
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका कारण दशैं–तिहारको अटोमोबाइल बजार सुनसान भएको छ र व्यवसायीले अर्बौं रुपैयाँको क्षति बेहोरेका छन्।
- देशभरि भएको हिंसात्मक प्रदर्शनले थापाथली क्षेत्रका प्रमुख शोरुमहरू आगजनी र तोडफोडबाट पूर्णरूपमा ध्वस्त भएका छन्।
- अटो व्यवसायीहरूले राजनीतिक अस्थिरता र सुरक्षा अभावका कारण व्यापारमा जोखिम बढेको र लगानीमा निरुत्साहित भएको बताएका छन्।
५ असोज, काठमाडौं । नेपाली अटोमोबाइल बजारका लागि दशैं र तिहार सधैं विशेष हुन्छ । यसअघिका वर्षहरूमा चाडपर्व मुखैमा गाडीका शोरुमहरूमा ग्राहकको घुइँचो लाग्थ्यो, एक किसिमको उत्सव नै चल्थ्यो ।
विक्रेताहरूले ग्राहकको ध्यान तान्न चाडपर्व लक्षित विशेष अफरहरू सार्वजनिक गर्थे । त्यस्ता अफरले ग्राहकका ध्यान भरपुर मात्रामा तान्ने गर्थ्यो ।
विक्रेताहरूलाई ग्राहक व्यवस्थापन र धमाधम गाडी बिक्री गर्न भ्याइ नभ्याइ हुन्थ्यो । यो समयलाई अटो बजारको ‘गोल्डेन सिजन’ मानिन्थ्यो, जहाँ वर्षभरि आधाभन्दा बढी व्यापार हुने गर्थ्यो र समग्र बजारमा बेग्लै ऊर्जा देखिन्थ्यो ।
तर विडम्बना, जेनजी आन्दोलनका कारण यसपालिको अवस्था बिलकुल फरक छ । मुख्य व्यापारिक सिजनमै अटो बजारको चमक फिक्का बनेको छ । जहाँ चहलपहल हुनुपर्ने हो, त्यहीँ अहिले सुनसान छ । बिक्रीको दौडमा हुनुपर्ने सवारी विक्रेताहरू विभिन्न समस्यासँग जुध्न बाध्य छन् ।
चाडपर्वमा नयाँ गाडी चढ्ने सपना देख्ने ग्राहकको अभावमात्र होइन, बजारमा देखिएको सुस्तताले व्यवसायी समेत हैरान छन् । विगतको उत्साह र यसपालिको निराशाबीच ठूलो खाडल देखिएको छ, जसले अटो बजारको भविष्यलाई लिएर चिन्ता थपिदिएको छ ।
२३ र २४ भदौमा देशभरि मच्चिएको हिंसात्मक प्रदर्शनले दर्जनौं सवारीसाधनका शोरुमलाई निशाना बनायो, जहाँ आगजनी र तोडफोडका कारण व्यवसायीले अर्बौं रुपैयाँको क्षति बेहोर्नुपरेको छ ।
अटोमोबाइल व्यापारको केन्द्र मानिने थापाथली क्षेत्र अहिले सुनसान देखिन्छ । कहिले ग्राहकको भिडले भरिभराउ हुने यस क्षेत्रका अधिकांश शोरुम अहिले आगोले खण्डहरमा परिणत भएका छन् ।
सीजी मोटर्सका एक्सपेङ र एवोन, सुजुकी, महिन्द्रा, टाटाजस्ता स्थापित ब्रान्डका शोरुमहरू पूर्णरूपमा जलिसकेका छन् भने हुन्डाई र सिट्रोन लगायत शोरुममा पनि ठूलो तोडफोड भएको छ ।
नयाँ गाडी बिक्री गरेर वर्षभरिको व्यापारको ठूलो हिस्सा उठाउने सिजनमै व्यवसायीलाई अहिले ध्वस्त भएका संरचना पुनर्निर्माण गर्ने चुनौती आइपरेको छ ।
शोरुम बनाउन लाग्ने समयले गर्दा व्यापारिक सिजनको महत्त्वपूर्ण समय खेर जाने निश्चितप्राय: छ, जसले गर्दा यस पटकको चाडपर्वमा अटो बजारको उत्साह लगभग शून्यमा झरेको छ ।
