+
+
Shares

जेनजी पुस्तालाई खुलापत्र !

पूजा खड्का पूजा खड्का
२०८२ असोज ९ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखिकाले जेन्जी पुस्तालाई आत्मसमीक्षा गरी व्यवहारिक सीप र संयमतापूर्वक अघि बढ्न सुझाव दिनुभएको छ।
  • देशलाई बदल्ने शक्ति जेन्जी पुस्ताको हातमा रहेको र जिम्मेवार नागरिक बन्न उनले प्रेरित गरेकी छिन् ।

प्रिय जेन्जी पुस्ता,

सर्वप्रथम त जेन्जी पुस्तालाई धन्यवाद भन्छु र सँगसँगै बधाई पनि दिन्छु । आम नेपाली नागरिक देशको राज्यसत्ताले मनपरी हर्कतले हैरान भएका बेला त्यसको विरुद्ध आवाज उठाएयौ । गोली खान तयार भयौ । देश र भावी पुस्ताका लागि बलिदानी दियौ ।

शहीद हुनुभएका सम्पूर्णलाई हार्दिक श्रद्धासुमन र श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन एवम् समग्र देशबासीलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी प्रार्थना गर्दछु।

हामी एउटा महत्वपूर्ण र गम्भीर मोडमा उभिएका छौँ । गाउँदेखि शहरसम्म र वडा तहदेखि सिंहदरबारसम्म देखिएका विकृतिविरुद्ध तिमीहरूले विद्रोह गर्नुभयो ।

तपाईंहरूको आन्दोलनको बल र जगमाथि उभिएको वर्तमान सरकारको जिम्मेवारी सामान्य होइन । जेन्जी पुस्ताले मात्र यो देशलाई नयाँ उचाइमा पुर्याउन सक्छ भन्नेमा कुनै शंका छैन । त्यसैले, म पनि जेन्जी पुस्ताका एक छोरी र एक छोराको आमा भएका नाताले यो खुला पत्रमार्फत केही मनमा लागेका सुझावहरू प्रस्तुत गर्न चाहन्छु।

जेन्जी पुस्ताले मात्र नभई आम नेपाली नागरिकले, सम्पूर्ण राजनीतिक दल र तिनीहरूका नेता कार्यक्रताहरूले आत्म-समीक्षा गर्नुपर्ने समय हो यो । देशलाई बदल्नुअघि हामी सम्पूर्ण नेपालीले आफूलाई बदल्नु जरुरी छ । समयको मूल्य बुझ्ने, मेहनत गर्ने, शिष्ट आचरण अंगाल्ने, प्रलोभनमा नपर्ने संस्कार जेन्जी पुस्ताले अपनाउनुपर्छ ।

राजनीतिक ज्ञान र सामान्य ज्ञानभन्दा बढी व्यवहारिक सीप, उद्यमशीलता, प्रविधिको प्रयोग र अनुसन्धानतर्फ जोड दिनुपर्छ । शिक्षित मात्र नभई सक्षम र स्वावलम्बी बन्ने यात्रा अबको पुस्ताले रोज्नैपर्छ । कुनै व्यक्ति तथा समूहको देवत्वकरण र भक्तिगानमा यो पुस्ता नलागोस् । समाजमा देखिने अन्याय, अनियमितता विरुद्ध स्वर उठाउने तर जिम्मेवारीपूर्वक, संयमतापूर्वक र समाधानमुखी सोचले अघि बढ्नुपर्ने हुन्छ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक राष्ट्र हो । सबैलाई अटाउने संस्कार हाम्रो सभ्यताको आधार हो । कुनै जाति, भाषा, धर्म वा क्षेत्रलाई हेपेर होइन सबैलाई सम्मान गरेर मात्र साझा नेपाल निर्माण हुन सक्छ ।

विदेश गएर मात्र भविष्य सुरक्षित हुन्छ भन्ने सोच बदल्नुपर्छ । आफ्नै गाउँघर, आफ्नै खेतबारी, आफ्नै सीपलाई प्रयोग गरेर उत्पादक काम गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने जिम्मेवारीको नेतृत्व जेन्जी पुस्ताले लिनुपर्छ ।

आजको युग प्रविधिको युग हो । डिजिटल साधन, सूचना प्रविधि, नवप्रवर्तन, हरित ऊर्जाजस्ता क्षेत्रमा लगानी र सहभागिता बढाउनुपर्छ । यही बाटोले नेपाललाई आत्मनिर्भर र प्रतिस्पर्धी राष्ट्र बनाउँन सक्छ । सत्य, अहिंसा, इमानदारी, श्रमप्रतिको सम्मान र सहिष्णुताजस्ता नेपाली मूल्यहरूलाई व्यवहारमा उतार्न सके मात्र हाम्रो समाजमा सदाचार चिरस्थायी हुन्छ।

प्रिय जेन्जी पुस्ता,

देशलाई बदल्ने शक्ति तपाईँहरूकै हातमा छ । तर त्यो शक्ति आवेग, उत्तेजना र असंयमित क्रियाबाट होइन दूरदृष्टि, संयम र सामूहिक सोचबाट मात्र प्रभावकारी हुन्छ । यदि तपाईंहरूले हिम्मतका साथ, सुझबुझका साथ इमानदारीपूर्वक काम गर्नुभयो भने हाम्रो गाउँघर फुल्छ, फल्छ । समाज अनुशासित बन्छ र नेपाल विश्व समुदायमा टाउको उचालेर उभिन्छ।

तपाईँहरूलाई जिम्मेवार, दूरदर्शी र समर्पित नागरिक बन्न प्रेरित गर्दै वडा देखि सिंहदरसम्मका बेथितिहरू पहिचान गरी समग्र राष्ट्र र आम जनतालाई राहतको अनुभव गराउन सक्ने परिस्थिति निर्माण गर्न सके मात्र जेन्जी आन्दोलनले सार्थकता पाएको ठहरिन्छ र शहीदहरूले वास्तविक न्याय पाउनेछन् ।

(लेखक पूजा खड्का गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६, दाङमा कार्यरत शिक्षिका हुन्।)

लेखक
पूजा खड्का

पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६ दाङमा कार्यरत शिक्षिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?