
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी पुस्ताको आन्दोलनको नाममा राज्यका तीन अंगमाथि सुनियोजित आक्रमण भएको बताएका छन्।
- मुख्यमन्त्री बानियाँले प्रदेशसभामा भएको आगजनी र तोडफोडको पुनर्निर्माण दशैंपछि हुने संकेत गरेका छन्।
- प्रदेशसभामा सभामुखको राजीनामा र उपसभामुख पदासिन हुँदा बैठक सञ्चालनमा असर पर्ने मुख्यमन्त्री बानियाँले बताएका छन्।
२ असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी पुस्ताको आन्दोलनको नाममा घुसपैठ भएको बताएका छन् ।
बागमती प्रदेशसभा सहितका अन्य सरकारी संरचनामा भएको क्षतिको निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले जेनजी युवाहरूको प्रदर्शनको मौका छोपेर राज्यका तीन अंग र गणतन्त्रमाथि नै सुनियोजित आक्रमण भएको बताएका हुन् ।
‘जेनजीको केही आफ्ना मागहरू, भ्रष्टाचारका कुराहरू, सुशासनका कुराहरू र चैं नयाँ पुस्ताले जेनजीले माग राखेर प्रदर्शन गरेकोक्रममा देशभरी सुनियोजित तरिकाले ठूलो जिउधनको क्षति भएको छ, व्यवस्थापिका, न्यायपालिका कार्यपालिका र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो कि भन्ने हाम्रो बुझाइ छ,’ उनले भने ।
विद्यमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेर मुलुकलाई निकास दिएको बताए ।
उनले आगजनी र तोडफोड भएको प्रदेशसभाको पुनर्निर्माण दशैंपछि नै हुने संकेत गरे ।
‘यो प्रदेश सभालाई अब हामी चाँडोभन्दा चाँडो व्यवस्थित गरेर चाडपर्वपछि तत्कालै यसकोबारे कसरी अगाडि बढ्ने निर्णय गर्छौं,’ उनले भने ।
बागमती प्रदेशसभाका सभामुखले राजीनामा दिएकोबारे सञ्चारकर्मीले सोधेका प्रश्नमा उनले प्रदेश सभामा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने बताए ।
अहिले पनि उपसभामुख पदासिन रहेकाले प्रदेशसभा बैठक सञ्चालनमा असर पर्ने उनको भनाइ छ ।
निरीक्षणमा मुख्यमन्त्री बानियाँसँगै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री, शिवराज अधिकारी, खानेपानीमन्त्री कृष्ण तामाङ, प्रदेश प्रमुख सचिव भुपाल बराललगायत सहभागी थिए ।
प्रतिक्रिया 4