
News Summary
Generated by OK AI. Editorially reviewed.- कुलानन्द शर्मा अमेरिका पुगेपछि ग्यास स्टेशनदेखि रियलस्टेट र वित्तीय क्षेत्रमा सफल व्यवसायी बनेका छन्।
अमेरिका । बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो पहिचान फैलाउन सफल छन् ।
धेरैको लागि सपनाको देश हो अमेरिका । गर्नेहरूका लागि अवसरको खानी हो । कुलानन्द शर्मा (कुल) सँग पनि अमेरिका प्रवेश गरेपछि अनेकौ सपनाहरू थिए तर सन्तोष थिएन । त्यसैले अमेरिका आएको ५ महिनामै नेपाल फर्के ।
सन् २०१० को अक्टोवरमा अमेरिका आएका उनी २०११ को मार्चमा बाग्लुङ बजार गएर जागिरलाई निरन्तरता दिए । ‘मलाई त किन हो किन त्यो बेला अमेरिकाले तान्नै सकेन’ उनी विगत सम्झिन्छन्, ‘त्यही भएर नेपालको सबै छाडेर यता आएको केही महिनामै गाँउ फर्किएँ । ’
उनी बाग्लुङमा कहलिएका शिक्षक थिए । प्रधानाध्याकदेखि विद्यालयको स्रोत व्यक्तिसम्मको जिम्मेवारी पाएका थिए । गाउँ, शहर जता पुगे पनि चिनेका मान्छे भेटिन्थे । सबैले उनलाई हात जोड्थे । अमेरिका उनका लागि नौलो र बिरानु बन्यो । नयाँ मानिस, नयाँ काम, अनि अनौठो जीवनशैली । उनको मन पटक्कै अडिएन । अनि नेपाल फर्किएर पुन: जागिरमा जोडिएका थिए।
नेपाल फर्किएपछि पनि उनलाई शान्ति मिलेन । अमेरिका पुगेर पनि फर्किएर आएको भनेर आफन्त साथीभाइले अचम्म मान्न थाले । फेरि फर्किएर जान आग्रह गर्न थाले । परिवारका व्यक्तिले पनि यही भन्दै करकर गर्न थाले । सबैको आग्रहसँगै उनको मन बदलियो । परिवारको भविष्यकै लागि भएपनि उनी अमेरिका आउन तयार भए ।
यस पटक उनी अमेरिका अमेरिकामा पूर्वी राज्य नर्थ क्यारोलिना आइपुगे । नर्थ क्यारोलिनाको ज्याक्सनभिल सिटीमा ज्वेलरी स्टोरमा काम सुरु गरे । पछि ग्यास स्टेसन (पेट्रोल पम्प)मा काम सुरु गर्दै उनले यात्रा अघि बढाए ।
ग्यास स्टेसनमा कामको अनुभव सँगै साथीहरूसँग मिलेर सन् २०१५ मा न्युटन ग्रोभ शहरमा ग्यास स्टेसन व्यवसाय सुरु गरे। त्यसपछि उनको व्यवसायिक यात्रा निरन्तर उकालो लाग्यो । मेहनत, कामप्रतिको लगाब, समर्पणले उनलाई सफलताको सिढीमा चढाएको छ ।
यसपछि उनको व्यवसायिक क्षेत्र रेस्टुरेन्ट, ग्रोसरी, घरजग्गा कारोबार, इन्सुरेन्स, घर–जग्गा लगानी र वित्तीय क्षेत्र धेरै तिर फैलिएको छ । पछिल्ला वर्षमा उनले नर्थ क्यारोलिनामा पाएको सफलता धेरै नेपालीका लागि प्रेरणादायी छ । अमेरिकामा रहेका धेरै नेपालीहरूको गन्तव्य बनिरहेको नर्थ क्यारोलिनाको व्यवसायिक क्षेत्रमा जमेका छन् शर्मा ।
‘निरन्तर श्रम, अटूट उत्साह र ऊर्जाले नर्थ क्यारोलिनामा कुलानन्द शर्मालाई लोभलाग्दो सफलताको मिलेको गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बताउँछन् ।
कुलानन्दका नर्थ क्यारोलिनामा दुई वटा एकल ग्यास स्टेसन सञ्चालनमा छन् भने केही साझेदारीमा समेत छन् । नर्थ क्यारोलिनाकै हाइपइन्ट र ग्रिन्सवोरोमा सञ्चालित दुई ठूला नेपाली ग्रोसरी स्टोर इन्दु ग्रोसरीका लगानीकर्ता मध्ये एक हुन् उनी । त्यसको व्यवस्थापन उनीसहित अर्का व्यवसायी तथा एनआरएनका अगुवा डा. केशव पौडेलले गर्छन् ।
