
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ।
- अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्षबाट संयोजक बनेको घोषणा गर्नुभएको छ।
- पार्टीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र प्रतिनिधि छान्ने विषयमा पहल गर्ने योजना बनाएको छ।
१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने घोषणा गर्दै बैठक समापन गरेका हुन् ।
बैठकबाट बाहिरिंदै प्रचण्डले भने, ‘म आजबाट अध्यक्ष रहिनँ, म संयोजक भएँ ।’
निर्वाचन तोकिएकै मितिमा महाधिवेशन गराउने वातावरण बनाउन पार्टीले पहल लिने अध्यक्ष प्रचण्डले बताए । प्रचण्डको प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन हुनेछ ।
महाधिवेशन प्रतिनिधि कसरी छानिने लगायतका विषय प्रचण्डले यसअघि नै प्रस्ताव गरिसकेका छन् । जसमा जेनजीको प्रतिनिधित्व लगायतका विषय सुनिश्चित गरिएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले यस्तो घोषणा गरेका हुन् । बिहीबार प्रचण्डले, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले र उपमहासचिव जनार्दन शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । मूल रुपमा प्रस्तुत भएको प्रचण्डको प्रस्तावको पक्षमा अधिकांश केन्द्रीय सदस्य उभिएका छन् ।
प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो ।
तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम सकिएपछि प्रचण्डले जवाफ दिएका हुन् ।
नेताहरूका अनुसार १० वटै समूहले अध्यक्ष प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका छन् । एक नेता भन्छन्, ‘९५ प्रतिशत बढी मत अध्यक्षको प्रस्तावको समर्थनमा प्रष्ट छ । केही प्रतिशत तटस्थ जस्तो छ र उपमहासचिव शर्माको प्रस्तावमा केही समर्थन छ ।’
समूहगत निष्कर्ष प्रस्तुत गर्दा सँगै पदाधिकारीहरूले पनि धारणा राखेका थिए । धारणा राखेका पदाधिकारीमध्ये राम कार्की बाहेक अधिकांशले प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका थिए ।
कार्कीले भने प्रदेश अध्यक्ष कामय राख्ने र अन्य सबै समिति भंग गरेर महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया 4