+
+
Shares
विचार :

जेनजी उमेर समूह कि सोच ?

जेनजी पुस्ताको अभियानलाई सतहमा हेर्दा आफू समेतको सहभागिता र संलग्नतामा मुलुकलाई उठाउने देखिन्छ भलै उनीहरूसँग कुनै वाद, विचार, वाक्पटुता वा कुनै जडवत् सिद्धान्तहरू नहोऊन् ।

डा. जनार्दन विष्ट डा. जनार्दन विष्ट
२०८२ असोज १ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सामाजिक सञ्जालमाथि लगाएको रोक र भ्रष्टाचार विरुद्ध जेनजी युवाहरूको गैरराजनीतिक प्रदर्शनले २४ घण्टाभित्रै बृहत् आन्दोलनको रूप लियो।
  • आन्दोलनपछि पाँच दिनभित्रै अन्तरिम सरकार गठन र संसद् विघटन भएको छ, जसमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा फागुन २१ मा आम निर्वाचन गर्ने म्यान्डेट छ।
  • जेनजी युवाहरूको आन्दोलनले वर्तमान संविधान र संसद्को फ्रेमवर्कभित्र समाधान खोज्ने र भ्रष्टाचार अन्त्य गर्ने नयाँ राजनीतिक दर्शनको सुरुवात गरेको छ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको रोक र मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा जेनजी युवाहरूको पहल, सक्रियता र सहभागितामा शुरु भएको एउटा गैरराजनीतिक प्रदर्शनले २४ घण्टा नबित्दै बृहत् आन्दोलनको रूप लियो । आन्दोलन शुरु भएको पाँच दिनभित्रै अन्तरिम सरकार गठन र संसद् विघटन जस्तो राजनीतिक कोर्ष पूरा भएको छ ।

यति छोटो समयमै भएको यो स्तरको परिवर्तन नेपालको लागि मात्र होइन विश्वमै विरलै हुने घटनाका रूपमा दर्ज भएको छ । यद्यपि हाम्रै छिमेकी राष्ट्रहरू श्रीलंका र बंगलादेशमा पनि तीव्र जनआक्रोशले गैरराजनीतिक प्रदर्शनहरू सत्ता परिवर्तनसम्म नपुगेका भने होइनन् ।

प्रदर्शन मत्थर पार्न प्रदर्शनकारी युवाहरूले राखेका दुई महत्वपूर्ण मागमध्ये सरकारले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने माग त पूरा गरेको थियो तर, अर्काे मागका रूपमा रहेको दशकौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य फगत प्रतिबद्धताले मात्र सम्बोधन गर्न सक्ने कुरा भएन ।

हो, त्यही मागले युवाहरूको प्रदर्शनलाई यो गम्भीर राजनीतिक कोर्ससम्म डोर्‍याएको देखिन्छ । तत्कालको पृष्ठभूमिमा यो देखिए पनि आम जनतामा राजनीतिक दल, तिनका नेतृत्व र कार्यशैलीप्रति देखिएको चरम असन्तुष्टिले समग्र व्यवस्था र वर्तमान राजनैतिक प्रणाली नै संक्रमित भई त्यसमा जनताको विश्वास अड्न नसकेपछि परिस्थिति यो मोडमा पुगेको कुरा पनि विदितै छ ।

अब अन्तरिम सरकारले पूरै व्यवस्था र प्रणाली बदल्ने कुरा त भएन तर वर्तमान संविधानकै जगमा टेकेर जनताको नयाँ स्थायी म्यान्डेट प्राप्त गरी त्यो अनुरूप जाने वातावरण भने तय गर्नेछ, त्यसका लागि फागुन २१ गते आम निर्वाचन गराउने म्यान्डेट सहित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारका विस्तृत कार्ययोजना एवं कार्यतालिका सार्वजनिक हुन बाँकी नै छ ।

राजनीतिशास्त्रका पण्डितहरूले यसलाई अलग्गै राजनीतिक दर्शनका रूपमा अगाडि बढाउन जेनजी पुस्ताको सोचलाई खोतल्नुपर्ने देखिन्छ ।

