२३ र २४ भदौमा देशभर जेनजी आन्दोलन चर्कियो । युवाको मुख्य माग सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्य थियो । तर सरकारी दमनपछि आन्दोलनले उग्र रूप लियो । परिणामस्वरूप, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्न पुग्यो । देशले पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार पायो । अनि, प्रतिनिधिसभा विघटन भयो ।
त्यो सिर्जनशील सडक आन्दोलनबाट देश यो अवस्थासम्म कसरी आइपुग्यो ? अहिलेको अवस्था के छ ? जेनजी प्रतिनिधि र सरकारबीचको समन्वय कसरी चलिरहेको छ ? यिनै प्रश्न अनलाइनखबरकर्मी कौशल काफ्लेले जेनजी आन्दोलनकारीमध्येका एक अगुवा अमित खनाल (ऊर्जा) लाई सोधेका छन् । प्रस्तुत छ, प्रश्नोत्तरको सम्पादित अंश :
२३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था कस्तो छ ?
यो आन्दोलनपछि धेरै कुरा भइसक्यो । अहिले हामी संगठित हुने कोसिस गरिरहेका छौँ । सुरुमा मन्त्रिपरिषद् गठन र अन्य कुराले गर्दा केही गन्जागोल भएको थियो । यो आन्दोलन नेतृत्वविहीन थियो, जसले गर्दा विभिन्न ठाउँबाट स्वस्फूर्त रूपमा मान्छेहरू सहभागी भए । यसले सबैलाई एक ठाउँमा ल्याउन गाह्रो भयो । तर, बिस्तारै हामीले यो समस्या समाधान गर्दैछौँ ।
हाम्रो मुख्य मुद्दा भ्रष्टाचारविरुद्धको हो, र यो सबैको साझा एजेन्डा हो । हामीले व्यक्तिगत स्वार्थ र विचारधारा छोडेर अन्तरिम सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्छ । पछिल्लो समय हाम्रा तर्फबाट भइरहेका प्रयत्न र कामहरू यिनै हुन् ।
७५ जनाको ज्यान जानु सामान्य कुरा होइन । कतै यो बलिदान यत्तिकै खेर त जाँदैन नि ?
उपलब्धि तत्कालै देख्न गाह्रो छ । अहिले अन्तरिम सरकार बनेको छ, र २१ फागुनमा चुनाव भयो भने त्यो नै ठूलो उपलब्धि हुनेछ ।
७५ जनाको ज्यान जानु दुखद हो । हामी शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका थियौँ, तर सरकारले दमन गर्यो । तर शहीद र घाइतेहरूको बलिदानी भ्रष्टाचारविरुद्धको मुद्दाकै लागि थियो । त्यसैले हाम्रो आन्दोलन अझै जारी छ । अहिले सिज फायर भएको जस्तो मात्र हो । यदि फागुन २१ पछिको सरकारले भ्रष्टाचारविरुद्ध काम गरेन भने यो आन्दोलन फेरि बलियो हुन्छ ।
आन्दोलन सफल भयो भनेर तपाईंहरु खुसी हुनुहुन्छ । तिनै पुराना दलहरूले फेरि टाउको उठाउन खोजेजस्तो देखिन्छ नि ! यसबारे के भन्नुहुन्छ ?
यो कुराले मलाई महाभारतको कथा सम्झाउँछ । दुर्योधन लडाइँ हारेपछि लुकेर बसे तर हार स्वीकार गरेनन् । अहिलेका ठूला दलका नेताहरू पनि त्यस्तै अहंकारमा छन् ।
उनीहरू यो आन्दोलनलाई विदेशीले चलाएको भन्छन् । तर हामीले त यहाँको बेथितिविरुद्ध स्वस्फूर्त आन्दोलन गरेका हौँ । यो उनीहरूको अहंकार र हार नस्वीकार्ने प्रवृत्ति हो ।
अन्तरिम सरकारसँग तपाईंहरूको संवाद कस्तो छ ? जेनजीको प्रतिनिधित्व मन्त्रिपरिषद्मा हुन्छ कि हुँदैन ?
