गम्भीर डिप्रेसनबाट पीडित एक व्यक्तिले ३० वर्षमा पहिलोपटक खुसीको अनुभव गरेका छन् । मस्तिष्कमा जडित एउटा विशेष पेसमेकर उपकरणबाट यो सम्भव भएको हो । उक्त यन्त्रले ती व्यक्तिको मस्तिष्कका विभिन्न हिस्सालाई सक्रिय बनायो । अमेरिकाको मिनिसोटा विश्वविद्यालयका वैज्ञानिक डेमियन फेयरका अुनसार टम नामका ती ३३ वर्षीय व्यक्तिले ३ दशकपछि बल्ल खुसी महसुस गरेका हुन् ।
टम १३ वर्षको उमेरदेखि डिप्रेसनसँग जुधिरहेका थिए । २० भनदा धेरै प्रकारका उपचारपछि पनि उनको स्वास्थ्य तथा मानसिक अवस्थामा खासै सुधार आएन । तर यस नयाँ प्रविधिले भने उनलाई गम्भीर डिप्रेसनको अवस्थाबाट मुक्ति दिलाएको छ । यो प्रविधिलाई डिप्रेसनको उपचारमा एक क्रान्तिकारी कदम मानिएको छ, जसले पारम्परिक तरिकाहरुका सीमालाई पार गर्दछ ।
डिप्रेसनको उपचार : परम्परागत विधिका चुनौती
अवसाद अर्थात् डिप्रेसन एक आम मानसिक स्वास्थ्य समस्या हो । विश्वका लाखौं मानिसहरू यो समस्याबाट पीडित छन् । डिप्रेसनका अधिकांश बिरामीहरुलाई एन्टी डिप्रेसेन्ट औषधि वा थेरापीबाट राहत मिल्दछ । तर, कतिपय मानिसहरुमा भने उपचार प्रतिरोधी डिप्रेसन हुने गर्दछ ।
अर्थात् दुईथरी एन्टी डिप्रेसेन्ट औषधी सेवन गर्दापनि उनीहरुको अवस्थामा कुनै सुधार आउँदैन । यस्ता मामिलामा इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसिटी) को सहारा लिइन्छ । जसमा मस्तिष्कमा हल्का विद्युतीय झट्का दिइन्छ । यद्यपि यस्तो थेरापी पनि प्राय: असफल हुन्छ ।
शोधकर्ता डेमियन फेयरका अनुसार हरेक व्यक्तिका लागि मस्तिष्कको एउटै हिस्सालाई निसाना बनाइन्छ । तर, मस्तिष्क फरक-फरक हुने हुनाले सही क्षेत्रलाई लक्षित गर्न नसक्दा उपचार प्रभावकारी बन्दैन । टमले पनि डिप्रेसनको उपचारका गर्नका लागि लामो समयदेखि औषधि, थेरापी तथा इसिटीसहित २० भन्दा धेरै उपचार गरे । तर, त्यसबाट कुनै पनि फाइदा भएन, जसका कारण उनी आत्महत्या गर्ने अवस्थासम्म पुगेका थिए ।
नयाँ प्रविधि : मस्तिष्क पेसमेकर

मिनिसोटा विश्वविद्यालयका शोधकर्ताहरूले टमका लागि एउटा व्यक्तिगत उपकरण विकास गरे । यसले मुटुको पेशमेकरले जस्तै काम गर्दछ ।
नेचर मेडिसिन जर्नलमा प्रकाशित शोध रिपोर्ट अनुसार उक्त उपकरणको विकासमा जियाद नाहास, डेमियन फेयर लगायतका वैज्ञानिकहरु सहभागी छन् ।
शोधकर्ताहरुले टमको मस्तिष्कलाई ४० मिनेटसम्म एमआरआई गरे । त्यसबाट डिप्रेसनसँग सम्बन्धित चारवटा मस्तिष्क सञ्जाल (डिफल्ट मोड, सेलिएन्स, एक्सन मोड तथा फ्रन्टोपेरिएटल) का सीमाहरु पत्ता लागे । त्यसक्रममा उनको मस्तिष्कमा बाह्य उत्तेजनाहरुलाई प्रोसेसिङ गर्ने सेलिएन्स सञ्जाल सामान्य भन्दा चारगुण ठूलो पाइयो । त्यो उनका लक्षणहरुका कारण हुन सक्थ्यो ।
