News Summary
Generated by OK AI. Editorially reviewed.- सुपर मारियो ब्रदर्सले सन् १९८५ मा जापानको निन्टेन्डो कन्सोलमा पहिलोपटक रिलिज भई ४० वर्ष पूरा गरेको छ।
- मारियो पात्रलाई निन्टेन्डोका मालिक मारियो सेगालेको नामबाट नामाकरण गरिएको थियो र यो पात्र २५० भन्दा बढी गेममा देखिएको छ।
- मारियो गेम विश्वभर करिब ४ करोड प्रति विक्री भइसकेको छ र यसको संगीत तथा साउन्ड इफेक्ट्सले लोकप्रियता बढाएको छ।
सुपर मारियो ब्रदर्सले ४० वर्ष पूरा गरेको छ ।
यो एउटा विश्वप्रसिद्ध भिडियो गेम हो । पहिलो पटक सन् १९८५ मा जापानको निन्टेन्डो कन्सोलमा यो गेम आएको थियो । विस्तृतमा भन्दा निन्टेन्डोको आर्केड गेम ‘डङ्की कङ’मा ‘जम्पम्यान’को रूपमा आएको थियो । पछि सन् १९८५ मा आएको ‘सुपर मारियो ब्रदर्स’ गेमबाट भने मारियो विश्वभरि नै चर्चित भएको थियो ।
त्यसपछि अहिलेसम्म यो संसारभर करिब ४ करोडभन्दा धेरै प्रति विक्री भइसकेको छ । यो गेम अहिलेसम्मकै सबैभन्दा लोकप्रिय भिडियो गेम मध्येको एक पनि हो ।
मारियो एउटा लोकप्रिय भिडियो गेमको पात्रको नाम हो । रातो टोपी, निलो पोसाक लगाएको सानो, मोटो र जुङ्गा भएको यो पात्रको मुख्य प्लम्बर हो । जसलाई जापानी भिडियो गेम डिजाइनर शिगेरू मियामोटोले निर्माण गरेका थिए ।
अहिलेसम्म मारियो २५० भन्दा बढी गेममा देखिएको छ । सन् १९८३ मा रिलिज भएको मारियो ब्रदर्स (जसमा उसका भाइ लुइगी पनि छन्) देखि सन् १९९२ मा आएको मारियो कार्ट सिरिजसम्ममा मारियोलाई देख्न सकिन्छ ।
त्यस्तै मारियो गेममा मात्र नभएर खेलौना, टिसर्ट, फिल्म लगायत थुप्रै माध्यममा पनि बजारमा आएको छ ।
गेमको नाम ‘मारियो’ कसरी रह्यो ?
मारियोको चर्चा सुरुमा अहिलेको जस्तो थिएन । निर्माणका क्रममा ‘मारियो’ अर्कै स्वरूपमा थियो । त्यसबेला उसको नाम जम्पम्यान थियो । जो एक सिकर्मी थियो र उसको मुख्य काम प्रेमिका पौलिनलाई बचाउनु थियो।
डङ्की कङमा आउनुअघि यो पात्रलाई जापानी भाषामा ओसान भनिन्थ्यो। पछि उसको नाम ‘मिस्टर भिडियो’ राखियो । अन्ततः निन्टेन्डोको अमेरिकी मुख्यालयका मालिक मारियो सेगालेको नामबाट यो पात्रको नाम ‘मारियो’ रहन गयो ।
मारियोका निर्माता मियामोटोले एक यस्तो नायकको कल्पना गरेका थिए, जो विभिन्न गेममा क्यामियो (छोटो भूमिका) गर्न सकोस् । त्यसका लागि मारियोलाई ८ बिटमा डिजाइन गरिएको थियो।
मारियो ब्रदर्स (१९८३) को आर्केड रिलिज हुनुअघि उसको पहिचान परिवर्तन गरियो । ऊ सिकर्मीबाट एक इटालियन अमेरिकी प्लम्बर बन्यो । त्यसपछि उसको काम प्लम्बर बन्यो ।
मारियोको लोकप्रियता
सन् २०१५ मा मारियोका जन्मदाता मियामोटोले एक अन्तर्वार्तामा मारियो यति लोकप्रिय हुनुको कारण सामान्यतया हरेक मानिसको जीवनमा हुने घटना मारियो गेममा हुनु बताएका थिए ।
‘सबैलाई उचाइबाट खस्ने डर हुन्छ । यदि अगाडि खाल्डो छ भने सबैजना दौडेर त्यसलाई नाघ्ने कोसिस गर्छन् । यिनै सरल अनुभव र पात्रलाई चलाउन सक्ने अन्तरक्रियात्मक प्रकृति, साथै स्क्रिनमा त्यसको तत्कालै देखिने प्रभावले मानिसहरूको मन छोयो,’ मारियो पात्रबारे मियामोटोले भनेका थिए ।
त्यस्तै मारियोको संगीत र साउन्ड इफेक्ट्स पनि गेमका लागि महत्त्वपूर्ण सावित भए । संगीतकार कोजी कोन्डोको प्रसिद्ध धुन र मुभमेन्ट इफेक्ट्स सुपर मारियो ब्रदर्स (१९८५) देखि नै उसको हरेक यात्राको हिस्सा रहेका छन् । अमेरिकी भ्वाइस एक्टर चार्ल्स मार्टिनेटले मारियोको कार्टुनी क्याचफ्रेज (लेट्स-अ-गो!) लाई लोकप्रिय बनाइदिए।
यसरी मारियोको संगीत सबै उमेरका लागि सहज पनि बन्यो । जसले हरेक प्रकारका दर्शकलाई निरन्तर जोडेर राखिरह्यो ।
हरेक अवतार बेजोड
तर, हरेक गेममा मारियोको रूप फेरिँदै आएको छ । उदाहरणका लागि, सन् १९८५ को सुपर मारियो ब्रदर्समा मारियोले च्याउ खाँदा जिउ ठूलो हुन्थ्यो र नयाँ शक्ति पाउँथ्यो।
त्यसपछि मारियोका हरेक अवतार बेजोड हुँदै आइरहे ।
चाहे त्यो सुपर मारियो ब्रदर्स ३ (१९८८) मा उड्ने तानुकी (जापानी र्याकुन कुकुर) होस् या सुपर मारियो ग्यालेक्सी (२००७) मा मौरी अथवा सुपर मारियो थ्रीडी वर्ल्ड (२०१३) मा बिरालोको पात्र ।
डाक्टर मारियो (१९९०) को पजल गेमदेखि कलाकार, संगीतकार (मारियो पेन्ट, १९९२) होस् या खेलाडी (रेसिङ, फुटबल, टेनिस) सम्म मारियो भूमिका निरन्तर बदलिरह्यो । सुपर मारियो ओडिसी (२०१७) मा त मारियोको टोपीले नै छुट्टै जीवन पायो ।
यसबीच मारियोलाई साथ दिने पात्रहरूको संख्या पनि बढ्दै गयो । चाहे यी पात्रहरू आफ्नै गेममा मुख्य भूमिकामा किन नआऊन्, उनीहरू मारियोसँगै जोडिएका हुन्थे । जस्तै: भाइ (लुइगी), साथी (प्रिन्सेस पीच, योशी) वा प्रतिद्वन्द्वी (डङ्की कङ, बाउजर, वारियो) आदि ।
ठूलो पर्दामा सानो पात्र
भिडियो गेमका लोकप्रिय पात्रहरूलाई फिल्ममा उतार्नु प्रायः निर्माताका लागि जोखिमपूर्ण काम भएको छ ।सोनिक द हेजहग जस्ता पछिल्ला फिल्महरू बक्स अफिसमा सफल हुन सकेनन् । सन् १९९३ मा आएको लाइभ एक्सन सुपर मारियो ब्रदर्स फिल्म पनि ठूलो पर्दामा नराम्ररी फ्लप भएको थियो ।
मारियोको भूमिका खेलेका प्रसिद्ध अभिनेता बब हस्किन्सले सन् २००७ मा त्यस फिल्मलाई आफ्नो करियरको ‘सबैभन्दा खराब फिल्म’ भनेका थिए । नयाँ सुपर मारियो ब्रदर्स मुभी पनि रिलिज हुनुअघि नै विवादमा परेको थियो । फिल्ममा मारियोको लागि हलिउड स्टार क्रिस फ्रयाटको आवाजलाई लिएर फ्यानहरूले असन्तोष जनाएका थिए ।
तर यति हुँदाहँदै पनि मारियो पात्र भने सबैको प्यारो भइरह्यो । अझ गेममा मात्र नभई इन्टरनेटका मीमदेखि कलाका अन्य माध्यमहरूमा पनि मारियो देखा परिरह्यो । अझ भन्दा मारियो एउटा पुस्ताको अभिन्न अङ्ग नै बन्यो ।
प्रतिक्रिया 4