
News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग राजनीतिक समीक्षा गरेका छन्।
- एमाले नेताहरूले राजनीतिक दललाई किनारीकृत गरेर अन्तरिम सरकार अघि बढ्न खोजेको आशंका बढेको भन्दै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका छन्।
- राष्ट्रपति पौडेलले दलहरूको कमजोरी सुधार्दै लोकतन्त्र सबल बनाउनुपर्ने र चुनाव सफल बनाउन एमालेको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
१० भदौं, असोज । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका कारण करिब दुई साता चुपचाप बसेका एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार लामो राजनीतिक समीक्षा गरेका छन् ।
त्यस क्रममा राजनीतिक दलहरूलाई किनारीकृत गरेर अन्तरिम सरकार अघि बढ्न खोजेको आशंका बढेको भन्दै एमाले नेताहरूले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।
अध्यक्ष केपी शर्मा ओलीपछि पार्टीमा निर्णायक र माथिल्लो पोजिसनमा रहेका तीन नेताहरू वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शीतल निवास पुगेका थिए ।
हाल गुण्डुस्थित निवासमै बसिरहेका अध्यक्ष केपी शर्मा ओलीले यसै साता पार्टीका शीर्ष नेताहरुलाई पालैपालो बोलाएर निवासमै छलफल गरेका थिए ।
ती छलफल समेतको संश्लेषणका आधारमा बिहीबार तीन नेताहरु राष्ट्रपति पौडेल कहाँ गएका थिए ।
त्यहाँ उनीहरूले जेनजी आन्दोलन, त्यसले सिर्जना गरेको परस्थिति र आगामी राजनीतिक कोर्षको विषयमा कुरा राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अनुसार संविधान र लोकतान्त्रिक व्यवस्था कायम रहेकाले यसमा धक्का लाग्ने कार्य मान्य नहुने धारणा एमाले नेताहरूको थियो ।
‘संविधान छ । लोकतान्त्रिक गणतन्त्रको स्थिति कायमै छ । यस्तो अवस्थामा बनेको सरकारले ती चीजहरू ख्याल गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले अनलाइनखबरसँग भने,’राजनीतिक दलहरूका भूमिकालाई कमजोर बनाउने ढंगले गयो भने उचित हुँदैन । यसमा ध्यान जानु आवश्यक छ भनेर हामीले राष्ट्रपतिलाई भनेका छौं ।’
आन्दोलपछि अन्तरिम सरकार बनेको दुई साता भइसकेको छ । यो बीचमा चुनाव घोषणा र मतदाता नामावली संकलनका लागि अध्यादेश जारी भएको छ ।
तर चुनावका मुख्य सरोकारवाला राजनीतिक दलहरु समक्ष सरकारका तर्फबाट संवाद र समन्वयको कोसिस पनि भएको छैन ।
बिहीबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनमा चुनाव सफल पार्नका लागि दलहरुलाई पनि आह्वान गरेकी छन् ।
तर त्यो बाहेक राजनीतिक दलहरुलाई कतै सोधीखोजी भएको छैन । यो विषयलाई एमाले नेताहरुले गम्भीरतासाथ उठाएका थिए ।
चुनावी प्रक्रियाका लागि सुरुदेखि नै राजनीतिक विश्वासको वातावरण बन्नुपर्ने तर त्यो दिशामा काम हुने छाँट नदेखिएको एमाले नेताहरूको विष्लेषण थियो ।
चुनाव गर्ने मूल म्याण्डेट पाएर बनेको सरकार अन्यत्र केन्द्रित हुने हो कि, भन्नेमा एमाले नेताहरूको चासो थियो ।
यो कुरा उनीहरूले राष्ट्रपति समक्ष खुलेर राखेका थिए । घोषित मितिमा चुनाव गर्नका लागि सहयोग गर्ने तर चुनाव नहुने वातावरण बनाउन सरकार नै लाग्ने कुरा चाहिँ एमालेका लागि मान्य नहुने उनीहरुको धारणा थियो ।