भौतिक क्षति अतिरिक्त आन्दोलनले व्यवसायीको मनोबलमा गम्भीर असर पुर्याएको छ । राजनीतिक अस्थिरता र अनिश्चित भविष्यको चिन्ताले गर्दा देशभरिका उद्योगी–व्यवसायीमा अब देशको अवस्था कस्तो होला भन्ने भय देखिन्छ ।
चाडपर्वमा नयाँ गाडीको सपना बुन्ने ग्राहक र त्यसलाई साकार पार्ने व्यवसायी दुवैका लागि यसपालिको सिजन खल्लो र पीडादायी बनेको छ ।
साउन र भदौमा अटो व्यवसायीले दुई साता अन्तरमा भव्यतासाथ दुई वटा अटो शो आयोजना गरे । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ २१ देखि २६ साउनसम्म चल्यो भने ‘नाडा अटो शो’ ३ देखि ८ भदौसम्म चल्यो ।
केही समयअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले नेपाली अटोमोबाइल बजारमा ठूलो उत्साह जगाएका थिए । दुइटै भव्य मेलामा झन्डै साढे ७ हजार युनिट सवारीसाधन बुकिङ हुनुले व्यवसायीमा आशा सञ्चार भएको थियो ।
अधिकांश बुकिङ दशैंको मुखमा डेलिभरी गर्ने योजनासाथ लिइएका थिए, जसले चाडपर्वमा अटो बजार गुलजार बन्ने अपेक्षा थियो ।
बुकिङ रद्द हुनु भनेको अपेक्षित व्यापार गुमाउनु मात्र होइन, यसले समग्र बजारको मनोबलमा समेत नकारात्मक असर पारेको छ । चाडपर्वको मुखमा बुकिङ फिर्ताको यो लहरले अटोमोबाइल उद्योगको भविष्यलाई लिएर नयाँ चुनौती थपेको छ ।
बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारमा व्यवसायीले आयात गरेका गाडीहरू रोकिएका छन् । यी नाकाको विकल्पमा एक सातादेखि कोरोला नाका सञ्चालनमा आएपछि हिजो शनिबारसम्म यो नाकाबाट २ सय ९ विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् ।
मुस्ताङ नाका प्रवेश गरिरहेका ईभीमा मुख्यत: बीवाईडी, लिप मोटर्स र ओमोडाका विभिन्न मोडेल छन् ।
चाडपर्वको मुख्य सिजनमै यस्तो अवस्था आउँदा व्यवसायीहरू हात बाँधेर बस्न बाध्य भएको एक अटो व्यवसायी बताउँछन् । ‘सिजनमा मुख सुकाएर बस्नुपरेको छ,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक अटो व्यवसायीले अनलाइनखबरसँग भने, ‘अटो शोमा बुकिङ भएका गाडीहरू पनि ग्राहकलाई डेलिभरी दिन सक्ने अवस्था छैन । यसले हाम्रो व्यवसाय नै चौपट भएको छ ।’
गुम्दै ग्राहक विश्वास
यसले व्यवसायीको लगानी फसेको छ भने अर्कातर्फ ग्राहकको विश्वास पनि गुम्दै गएको छ ।
ती व्यवसायीका अनुसार ग्राहकले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्था स्थिर नदेखिएको तथा हालैका आन्दोलनले झनै अनिश्चितता बढाएको भन्दै बुकिङ फिर्ता गरिरहेका छन् ।
‘ग्राहकहरू अहिले देशको अस्थिरता र आन्दोलनका कारण उत्पन्न अन्योलताले गर्दा सशंकित बनेका छन्,’ ती व्यवसायीले भने, ‘यस्तो अवस्थामा ठूलो लगानी गर्नु जोखिमपूर्ण हुने ठानेर उनीहरू गाडी खरिद गर्ने निर्णयबाट पछि हटेका हुन् ।’
