
News Summary
Generated by OK AI. Editorially reviewed.- पेन्गुइनहरूले आफ्नो जोडी छान्ने र प्रेम प्रदर्शन गर्ने प्रक्रिया जटिल हुन्छ, जसमा पोथीले जोडी छान्ने अधिकार प्रायः राख्छन्।
- पेन्गुइनहरूले आफ्नो सन्तानलाई सँगसँगै हुर्काउने गर्छन् र को-प्यारेन्टिङ अनिवार्य हुन्छ।
- पेन्गुइनहरू जीवनभर एउटै जोडीसँग नबस्ने, प्रजनन मौसम अनुसार जोडी परिवर्तन गर्ने प्रजातिहरू हुन्छन्।
प्रायः हिउँ र बरफले ढाकिएको चिसो वातावरणमा बस्ने पेन्गुइन बाहिरी दुनियाँका लागि सधैँ रहस्यमय र चाखलाग्दो रहँदै आएको छ । कालो, सेतो र केही मात्रामा पहेँलो रङ भएको यो सुन्दर जीव सामाजिक र सहयोगी स्वभावको हुन्छ ।
त्योभन्दा बढी पेन्गुइनलाई प्रेम र वफादारीताको प्रतीकका रूपमा पनि हेर्ने गरिन्छ । पत्रपत्रिका, वृत्तचित्रदेखि हलिउडका फिल्महरूमा पेन्गुइनहरूलाई जीवनभर एउटै जोडीसँग सम्बन्ध कायम राख्ने प्राणीका रूपमा देखाइँदै आइएको छ ।
तर के यो वास्तविकतामा आधारित छ ?
जोडी खोज्ने कला
पेन्गुइनहरूबीचमा आफ्नो जोडी छनोट गर्ने र प्रेम प्रदर्शन गर्ने प्रक्रिया निकै जटिल हुन्छ । प्राय: भाले पेन्गुइनहरूले पोथीलाई आकर्षित गर्न विभिन्न प्रकारका हर्कतहरू गर्ने गर्छन् । जस्तो: टाउको हल्लाउने, पखेटा र टाउको माथि उठाउने, विशेष प्रकारको आकर्षक चाल देखाउने आदि । यसो गर्नुको मुख्य उद्देश्य गुँड बनाउने स्थानमाथि अधिकार स्थापित गर्ने, पोथीलाई आकर्षित गर्ने र अन्य भालेहरूलाई टाढा रहन चेतावनी दिनु हुन्छ ।
आफ्नो जोडी छान्ने अधिकार भने प्राय: पोथी पेन्गुइनमा हुने गर्छ । जब कुनै पोथीले आफ्नो जोडी छान्छ, सजिलो भाषामा भन्दा उनीहरू डेटिङमा जान्छन् । झुकेर एक-अर्कालाई अभिवादन गर्ने, पखेटा मिलाउने र एकअर्कालाई बोलाउने आदि यो चरणमा हुने गर्छ । यही प्रक्रियाले गर्दा उनीहरूले एक-अर्काको आवाज पहिचान गर्न सक्छन् । सम्बन्ध सुदृढ बनाउन सक्छन् । र विशाल हुलमा पनि एक-अर्कालाई सहजै भेट्टाउन सक्छन् ।
जोडी बाँधिसकेपछि केही पेन्गुइन प्रजातिहरू (विशेषत; एम्पेरर पेन्गुइन) अण्डा नपारेसम्म मौन रहन्छन् । यसो गर्दा उनीहरूको जोडीलाई अन्य एकल पेन्गुइनहरूले छुटाउनबाट रोक्छ । र, उनीहरूको प्रजनन पनि सफल हुने सम्भावना बढ्छ ।
त्यस्तै केही प्रजातिका पेन्गुइनहरूले भने प्रेम प्रदर्शनको प्रक्रियामा एक-अर्कालाई उपहार पनि दिने गर्छन् । जस्तो: आफ्नो जोडीलाई गुँड बनाउन प्रयोग हुने ढुङ्गालाई प्रेमको प्रतीकका रूपमा दिने गर्छन् ।
यसका साथै किङ पेन्गुइन जस्ता केही प्रजातिमा भने भालेको चुच्चोबाट निस्कने पराबैजनी प्रकाशले जोडी छनोटमा महत्वपूर्ण भूमिका खेल्छ । यो प्रकाश मानव आँखाले देख्न भने सकिँदैन । तर यसले भालेको यौन परिपक्वता र आकर्षणलाई सङ्केत गर्छ । जसले गर्दा पोथीहरूले प्रायः यस्तो प्रकाश प्रतिविम्बित गर्ने भालेलाई चाँडोभन्दा चाँडो जोडीको रूपमा छान्ने गर्छन् ।
जिम्मेवारी बाँडफाँड