नर्थ क्यारोलिनामा यी दुई विशाल ग्रोसरी स्टोर खुलेपछि नेपालीहरू भारतीय स्टोरमा जानुपर्ने बाध्यता हटेको छ । धेरै नेपालभाषी यसबाट लाभान्वित बनेका छन् । ग्रिन्सबोरो, हाइपइन्ट, बर्लिङटन, मेवन, विष्टन सलेम लगायतका नेपाली ग्रोसरीका लागि त्यही पसलमा पुग्छन् । ग्रिन्सवोरोको नुर नामक इन्डियन नेपाली रेस्टुरेन्टका उनी पनि एक लगानीकर्ता हुन् । त्यसो त इन्दु ग्रोसरीसँगै क्याफे नामक फाष्टफुड रेस्टुरेन्ट पनि सञ्चालनमा छ ।
२०२० देखि घर जग्गाको कारोबारमा लागेका कुल नर्थ क्यारोलिनाका चल्तीका रियल्टरको रूपमा कहलिएका छन् । ड्रिम होम रियल्ट्री नामक ब्रोकरेज कम्पनी स्थापना गरेर यस क्षेत्रमा सक्रिय छन् । अमेरिकामा करिब ४०० देखि ४५० हाराहारी नेपालीहरू रियल्टरको रूपमा काम गर्दै आएको अनुमान छ नेपाली तथा नेपालीभाषी सहित ।
९५ प्रतिशत नेपालीहरू अमेरिकन कम्पनीमा काम गर्छन भने केहीले घरजग्गाको काम गर्ने ब्रोकरेज कम्पनी नै खोलेर अरु रियल्टर ब्रोकरलाई काम दिएका छन् । यिनै थोरै मध्ये ड्रिम होम रियल्टी पनि एक हो, जुन नर्थ क्यारोलिनामा नेपालीले स्थापना गरेको पहिलो रियल स्टेट ब्रोकरेज हो ।
यसले नेपाली समुदायलाई नयाँ क्षितिजमा पुर्याएको छ । यहाँका कहलिएका व्यवसायी रविन कार्की, राज घिमीरेसँगको सहकार्यमा यो स्थापना भएको हो । यसमा नेपाली १५ जना रियल्टर संलग्न छन् ।
त्यसो त उनको समहूले घरदेखि जग्गासम्म किनेर भाडामा लगानी गरेका छन् । उनकै समूहले नर्थ क्यारोलिनाको साइलर सिटीमा करिब ४०० एकड जग्गा किनेर नेपाली बस्ती बसाल्ने कार्यक्रम जारी छ । यसको नेतृत्व आयोजनाका व्यवसायी राधेस पण्डितले गरेका छन् ।
कुल चल्तीका तथा विश्वासिला लोन अफिर समेत हुन् । लोन अफिसरले घर किन्नेलाई ऋण दिलाउने काम गर्छन् । फेडेलिटी डाइरेक्ट मोर्गेज नामक वित्तीय संस्थामा आबद्ध भएर काम गरिरहेका छन् । यस क्षेत्रमा लागेको २ वर्षमा धेरै लोन बेचे बापत लार्ज भोल्यूम अवार्ड नै पाए उनले । फेडेलिटी डाइरेक्ट मोर्गेज केरीका शाखा प्रमुख कुल सगर्व: भन्छन् ‘निरन्तर मेहनत, ग्राहकको विश्वास, समुदायको साथकै कारण म यहाँ पुगेको हुँ ।’
त्यसो त आफ्नो युपिएस (युनाइटेड पार्ससल सर्भिस) नामक स्टोर सञ्चालनमा ल्याउदै छन् उनले केरी शहरमा । पिग्लीविग्ली नामक अमेरिकी चेन ग्रोसरीमा संलग्न छन् कुल ।
भर्जिनिया राज्यको ड्यानभिल गत वर्षबाट उनको समूहले सुरु गरेको यो नर्थ क्यारोलिनको ग्रिन्सबोरोमा केही महिनाभित्र सुरु हुने गरी काम गरिरहेको उनले सुनाए । पिग्लीविग्ली स्टोर अमेरिकामा ४९० भन्दा बढी छन् । यसमा झण्डै ३ दर्जनले रोजगारी पाएका छन् ।
गैरआवासीय नेपाली संघ नर्थ क्यारोलिनाको अध्यक्ष भइसकेका शर्मा बुद्धि सुवेदी गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष हुँदा मेम्बरसिप ड्राइभ पोलिसी कमिटीको अध्यक्ष बनेका थिए शर्मा । नर्थक्यारोलिनाको मोरिसभिल शहरको पब्लिक सेफ्टी एज्भाइजरी कमिटीमा सदस्य समेत रहेका छन् ।
बागलुङको पैयूँ थन्थापमा जन्मिएका उनले व्यवसायमा आउने धेरैलाई सहयोग, सहजीकरण गर्दै आएका छन् । उनको सहयोगले एक दर्जन भन्दा बढी नेपालीभाषीहरू व्यवसायमा जमेका छन् ।
प्रतिक्रिया 4