हामी अन्तरिम सरकारलाई सफल बनाउन चाहन्छौँ । यो नागरिक समाजको सरकार हो । जेनजी आन्दोलनबाटै बनेको हो । जेनजीको प्रतिनिधित्व हुनुपर्छ, तर हामी सक्षम छौँ कि छैनौँ भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।
मलाई व्यक्तिगत रूपमा अहिले नै मन्त्रिपरिषद्मा गएर ब्युरोक्रेसीसँग लड्ने आत्मविश्वास छैन, किनभने मैले अझै धेरै कुरा सिक्न बाँकी छ । तर सक्षम जेनजी साथीहरू छन् भने उनीहरूले नेतृत्व गर्नुपर्छ । सक्षम मान्छे जो गएपनि हाम्रो समर्थन रहन्छ । बस्, सफलतापूर्वक चुनाव गराउनुपर्यो ।
तपाईंहरू एकातिर हुनुहुन्छ । अर्कातिर ‘हामी नेपाल’ भन्ने संस्था आन्दोलनमा जोडियो । आफ्नै सुरले कमिटीसमेत बनाइरहेको छ । यसले त हाइज्याक भएको जस्तो देखियो नि ?
हाइज्याक भएको होइन । सुरुवतामा यो आन्दोलनमा कुनै संयोजक वा नेता थिएन । सबै स्वस्फूर्त थियो । कोहीले अनुमति लिए, कोहीले नारा लगाए, कोहीले भिड सम्हाले ।
मिडियाले चिनेजानेको अनुहार खोज्छ । हामी नेपाल र सुदन दाइलाई मिडियाले पहिलेदेखि चिन्थ्यो । त्यसैले होला अन्तर्राष्ट्रिय मिडियाले पनि उनीहरूलाई लिडरको रूपमा देखायो, जसले नेपाली मिडियालाई पनि प्रभावित गर्यो ।
यो कथ्य स्थापित भयो, तर हामी नेपालले एकलौटी गरिरहेको भन्ने जुन प्रश्न छ, त्यो चाहिँ हामीबीच पर्याप्त संवाद नहुँदा भइरहेको हो जस्तो लाग्छ । उहाँहरूको नियतमा शंका छैन । हामी छलफल गरेरै यसलाई मिलाउने प्रयत्न गर्छौँ ।
हामी नेपालले त पार्टी खोल्ने तयारी गरेको भन्ने सुनिन्छ । तपाईंहरूको योजना चाहिँ के छ ?
तत्काल पार्टी खोल्ने हाम्रो योजना छैन । हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध हो । पहिला यो मुद्दालाई सफल बनाउनुपर्छ । विचारधारा र व्यक्तिगत स्वार्थ छोडेर, एकजुट भएर अन्तरिम सरकारलाई सफल बनाउनुपर्छ । २१ फागुनको चुनाव सफल बनाउनुपर्छ । त्यसपछि कोही पार्टी खोल्न चाहन्छ भने ठिक छ । तर अहिले हाम्रो ध्यान मुद्दामा छ । पार्टी खोल्ने नाममा अहिले हामी छरियौँ भने झन् समस्या हुन्छ ।
नेपालमा पहिलोपटक सत्तापलट नै गर्नेगरी ‘एल्गोरिदम मुमेन्ट’ चलाउन सफल भयो हैन त जेनजी ?
हामी जेनजीको आवाज सोसल मिडियामार्फत बाहिर आउँछ । हाम्रा योजना डिस्कर्ड र रेडिटजस्ता प्लेटफर्मबाट बने । यो आन्दोलन सोसल मिडियाबाटै सुरु भएको हो । तर सामाजिक सञ्जालको एल्गोरिदमले यसरी काम गरेछ, हामीले सोचेभन्दा धेरै मान्छे सडकमा आए । त्यसमा पहिलो दिन नै राज्यले गरेको दमन अप्रत्यासित थियो । र, हामीलाई यो अवस्थालाई सम्हाल्न समय लाग्यो । प्रतिफल तपाईं-हाम्रै अगाडि छर्लङ्ग छ ।
समयमा चुनाव भएन भने संविधान नै जोखिममा पर्ने डर छ । ‘वाच डग’को रूपमा कसरी काम गर्ने योजना छ ?
