+

एसिया पेसिफिक मोटर स्पोर्ट्‌स च्याम्पियनसिप सुरु, नेपालबाट ६ खेलाडी सहभागी

२०८२ असोज  ११ गते ११:१४ २०८२ असोज ११ गते ११:१४
एसिया पेसिफिक मोटर स्पोर्ट्‌स च्याम्पियनसिप सुरु, नेपालबाट ६ खेलाडी सहभागी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका ६ खेलाडी र १ अफिसियलले श्रीलंकाको कोलम्बोमा सुरु भएको एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाएका छन्।
  • नासा नेपालका अध्यक्ष दशरथ रिसालले नेपाली मोटर स्पोर्ट्स एसियाली स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए।
  • प्रतियोगितामा २५ देशका २१० ड्राइभर सहभागी छन् र सेप्टेम्बर २८ मा फाइनल चरण सम्पन्न हुनेछ।

११ असोज, काठमाडौं । दशैंको माहोलबीच नेपालसहित विश्वका मोटर स्पोर्ट्स पारखीहरूको ध्यान श्रीलंकाको कोलम्बोतर्फ तानिएको छ, जहाँ शुक्रबारदेखि एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेन्डरमा सूचीकृत यो प्रतियोगिता सेप्टेम्बर २८ सम्म श्रीलंकास्थित कार्टिङ सर्किटमा हुनेछ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को व्यवस्थापन र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा ६ जना खेलाडी र १ जना अफिसियलले सहभागिता जनाएका छन्।

टोलीलाई सेप्टेम्बर २४ मा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराईसहित पदाधिकारीहरूले बिदाइ गरेका थिए। अध्यक्ष रिसालले नेपाली मोटर स्पोर्ट्स अब एसियाली स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेकोमा खुसी व्यक्त गरेका थिए।

नेपालबाट अटो–जिमखाना, क्रस–कार, अटोक्रस तथा ई–स्पोर्ट्स विधामा आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनुवार र रोशन अधिकारी प्रतिस्पर्धा गर्दै छन् भने आशीष रौनियार टोली व्यवस्थापकका रूपमा सहभागी भएका छन्।

ललितपुरका आशिष (रोनी) भारती चार पांग्रे रेसिङमा नेपालका उत्कृष्ट खेलाडी मानिन्छन्। उनले मलेसिया, भारत, थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् र नेपालमा अटो जिमखाना, अटोक्रस तथा मोटरस्पोर्ट्स फेस्टिभलमा उपाधि जितेका छन्।

त्यस्तै, नुवाकोटका राजकुमार कार्की एक दशकभन्दा बढी अनुभव बोकेका बाइक रेसर हुन्। उनले १० भन्दा बढी पटक पोडियम फिनिस गर्दै नेपालको कीर्तिमान बनाएका छन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय फोर–ह्विलर सहभागिता हो।

भक्तपुरकी बिपास्ना तामाङ बागमती अटो जिमखाना च्याम्पियनसिप–२०२४ मा दोस्रो भएकी थिइन्। मोटरस्पोर्ट्समा महिलाको उपस्थिति बलियो बनाउन सक्ने अपेक्षा उनबाट गरिएको छ।

सिम–रेसिङमा सक्रिय जय प्रताप मास्केले २०२३ मा सिंगापुरमा भएको ओलम्पिक ई–स्पोर्ट्स सिरिजमा नेपाल प्रतिनिधित्व गरेका थिए। यसपटक उनी अटोक्रस फर्म्याटको क्रसकार इभेन्टमा सहभागी छन्।

बुढानीलकण्ठका रबिन सुनुवारले २०२२ मा टाइम अट्याक च्यालेन्जमार्फत मोटरस्पोर्ट्स यात्रा सुरु गरेका थिए भने विभिन्न राष्ट्रिय प्रतियोगितामा उपाधि जितेका छन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।

अर्का खेलाडी रोशन अधिकारीले २०१८ मा भारतमा फर्मुला फोर्डमार्फत मोटरस्पोर्ट्स यात्रा सुरु गरेका थिए। हाल अष्ट्रेलियामा बस्दै आएका उनले स्थानीय ई–स्पोर्ट्स इभेन्टमा निरन्तर प्रतिस्पर्धा गर्दै आएका छन् र यसपटक पहिलोपटक आधिकारिक एसिया–प्यासिफिक प्रतियोगितामा सहभागी भएका हुन्।

२५ देशका २१० ड्राइभर सहभागी यस प्रतियोगितामा प्रारम्भिक चरणका रेस सेप्टेम्बर २६ र २७ मा सम्पन्न हुनेछ भने सेप्टेम्बर २८ मा फाइनल चरणका रेससँगै च्याम्पियनसिप सम्पन्न हुनेछ।

नेपालमा मोटरसाइकल रेसिङ अत्यन्तै लोकप्रिय भए पनि अटो जिमखाना, अटोक्रस, कार्टिङ तथा टीएसडी र्यालीमार्फत मोटर स्पोर्ट्सको अभ्यास विस्तार हुँदै गएको छ। नासा नेपालले साहसिक पर्यटन र सडक सुरक्षासँगै यस खेललाई स्थापित गर्न सक्रिय भूमिका खेलेको छ।

एसिया पेसिफिक मोटर स्पोर्ट्‌स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय