+
+
Shares

वीरगञ्जको बजेट पुन:निर्माणतर्फ संशोधन, आलम परिवारलाई ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १२:५८

४ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुन:निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुन:निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेको थियो ।

नगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुन:निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो ।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गरेका थिए ।

महानगरको १७औं नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुन:निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।

यसरी संशोधनपश्चात करिब ३० करोड रुपैयाँ पुन:निर्माणका लागि उपलब्ध हुने भएको छ । संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ ।

त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

यसरी संशोधित बजेटमार्फत तत्काल नगर पुन:निर्माण, भौतिक संरचना पुन:स्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?