त्यो आउला नै, अहिले त्यतापट्टि नजाऔं । यहाँ चर्चा गर्न खोजिएको कुरा चाहिं के हो भने जब युवाहरूको प्रदर्शनले आन्दोलनको स्वरूप ग्रहण गरी मुलुकमा एकखालको राजनीतिक परिवर्तन ल्याइसकेको अवस्थामा जेनजी सोच र दृष्टिकोण के होला, आगामी अन्तरिम अवधिको व्यवस्थापन कसरी होला, परम्परावादी कार्यशैली कसरी परिवर्तित सन्दर्भ अनुसार अघि बढ्ला र यो आन्दोलन मार्फत युवाहरूले परिकल्पना गरेको नयाँ नेपालको सपना कसरी साकार हुनसक्ला भन्ने नै हो ।

यो परिघटनालाई राजनीतिशास्त्रका सिद्धान्तहरूको कसीमा विश्लेषण गर्ने हो भने हरेक राजनीतिक परिवर्तन लगत्तै एक खालको प्रकट वा अप्रकट द्वन्द्व वा विरोधाभास शुरु भइहाल्छ । जसलाई राजनीतिक दलहरूले प्रयोग गर्ने गरेका शब्दहरूमा भन्ने हो भने यथास्थितिवादी वा प्रतिक्रियावादी सोच र अग्रगामी वा परिवर्तित सोच बीचको द्वन्द्व ।

तसर्थ, जेनजी युवाहरूको आन्दोलनलाई यही कसीमा जाँच्ने हो भने यहाँ पनि यही सिद्धान्त लागू हुन्छ । वर्तमान संविधान र संसद्कै फ्रेमवर्कबाट समाधान खोजिनुपर्छ भन्नेहरू र संविधान एव संसद् विघटन गरेर नयाँ ढंगले जानुपर्छ भन्नेहरू बीचको द्वन्द्व, यद्यपि मुलुक संविधान विहीनताको अवस्थामा जान नसक्ने भएकोले मुलुकको संविधान भने अहिले बहाल रहेकै अवस्था विद्यमान छ । त्यसैले, यही परस्पर विरोधी विचार नै आगामी अन्तरिम सरकार र जेनजी युवाहरूका लागि प्रमुख चुनौतीको रूपमा देखा परेको छ ।

आन्दोलनका क्रममा भएको जनधनको क्षति, त्यसको जवाफदेही, नेपाली सेना लगायतका सुरक्षा निकाय र राज्यका अन्य निकायहरूको भूमिका लगायत कतिपय विषयहरूमा विस्तारै समीक्षा हुँदै जाला । तर अहिले यो संक्रमणकालको व्यवस्थापन र यसबाट भविष्यमा प्राप्त हुने समाधानको दिगोपनाको सुनिश्चितता महत्वपूर्ण सवालको रूपमा खडा भएको देखिन्छ ।

यो किन पनि बढी चुनौतीपूर्ण देखिन्छ भने, यो स्तर र शैलीको परिवर्तन न कुनै बनिबनाउ राजनीतिक सिद्धान्त वा विचारमा आधारित छ न कुनै चामत्कारिक नेतृत्वमा । तसर्थ, राजनीतिशास्त्रका पण्डितहरूले यसलाई अलग्गै राजनीतिक दर्शनका रूपमा अगाडि बढाउन जेनजी पुस्ताको सोचलाई खोतल्नुपर्ने देखिन्छ ।

राजनीतिक लगायत कुनै पनि सिद्धान्तहरूको निर्माण मुख्यत: दुई किसिमबाट हुनसक्छ: पहिलो कुनै महान् दार्शनिकबाट सृजित वा प्रतिपादित विचारलाई व्यवहारमा परीक्षण गरेपश्चात् र दोस्रो पहिले नै प्राप्त नतिजा वा व्यवहारलाई पछि सैद्धान्तीकृत गरेर । अब नेपालको यो घटनालाई दोस्रो कोटिमा राखेर विश्लेषण गर्नुपर्ने हुन्छ, जो राजनीतिशास्त्रका अध्येताहरूले ढिलो–चाँडो गर्ने नै छन् । यो लेखको चासो भनेको यसलाई सैद्धान्तिकृत गर्ने आधारहरू के–के हुन सक्लान् भन्ने बहस प्रारम्भ गर्नु मात्र हो ।