तत् पश्चात् सर्जरी गरी उनको टाउकोमा दुईवटा साना प्वाल पारियो र चारवटा इलेक्ट्रोड छिराइयो र ती सञ्जालका सीमानामा राखियो । तीन दिनपछि बाहिरी तारबाट हल्का करेन्ट पठाइयो । त्यसबाट हरेक सञ्जालमा फरक फरक प्रभाव देखियो ।
टमको प्रतिक्रियाको आधारमा उनको कोलार हड्डीको तलपट्टि दुईवटा साना ब्याट्रीसँग इलेक्ट्रोडलाई जोडियो । यो मस्तिष्क पेसमेकरले मस्तिष्कमा हरेक ५ मिनेटमा एक मिनेटसम्मका लागि विभिन्न सञ्जाललाई उत्तेजित गराउँछ ।
शल्यक्रियाको ७ हप्तापछि टमको मनबाट आत्महत्या गर्ने विचार समाप्त भयो । ९ महिनापछि ह्यामिल्टन डिप्रेसन रेटिङ्ग स्केल अनुसार उनी पूर्णरुपमा स्वस्थ हुने चरणमा पुगे । त्यस्तो सुधार दुई वर्षभन्दा लामो समयसम्म चल्यो । तर कोभिड १९ पछि उनी पुन: हल्का डिप्रेसनमा फर्किए ।
परिणाम र लाभ

टमका अनुसार उनलाई यस्तो अनुभव हुन्थ्यो कि कुनै पर्खाल नै खस्यो । तर, अहिले भने आफूले सबै सामान्य संवेगहरु अनुभूत गर्न सकेको उनी बताउँछन् । शोधकर्ता जियाद नाहासका अनुसार टम अहिले परिवारसँग घुमफिरमा जान र आनन्दसाथ जिवन बिताउन समर्थ भएका छन् ।
वास्तवमा मनोचिकित्सामा उपचार दुर्लभ छ । तर, विज्ञान/प्रविधिको विकासले यो पछिल्लो समयमा सहज बन्दै गएको छ । मस्तिष्कमा पेसमेकर राख्ने यो उपचार पारम्परिक पद्धतिभन्दा निकै उत्कृष्ट र प्रभावकारी सावित भएको छ । किनकि यसमा कम मात्र कम्प्युटरजन्य संशाधन र अस्पताल बसाइँसमेत कम हुन्छ ।
टममा प्राप्त सफलता पश्चात् शोधकर्ताहरुले यो उपकरणलाई दोश्रो व्यक्तिमा पनि प्रत्यारोपण गरिसकेका छन् भने तेस्रो व्यक्तिमा प्रत्यारोपणको योजना बनाइरहेका छन् । दुई वर्षभित्रमा यसको स्वतन्त्र चिकित्सा परीक्षण (डबल ब्लाइन्ड क्लिनिकल ट्रायल) सुरु हुनेछ । तर विज्ञहरु भने यसको बृहतस्तरमा परीक्षण गर्नुपर्ने बताउँछन् ।
किंग्स कलेज लण्डनका मारियो जुरुएनाका अनुसार randomized controlled trial बाट यसको सुरक्षा तथा प्रभाव पुष्टि हुनु आवश्यक छ ।
यद्यपि टममा उक्त पेसमेकरको सफलता उनको सेलिएन्स नेटवर्कको ठूलो आकारका कारण पनि हुनसक्छ जुन सबै बिरामीमा सोही आकारको नहुन सक्छ । तथापि यो प्रविधिको प्रारम्भिक सफलताले डिप्रेसन क मगर्नमा यो फलदायी हुने देखिन्छ । किनकि डिप्रेसन मस्तिष्कको जैविक समस्या हो, न कि नैतिक जिम्मेवारी ।
प्रतिक्रिया 4