायब निरीक्षक प्रमोदजंग कार्की र प्रहरी जवान तानिया भट्ट

‘जडिबुटी र बालकुमारीबाट ठूलो समूह आयो । कार्यालयको गेट अगाडि आएर नाराबाजीसँगै तोडफोड भयो । नजलाउन र नफुटाउन बिन्ती गर्‍यौं तर भिडले सुनेन,’ प्रहरी नायब निरीक्षक कार्कीले भने, ‘प्रदर्शनकारीले हामीमाथि नै हातपात गर्न थाले । पोशाक जलाइयो, लुटियो । लत्ताकपडा केही झिक्न पाएनौं ।’

ट्राफिक प्रहरीले आफ्नो तलब पनि साथैमा राखेका थिए, त्यो पनि झिक्न पाएनन् । ‘बर्दी खोलेर सिभिलमा पछाडिबाट बाहिर निस्किएर ज्यान जोगायौं,’ उनले भने ।

ट्राफिक प्रहरी जवान भट्ट पनि २४ गते बर्दीमा ट्राफिक व्यवस्थापन गर्न सडकमै थिइन् । सडकमा असुरक्षित भएपछि उनी कार्यालयमा आएकी थिइन् ।

प्रहरी जवान तानिया भट्ट

‘हामीसँग बर्दी र सिटीबाहेक केही पनि हुँदैन । ज्यान जोगाउन कार्यालयमा आएको थिएँ,’ त्यो कहालीलाग्दो दिन सम्झिँदै उनले भनिन्, ‘कार्यालयमा बर्दी फुकालेर भाग्नुपर्ने स्थिति बन्यो ।’

सबै ट्राफिक प्रहरीले बर्दी फुकालेर पछाडिपट्टिबाट भागेर आफ्नो ज्यान त जोगाए, तर कार्यालय जलेर नष्ट भयो । ‘आगोले जलेर केही पनि बाँकी छैन,’ भट्टले भनिन् ।

०००

जेन–जी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वर संसद् भवन अगाडि ट्राफिक प्रहरी जवान मशेह दयाल पनि सोमबार बिनाबर्दीमा भेटिए । २३ र २४ गते बानेश्वर रणमैदान बनेको थियो । रक्तपात भएको थियो । त्यही सडकमा उभिएर दयाल ट्राफिक जामलाई व्यवस्थापन गरिरहेका थिए । उनी ट्राउजर र टिर्सट लगाएर काममा खटिएका छन् । ‘बर्दी जलेर खरानी भयो । यही लगाएको मात्र बाँकी हो,’ उनले भने ।

त्यो दिन उनी ट्राफिक परिसमा थिए । ४०–५० जना ट्राफिक प्रहरीको टोली थियो । तर थेग्नै नसक्ने गरी प्रर्दशनकारीको समूह परिसरमा प्रवेश गर्‍यो । उनीहरूले भागेर ज्यान जोगाउनुपर्ने स्थिति बन्यो ।

ट्राफिक प्रहरी जवान मशेह दयाल

‘एक्कासि भिड आयो । केही झिक्न पाएनौं । आक्रमण हुन थालेपछि सिभिल ड्रेस लगाएर ज्यान जोगायौं,’ उनले भने, ‘बर्दी बिना नै सेवामा फर्किएका छौँ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कति ट्राफिक प्रहरीको सामग्री जलेर नष्ट भयो यकिन तथ्यांक संकलन हुन सकेको छैन । तर उनीहरूका लागि पोशाक सिलाउने काम सुरु भएको छ ।

‘पोशाक सिलाउन दिएका छौँ,’ एसएसपी नवराज अधिकारीले भने । दुई दिन अशान्त बनेको काठमाडौंका सडकमा उच्च मनोबल बोकेर ट्राफिक प्रहरी जनताकै सेवामा फर्किएका छन् । ‘रातपछि उज्यालो हुन्छ । पुनः जोशका साथ कार्यालय स्थापना गरेर जनताको सेवामा छौँ । शून्यबाट फेरि माथि पुर्‍याउछौँ,’ प्रहरी नायब निरीक्षक कार्की आशावादी हुन्छन् ।

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?