शाब्दिक रूपमा जेनजीले उमेर समूह अनुसार विभाजन गरिएका विभिन्न पुस्ताहरूमध्ये सन् १९९७ देखि २०१२ सम्म जन्मेकाहरू अर्थात् १३ देखि २८ वर्ष उमेर समूहका युवाहरू र उनीहरूको अभियानलाई जनाउने भए पनि राज्य सञ्चालन, नीतिनिर्माण लगायत सबै तह र तप्कामा उनीहरूको मात्र प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भन्ने पनि होइन र त्यो सम्भव पनि छैन ।

अभियानका अग्रणी जेनजी युवाहरूको सिफारिस र राष्ट्रपति, नेपाली सेना एवं प्रमुख राजनीतिक दलहरूको समेत समर्थनमा उमेरले ७० कट्नुभएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुखमा नियुक्त हुनुभएपछि केही कोणहरूबाट उहाँ जेनजी समूहमा नपर्ने भनी प्रतिक्रिया आएको पनि देखिन्छ । तर यो समग्र अभियानको भावना वा जोड जेनजी समूहको भौतिक प्रतिनिधित्व मात्र भन्दा पनि जेनजी सोचको अवलम्बन र प्रवर्द्धनमा रहेको कुरा उहाँको नियुक्तिबाट देखिन्छ ।

शुरुदेखि नै मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिमा जेनजी सोचको पक्षधरता लिंदै आउनुभएकी कार्कीले उनीहरूको प्रदर्शनमा त खुलेरै साथ दिनुभयो ।

जेनजी पुस्ताका रूपमा मुलुक निर्माण गर्ने उत्कट इच्छा बोकेर उदाउँदै गरेका अहिलेका केही प्रतिनिधि पात्रहरूको सार्वजनिक अभिव्यक्तिहरूलाई ध्यान दिने हो भने उनीहरूको जोड फगत राजनीतिक सिद्धान्त र जडता भन्दा नागरिकको जीवन उकास्ने व्यावहारिक समाधानमा केन्द्रित देखिन्छ ।

तसर्थ जेनजी सोच भएका जुनसुकै उमेर समूह, अभियान, क्षेत्र र राजनीतिक दलका मानिसहरू समेत अहिलेको परिवर्तित अभियानमा समाहित हुनसक्ने र त्यसो भए मात्र समग्रतामा अपेक्षित परिणाम हासिल हुने देखिन्छ । त्यसको लागि प्रविधिप्रेमी, व्यावहारिक, मूल्यमान्यतामा अडिग र सामाजिक चेत भएको, सृजनात्मक, सहयोगी भावना, विश्व जनसमुदायसँग जोडिन रुचाउने जस्ता विशेषता रहेका भनिएको यो पुस्तासँग काम गर्न अरू पक्षले त्यही शैली अपनाउने हो भने आगामी दिनमा यो संक्रमणले सहज निकास पाउन सक्ने देखिन्छ । हुनत प्रदर्शनका क्रममा भएका उद्दण्डता र सार्वजनिक सम्पत्तिको विध्वंसलाई लिएर जेनजी पुस्ता र उनीहरूले गरेको प्रदर्शनको आलोचना शुरु नभएको पनि होइन (भलै उनीहरूले त्यो आफूहरूको उद्देश्य नरहेको बताउँदै आएका छन्), तर पनि बदलिंदोे परिस्थिति अनुसार सबै पक्ष आपसी सहकार्यमा जानु नै सबैका लागि हितकर देखिन्छ ।

उनीहरूले अबको कोर्स भ्रष्टाचारलाई जरैदेखि फाल्ने र सुशासनयुक्त राष्ट्र निर्माण गर्ने बताइरहँदा त्यसको सुनिश्चितताका लागि संविधानमा गर्नुपर्ने संशोधन वा पुनर्लेखनलाई विधिसम्मत ढंगले अघि बढाउनका लागि पनि जनताको नयाँ जनादेश सहितको संसद् त कुर्नुपर्ने नै हुन्छ र त्यहाँ उनीहरूको सोच र भिजनसँग तादात्म्यता राख्ने दल वा उम्मेदवारहरू आउन जरूरी हुन आउँछ ।

यसर्थ आगामी निर्वाचनमा भाग लिने नयाँ पुराना दलहरू भित्र जेनजी पुस्ताको सोच र दृष्टिकोणको प्रवर्द्धन गर्ने प्रयास पनि उनीहरूको मुख्य प्राथमिकतामा पर्नुपर्ने हुन्छ । त्यसो भए जेनजी पुस्ताको यो अभियानको सोच वा दृष्टिकोण के होला त ?