हाम्रो भूमिका नागरिक समाजको वाचडगको हो । हामीले कुनै राजनीतिक दलको संलग्नता नभएको सरकार बनाउन खोजेका थियौँ । बन्यो पनि । हाम्रो ध्यान भ्रष्टाचारविरुद्ध स्वतन्त्र आयोग गठन र २१ फागुनको चुनावमा छ । यदि यो भएन भने, हामी फेरि शान्तिपूर्ण रूपमा सडकमा उत्रिन्छौँ । हामी यो सरकारविरुद्ध पनि लड्न तयार छौँ । तर हाम्रो एजेन्डा भ्रष्टाचारविरुद्ध र चुनाव हो ।
पुराना दल र तिनका नेताहरूलाई पूरै खारेज गर्नुपर्छ भन्ने आसयका आवाज पनि उठिरहेका छन् । तपाईंहरूलाई पात्रमा समस्या हो कि दलमा ?
समस्या पात्रमा हो, दलमा होइन । एमाले, कांग्रेस, माओवादी सबै क्रान्तिबाट आएका हुन् । तर समयसँगै नेताहरू सत्तामा परिवर्तन भए । उनीहरूले एकात्मक शासनको छाया आफूमा पारे । शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड जस्ता नेताहरूले पुस्तान्तरण गरेनन् । युवा र इमानदार नेतालाई मौका दिएनन् । त्यसैले सडकबाट विद्रोह भयो । हामी व्यक्ति केन्द्रित राजनीति चाहँदैनौँ ।
आगामी चुनावमा पुराना दलहरू नै आउने सम्भावना रह्यो भने तपाईंहरूको योजना के हुन्छ त ? यो शक्तिसँग कसरी भिड्नुहुन्छ ?
हामी पुराना दललाई भोट नदिने पक्षमा छौँ । यदि पुराना अनुहार आए भने हामी भोटै हाल्दैनौँ । हामी सक्षम र इमानदार नयाँ अनुहार खोज्छौँ । मिडियाले देखाउने पपुलर अनुहारबाहेक अन्य उम्मेदवारलाई पनि चिन्छौँ र उनीहरूलाई जिताउँछौँ । हाम्रो योजना यही हो । चुनाव गराउन सरकारलाई सहयोग गर्नु र सही नेता चुनेर पठाउन नागरिक चेतनामा एक भएर काम गर्ने नै हाम्रो प्रमुख उद्देश्य हो ।
तपाईंहरू सरकार निर्माणका लागि वार्तामा बस्नुभयो । यसमा बालेन शाहको भूमिका कस्तो थियो ?
बालेन शाहलाई जेनजीले एडमायर गर्छ । उनको प्रत्यक्ष भूमिका थाहा छैन । तर सोसल मिडियामार्फत उनले प्रभाव पारे । उनको टिमसँग हाम्रो कुराकानी भयो । फलस्वरूप, उनले सुशीला कार्कीलाई समर्थन गरे । जनताले उहाँलाई प्रधानमन्त्री बनाउन चाहेका थिए । तर उहाँले महानगरपालिकाको जिम्मेवारी र छोटो समयको अन्तरिम सरकारमा धेरै गर्न नसकिने कारणले रुचि देखाउनु भएन ।
आगामी दिन कस्तो देख्नुहुन्छ ? योजना के छ ?
मन्त्रिपरिषद् गठन सकारात्मक रूपमा भइरहेको छ । अब हामी वाचडगको रूपमा रहन्छौँ । यदि सरकारले काम गरेन भने फेरि सडकमा उत्रिन्छौँ । हाम्रो योजना साथीहरूलाई संगठित गर्ने, सचेतना फैलाउने र नयाँ, सक्षम अनुहारलाई जिताउने हो । हामी एकजुट भएर पुराना दलको प्रभावलाई रोक्न चाहन्छौँ ।
प्रतिक्रिया 4