यो अवस्था चिर्नका लागि संवैधानिक दायराभित्रबाटै राष्ट्रपतिले भूमिका खेल्न सक्ने एमाले नेताहरुले उल्लेख गरेका थिए ।
‘हामीले घोषित मितिमा होस् । अनेक जालझेल षड्यन्त्रका कुराहरू नहुन् भन्यौं,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर अनेक प्रक्रिया अघि बढाउने कुरा भयो भने त्यो लोकतन्त्रको स्वास्थ्यका लागि राम्रो हुँदैन, राष्ट्रपतिले पनि यो कुरा बुझ्नुपर्ने हुन्छ ।’
अन्तरिम सरकारको नेतृत्वले पनि यो कुरा राम्ररी बुझ्न जरुरी रहेको पोखरेलले बताए । ‘अहिलेको अन्तरिम सरकारको नेतृत्वलाई राष्ट्रपतिले स्वाभाविक रुपमा ध्यानाकर्षण गराउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ पोखरेलले भने ।
अहिले परिस्थिति र ‘षड्यन्त्र’ समेतका कारण नयाँ खालको सरकार बन्ने अवस्था आए पनि लोकतन्त्रका लागि यिनै राजनीतिक दलहरू लडेको सन्दर्भ एमाले नेताहरूले राष्ट्रपतिसँगको कुराकानीमा जोडेका थिए ।
यी दलहरू अझै पनि क्रियाशील रहेको र चुनावमा जाने पनि यीनै दल भएकाले उनीहरु बेखबर बन्ने अवस्थाले स्थिति ठीक नहुने उनीहरुको धारणा थियो ।
राष्ट्रिय सबै मुद्दाहरूमा प्रमुख पार्टीहरूलाई बाइपास गरेर जाने खालको गतिविधिले समस्या बढाउने उनीहरूले उल्लेख गरेका थिए ।
करिब दुई घण्टा भएको भेटघाटमा राष्ट्रपति पौडेलले आफूले कठिन परिस्थितिलाई सम्हालेर चुनावमा जाने ढोकासम्म खोलेकोले यसलाई प्रयोग गरेर जाने एमाले नेताहरूलाई सुझाव दिएका छन् ।
उनले दलहरुमा भएका कमीकमजोरी कै कारण अहिलेको परिस्थिति उत्पन्न भएकोले यसको समीक्षा गरेर अघि बढ्न अनुरोध गरेका थिए ।
लोकतान्त्रिक राजनीतिक दलहरूलाई वेवास्ता गरेर लोकतन्त्र चल्न नसक्ने कुरामा आफू पनि स्पष्ट रहेको धारणा राष्ट्रपतिले राखेका थिए ।
तर चुनाव मुख्य कुरा भएकाले यसका लागि वातावरण बनाउने काममा एमालेको भूमिका पनि महत्वपूर्ण हुने भन्दै उनले ध्यानकर्षण गराए ।
एमाले नेताहरुले राष्ट्रपति पौडेललाई अहिले चालेका राजनीतिक गतिविधिहरूप्रति पार्टीको तर्फबाट धन्यवाद दिएका थिए ।
‘उहाँले संविधानका रक्षाका लागि जुन संकटका बेला भूमिका खेल्नुभयो हामीले उहाँलाई धन्यवाद दिएका छौं’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,’लोकतन्त्रमा राजनीतिक दलहरू सबल र सुढृढ हुनुपर्छ । दलहरुले आफ्ना कमजोरी सुधार्दै अघि बढ्नुपर्छ भन्ने उहाँका आफ्ना भनाइहरुलाई हामीले आत्मसात गरेका छौं ।’
एमालेभित्र पछिल्लो घटना हुनुमा तत्कालीन सरकार नेताहरुको कार्यशैली मात्र नभई अन्य षड्यन्त्र बढ्ता मिसिएको विश्लेषण भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले नै यो कुरा भनिरहेका छन् ।
मंगलबार आफ्नो निवासमा पुगेका केही नेता कार्यकर्तालाई त उनले आफूलाई मार्नसम्मको षड्यन्त्र भएको भन्दै सार्वजनिक रूपमा नै भने ।
‘पाँच मिनेट ढिलो गरेको भए बालुवाटारमै मार्ने रहेछन्, धन्न सुरक्षाकर्मीले भगाएका कारण जोगिएँ’ उनले भनेका थिए, ‘ठूलो षड्यन्त्र छ । मुलुकलाई जोगाउनका लागि ठूलो भूमिका खेल्नुपर्छ ।’
प्रतिक्रिया 4