तर, पेन्गुइनहरूले आफ्नो सन्तानलाई भने सँगसँगै हुर्काउने गर्छन् । उनीहरूको हकमा ‘को-प्यारेन्टिङ’ अनिवार्य शर्त नै हो ।
त्यसमा उनीहरू रहने वातावरणले पनि भूमिका खेलेको हुन्छ । त्यस्तो वातावरणमा बच्चालाई हुर्काउन दुवै अभिभावकको सहयोग अपरिहार्य हुन्छ ।
प्राय: अण्डा पारेपछि पोथी खाना खोज्न समुद्रतिर जान्छ भने भालेले गुँडमा अण्डा सेक्ने काम गर्छ । यसमा पनि प्रजातिअनुसार केही भने केही फरक भने हुन्छ । जस्तो: एम्पेरर र किङ पेन्गुइनले गुँड नै बनाउँदैनन् । उनीहरूले आफ्नो खुट्टामा नै अण्डा राखेर पेटमा रहेको विशेष न्यानो भागले सेकाउने गर्छन् । अनि अण्डाबाट बच्चा निस्किसकेपछि दुवैले पालोपालो खाना ल्याउने र बच्चालाई खुवाउने काम गर्छन् ।
प्राय: पेन्गुइनहरूले आफ्नो पेटमा पहिले नै खाएको खाना मुखबाट बाहिर निकालेर बच्चालाई खुवाउने गर्छन् । जसलाई ‘सिफुड स्लसी’ भनेर पनि चिन्ने गरिन्छ ।
अण्डाबाट निस्केको केही हप्तापछि बच्चा पेन्गुइनहरू आफैँ गुँडमा रहन सक्ने गरी ठूला हुन्छन् । त्यसैले बच्चा पेन्गुइनहरूको समूह भएको ठाउँमा उनीहरू दिनभरि एक्लै हुन्छन् ।
त्यस समूहलाई ‘क्रेच’ भनेर चिनिन्छ । यसरी सामूहिक रूपमा बस्दा बच्चाहरू न्यानो हुने, शिकारीहरूबाट सुरक्षित हुने र सामाजिकीकरण हुन सक्ने हुन्छन् ।
तर यी सबै प्रक्रिया एउटा पेन्गुइनले मात्र गर्नु परेको भए बच्चा भोकले मर्छ या त गुँडमा रहेको अभिभावक खानाको अभावमा मर्छ।
आजीवन वफादार
कतिपय अवस्थामा पेन्गुइनहरूलाई आजीवन आफ्नो जोडीमाथि वफादार भन्ने भनिन्छ । तर पेन्गुइनहरू जीवनभर एउटै जोडीसँग रहन्छन् भन्ने यो धारणा वैज्ञानिक रूपमा पूर्ण सत्य होइन ।
बरु धेरै जसो पेन्गुइन प्रजातिहरूलाई ‘सोसियल्ली मोनोगामस’ अर्थात् ‘सामाजिक रूपमा एक जोडी’ भन्ने गरिन्छ । भन्नुको अर्थ उनीहरू एक प्रजनन मौसमका लागि एउटै जोडीसँग बस्छन् । तर अर्को मौसममा जोडी फेर्न सक्छन् । यो कुरा पनि प्रजाती अनुसार फरक-फरक हुने गर्छ ।
उदाहरणका लागि, एडेली पेन्गुइनहरू अघिल्लो वर्षको जोडीसँग पुनः जोडिने सम्भावना ६२ प्रतिशत मात्र हुन्छ । जबकि चिनस्ट्र्याप पेन्गुइनहरूमा यो दर ८२ प्रतिशतसम्म हुन्छ । यता एम्पेरर पेन्गुइनले हरेक वर्ष नयाँ जोडी छनोट गर्छन् । म्याकारोनी पेन्गुइनहरू भने ५ वर्षको अवधिमा जोडी छनोट गरेपछि जीवनभर एउटैसँग रहन्छन् ।
समग्रमा, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पेन्गुइनको प्रेम जीवन सोचे जस्तो रोमान्टिक छैन । त्यस्तो देखिने बनाएको चिसो र कठोर वातावरणले हो । त्यो उनीहरूको अस्तित्वका लागि विकसित भएको उत्कृष्ट जैविक रणनीति हो ।
बरू उनीहरूको जीवनले हामीलाई प्रेमको अर्थ केवल एक जोडीमा मात्र सीमित नभई समुदाय, सहयोग र साझा अस्तित्वमा पनि खोज्न सकिन्छ भन्ने सन्देश दिन्छ । सच्चा प्रेम भनेको सँगै हुँदाको खुसी मात्र नभई सँगै मिलेर जीवनका चुनौतीहरूलाई सामना गर्नु पनि हो भन्ने ज्ञान दिन्छ ।
प्रतिक्रिया 4