चाडपर्वमा नयाँ गाडी चढ्ने सपना देखेकाहरू पनि अहिले भविष्यको चिन्तामा छन् । बजारमा देखिएको यो बुकिङ फिर्ताको लहरले अटोमोबाइल क्षेत्रमा लगानीको वातावरण खल्बलिएको मात्र छैन, यसले समग्र उपभोक्ता मनोबलमा पनि गम्भीर नकारात्मक असर पारेको छ ।
टाटा मोटर्स नेपालले पनि प्रदर्शनी क्रममा करोडौंका गाडी र पूर्वाधार आगजनी गरी नष्ट गरिएको जनाएको छ ।
टाटा मोटर्स नेपालकी बजार प्रमुख अभिरुचि गिरीका अनुसार कम्पनीका ८ वटा गाडी पूर्ण रूपमा ध्वस्त भएका छन् ।
क्षति भएका ८ गाडीमध्ये ५ वटा ईभी र बाँकी पेट्रोल/डिजेलबाट चल्ने थिए । ‘ती गाडीको मूल्य ३० लाखदेखि १ करोड ३० लाखसम्मको थियो,’ उनले भनिन्, ‘जुन पूर्णरूपमा ध्वस्त भयो ।’
यद्यपि, थापाथली शोरुममा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताइन् ।
अहिले भने सेवा सुरु भइसकेको छ । क्षतिग्रस्त शोरुमकै छेउमा अस्थायी शोरुम बनाएर सेवा दिइएको उनको भनाइ छ ।
नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा नेपालभरि टाटाको ८ सय ४४ गाडी बुकिङ भएका थिए ।
गिरीका अनुसार आइतबारदेखि सकारात्मक छलफलसँगै कम्पनीले फेस्टिभ अफर पनि सुरु गरेकाे छ । ‘बजार फर्किनेमा हामी विश्वस्त छाैं,’ उनले भनिन् ।
यस्तै अर्का अटो व्यवसायी पनि विगतमा दशैं–तिहारका बेलामात्र अटोमोबाइल उत्पादनको ६० देखि ७० प्रतिशत बिक्री हुने गरेकामा अहिले शून्य अवस्थामा पुगेको बताउँछन् । नाडा अटो शो सकिएपछि राम्रै बुकिङ भएको थियो । तर, अहिले ग्राहकको मनोबल खस्किएको उनको भनाइ छ ।
नयाँभन्दा पुरानै गाडीतिर ग्राहक
हालै भएका आगजनी र लुटपाटका घटना देखेर ग्राहकले नयाँ गाडी किन्नुभन्दा पुरानै गाडी चलाउन उचित ठानेको उनी बताउँछन् ।
आफ्नै कम्पनीको उदाहरण दिँदै उनले भने, ‘हाम्रोमा त झन्डै डेढ सयभन्दा धेरै गाडी बुकिङ भएको थियो, तर जेनजी आन्दोलनपछि ६०–७० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।’
आन्दोलनका कारण देशभरिको व्यावसायिक वातावरण खलबलिएको र यसले अटो क्षेत्रलाई ‘धुस्नो’ पारेको उनको ठहर छ ।
अटो व्यवसायीहरू अहिले सरकारबाट सुरक्षा र स्थिर व्यावसायिक वातावरणको अपेक्षामा छन् । ‘मनोबल उठ्न र सबै कुरा सामान्य हुन सरकार स्थिर भएर देशको नीति र प्रशासन संयन्त्र बलियो हुनुपर्छ,’ उनले भने ।
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति नहुँदा व्यापार–व्यवसायमा जोखिम बढेको र यसले थप लगानी गर्न निरुत्साहित गरेको उनको भनाइ छ ।
राजधानी र बाहिरका कतिपय क्षेत्रमा अझै पनि सुरक्षा अभावमा व्यापार गर्न गाह्रो भएको व्यवसायी बताउँछन् । अहिले कार्यालयहरू पनि आंशिक मात्रै सञ्चालन गर्न सकिएको अवस्था छ ।
अहिलेको राजनीतिक अस्थिरता र अनिश्चितताका कारण अटोमोबाइल क्षेत्रमा सकारात्मक वातावरण फर्किन कम्तीमा दुई–तीन वर्ष लाग्न सक्ने अनुमान व्यवसायीको छ ।
प्रतिक्रिया 4