
२ असोज, काठमाडौं । नेपाल राष्ट्र बकैंले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो । उक्त निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । हाल प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकत गर्छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।
त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
जेन्जी युवाहरूको आन्दोलन, तोडफोड र आगजनी पछि बैंक तथा वित्तीय संस्थाहरू केही दिन बन्द रहे । त्यसले गर्दा पनि केन्द्रीय बैंकलाई मौद्रिक व्यवस्थापनमा अफठ्याराहरू देखिएका थिए ।
केन्द्रीय बैंकले प्रणालीको तरलता खिच्ने संयन्त्र सक्रिय राख्न नसक्दा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको थियो । साथै जेन्जी आन्दोलनका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि बढेको देखिन्छ ।
यो साताको मंगलबारसम्म केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मौज्दात छ । सो मौज्दात रकम मध्ये स्थायी निक्षेपको ४ खर्ब ४ अर्ब हो भने निक्षेप संकलनको २ खर्ब ६६ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4