+
+
Shares

‘विद्रोह जेन–जीको, सरकार जेन–एक्सको’ भन्दै विप्लवले जनाए विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २२:०८

३० भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र जनताको अपेक्षा विपरीत बन्न पुगेको छ ।’

उनले थप भनेका छन्, ‘विद्रोह जेनजीको सरकार जेन एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ ।’

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने सुझाव पुगे पनि यसलाई जानाजान बेवास्ता गरिएको विप्लवले बताएका छन् । त्यसैले राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने उनको भनाइ छ ।

‘कसको दबाब वा इसारामा यो गरियो विषय रहस्यपूर्ण छ,’ विप्लवले भनेका छन्, ‘परन्तु यसमा गैरदलीय, गैर वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ ।’

उनले अहिले सरकार र मन्त्रीमण्डल मात्र नभई राज्यको पुनर्संरचना र संविधानको पुनर्लेखन चाहिएको बताएका छन् ।

‘पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमै सचेत बनौं,’ विप्लवले भनेका छन्, ‘देशका सामु खडा भएका राष्ट्रिय स्वाधिनताको विशेष चुनौतिलाई गम्भीरतापूर्वक आत्मसाथ गरौं ।’

उनले देशको स्वाधिनता, आत्मनिर्भरता, जनअधिकार र नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दारीपूर्वक डटिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?