+
+
Shares

आफ्नो शयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ

मंगलबार बेलुकी आफ्नो शयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘यस्तै त हुन्छ फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ७:१२

८ असोज, काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको शयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् ।

मंगलबार बेलुकी आफ्नो शयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’

केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र शयन कक्ष तयार पारिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मन्त्री पुनले आफू राष्ट्रिय आविष्कार केन्द्रमा छँदा भुइँमा सुत्ने गरेको सुनाए । ‘म आविष्कार केन्द्रमा हुँदा भुइँमा टेन्ट टाँगेर, एउटा म्याट्रेस ओछ्याएर सुत्थेँ, म यस्तैमा हुर्किएँ’ उनले भने, ‘कि यस आराममा हुर्किएको भए एउटा कुरा हुन्थ्यो । भगवानले यस्तै दिए के गर्नु ।’

‘भुइँमा सुत्ने मान्छे’लाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको भन्दै मन्त्रालयका कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् ।

मन्त्री महावीर पुनको शयन कक्ष

जेनजी युवा आन्दोलनको क्रममा सिंहदरबार परिसरभित्र रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आगजनी भएपछि लैनचौरको केशरमहलमा शिक्षा मन्त्रालयलाई सारिएको थियो ।

त्यहाँ रहेको मन्त्री पुनको कार्यकक्षलाई पार्टेसन गरेर त्यससँगै जोडिएको ठाउँमा शयन कक्ष बनाइएको छ । त्यहाँ बक्स पलङ राखिएको छ । छेउमा टेबुल, कुर्सी, दराज र कपडा झुण्ड्याउने ह्याङ्गर राखिएको छ ।

शयन कक्षको छेउमा सानो भान्सा कोठा छ । भान्सामा पकाउने खाने भाँडाकुँडा, डाइनिङ टेबल, फ्रिज लगायतका सामग्री छन् ।

मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा रहेको सरकारी आवासमा पनि जेनजी युवा प्रदर्शनको क्रममा आगजनी भएकाले अन्यत्र डेरा खोजेर बस्नुभन्दा आफूलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाइदिन मन्त्री पुनले भनेका थिए ।

शिक्षा मन्त्रालयकी सहसचिव अनिता निरौलाले मन्त्री पुनका लागि एक सेट सुत्ने खाने व्यवस्था मिलाइएको बताइन् । उनको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ ।

आफू पहिलेदेखि नै ‘जहाँ काम गर्ने, त्यहीं सुत्ने’ गरेको बताउँदै मन्त्री पुनले भनेका छन्, ‘बाहिर बस्न घर छैन । आफ्नो डेरा भए पनि गाह्रो हुने रहेछ । नियम अनुसार सुरक्षाको साथी तैनाथ हुने रहेछ । उहाँहरूलाई कहाँ राख्ने ? कुना–काप्चामा बसेर भए पनि यहाँ सुरक्षित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?