जेनजी पुस्ताका रूपमा मुलुक निर्माण गर्ने उत्कट इच्छा बोकेर उदाउँदै गरेका अहिलेका केही प्रतिनिधि पात्रहरूको सार्वजनिक अभिव्यक्तिहरूलाई ध्यान दिने हो भने उनीहरूको जोड फगत राजनीतिक सिद्धान्त र जडता भन्दा नागरिकको जीवन उकास्ने व्यावहारिक समाधानमा केन्द्रित देखिन्छ ।

यस्ता सोचका केही उदाहरणमा कुनै वेला समावेशी समाज वा राज्य निर्माणका लागि निकै अग्रगामी मानिएको कुनै जाति, वर्ग वा क्षेत्रलाई दिइने विशेष सुविधा वा आरक्षणको नीतिलाई जेनजी सोचले पुरातनवादी सोचका रूपमा लिई क्षमता वा मेरिटोक्रेसीको वकालत गरेको देखिन्छ । अघिल्ला राजनीतिक आन्दोलनका इतिहास र त्यसमा पुरातनवादी दल तथा नेताहरूले पुर्‍याएको भनिएको योगदानमा उनीहरूको खासै रुचि देखिंदैन ।

यो पुस्ता राष्ट्रवादी भावबाट अलि बढी नै ओतप्रोत पनि देखिन्छ ।

उनीहरूले अहिलेको अवस्थामा राजनीतिक दल एवं राज्य सञ्चालनका निकायहरूमा युवाहरूको प्रवेशलाई जोड दिएको देखिन्छ । राज्य संयन्त्र जनताको करमा निर्भर रहेकोले उनीहरू पूर्णत: जनसेवामा केन्द्रित र जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यता राखेको देखिन्छ ।

राजनीतिक दल र राज्य सञ्चालनका विभिन्न तहमा रहनेहरूको शैक्षिक स्तर निर्धारण हुनुपर्ने, राज्य सञ्चालनको पुरातनवादी कार्य प्रणाली चुस्तदुरुस्त र प्रविधिमैत्री हुनुपर्ने एवं कार्य प्रणाली प्रक्रिया उन्मुख भन्दा नतिजामूलक हुनुपर्छ भन्ने उनीहरूको भावना देखिन्छ ।

यो पुस्ता राष्ट्रवादी भावबाट अलि बढी नै ओतप्रोत पनि देखिन्छ । मुलुक निर्माण र विकासका क्रममा प्राकृतिक वातावरण कायम राख्नुपर्ने सोच राख्ने यो पुस्ताले नागरिक र समग्र मुलुकको समृद्धिका लागि कस्तो मोडल चाहन्छ ? मुलुकको राष्ट्रिय एकता, अखण्डता, विदेश नीति, शिक्षा, स्वास्थ्य, दैनिक जनजीवन, सामाजिक–सांस्कृतिक क्षेत्रमा कस्तो धारणा राख्छ ? र के सुधारको अपेक्षा गरेको छ, ती कुराहरू अझै आउन बाँकी नै छन् ।

यो पुस्ताको अभियानलाई सतहमा हेर्दा आफू समेतको सहभागिता र संलग्नतामा मुलुकलाई उठाउने देखिन्छ भलै उनीहरूसँग कुनै वाद, विचार, वाक्पटुता वा कुनै जडवत् सिद्धान्तहरू नहोऊन् ।

नेपालको पछिल्लो जनगणनाको तथ्याङ्क हेर्ने हो भने कुल जनसंख्याको १९.७ प्रतिशत अर्थात् ५७ लाख जनसंख्या १५ देखि २४ वर्ष उमेर समूहमा पर्दछ जसले मूलत: जेनजी समूहकै प्रतिनिधित्व गरेको पाइन्छ । यसको अर्थ जेनजीको अभियान यो समूहको हितमा मात्र केन्द्रित हुने भन्ने पनि होइन, बरु समग्र जनसंख्याको हितका लागि नेतृत्व लिनु हो । तसर्थ, सबै पुस्ताको समग्र हितका लागि जेनजी समूहको यो अन्तरिम सरकारले कस्तो मार्गचित्र कोर्ला, त्यो हेर्न अब धेरै दिन कुर्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?