
News Summary
Generated by OK AI. Editorially reviewed.- आयुष्मानले \'विक्की डोनर\' बाट बलिउडमा डेब्यु गरेका थिए र सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेका छन्।
आयुष्मान खुरानाले आफ्नो अभिनय यात्रामा धेरैजसो सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेका छन् । बलिउडमा उनले ‘विक्की डोनर’बाट डेब्यु गरेका हुन् । यो फिल्ममा स्पर्म डोनेसनजस्तो संवेदनशील विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।
त्यसयता बधाई हो, आर्टिकल १५, ड्रिम कला, अन्धाधुन, डाक्टर जी, एक्सन हिरो लगायतका धेरै फिल्ममा काम गरेका छन् । अभिनय करियरको सुरुवातदेखि नै समाजका खोक्रा सोच र मान्यतालाई चुनौती दिने फिल्महरू छनौट गर्नाले आयुष्मान आजको दिनमा एक ठूलो कलाकारको रूपमा स्थापित छन् ।
‘तेजाब’ हेरेर अभिनेता बन्ने सोच
अभिनयसँगै गायनमा पनि आयुष्मान उत्तिकै जम्छन् । उनी टेलिभिजन होस्टको रूपमा पनि चिनिन्छन् । अहिले ४० वर्षमा हिँडिरहेका उनको जन्म भारतको चण्डीगढमा भएको हो । त्यहीँ हुँदा उनकी हजुरआमाबाट उनलाई अभिनयको प्रेरणा मिलेको थियो । उनकी हजुरआमाले घरमै राज कपूर र दिलीप कुमारको नक्कल गर्थिन् ।
आयुष्मान ६ वर्षको हुँदा पहिलोपटक आफ्ना आमाबुवासँग थिएटर गएका थिए । त्यहाँ उनीहरूले अनिल कपूर र माधुरी दीक्षितको फिल्म तेजाब हेरेका थिए । त्यही दिन उनले मनभित्रैबाट अभिनेता बन्ने निर्णय गरेका थिए ।
त्यसपछि उनले पञ्जाब विश्वविद्यालयमा थिएटर पढे । नाटक तथा सडक नाटकहरूमा भाग लिए । सुरुमा उनी स्टेजमा जान डराउने गर्थे । गएर बोल्न सक्दैन थिए । उनका बुबाले उनलाई हरेक जन्मदिनको पार्टीमा गाउन र नाच्न लगाउँथे । यो बाहेक उनमा आत्मविश्वास जगाउन बुबाले धेरै प्रकारका अभ्यास गराउने गर्थे । कालान्तरमा उनमा स्टेजको डर हट्यो ।
असफलतापछि आत्माको आवाज
करियरको सुरुवातमा आयुष्मान धेरै वटा अडिसनहरूबाट अस्वीकृत हुनु परेको थियो । त्यसको कारण थियो–उनको बाक्लो आँखीभौं र पञ्जाबी उच्चारण । काम नपाएपछि उनले रेडियोमा कार्यक्रम प्रस्तोताको रूपमा काम गर्न थाले । त्यही दौरान उनले २००४ मा एमटीभी रोडिज नामक शोमा भाग लिए । त्यसमा सफल भएनन् । तर दोस्रो सिजनका विजेता नै बने ।
त्यसपछि उनी टेलिभिजनमा छिरे । त्यहाँ पनि उनले कार्यक्रम सञ्चालकको भूमिका निभाए । यसरी नै उनको जीवन चलिरहेको थियो । सन् २०१२ उनका लागि महत्त्वपूर्ण वर्ष बन्यो । किनकि सोही वर्ष सुजित सरकारद्वारा निर्देशित विक्की डोनरमा उनले काम गरेका थिए, जुन सुपरहिट भयो ।
त्यसपछि आएका नौटन्की साला, बेवकूफियाँ र हवाईजादाले भने खासै सफलता पाएनन् । त्यसबीच उनले बुझे कि, अनुभवी निर्देशकका फिल्महरू पनि फ्लप हुन सक्छन् । र नयाँ निर्देशकको फिल्म पनि सुपरहिट हुन सक्छ ।
त्यो समयमा उनी अन्य मानिसहरूको कुरा बढी सुन्थे । तर उनलाई थाहा भयो-यो क्षेत्रमा निश्चित नियम हुँदैन । त्यसपछि उनले आफ्नै भित्री आवाज मात्र सुन्न थाले । त्योबेलादेखि आफ्ना फिल्महरू फेरि चल्न थालेको उनको भनाइ छ ।
समझदार कलाकार
आयुष्मानका निर्देशक साथी राज शान्डिल्यका अनुसार उनी समझदार कलाकार हुन् । उनले संगीत, स्क्रिप्ट, कन्टेन्ट सबै कुरालाई राम्रोसँग बुझ्ने उनको भनाइ छ । यस्ता धेरै गुणहरू भएका मानिस नै आयुष्मानजस्ता बन्न सक्ने उनको दाबी छ ।
निर्देशक शान्डिल्यका अनुसार मेकअप गरेर फ्यानसँग फोटो खिच्नु मात्र कलाकार होइन । कालकारको मुख्य जिम्मेवारी समाजलाई सन्देश दिनु हो । आयुष्मानले यही कुरा बुझेको शान्डिल्य सुनाउँछन् ।
‘उनी सामान्य परिवारबाट आएका हुन्, कसैको सिफारिसबिना । उनले आम मानिसका कथालाई फिल्ममार्फत् बोल्न जानेका छन् । यही कुराले उनलाई विशेष बनाउँछ’ उनी भन्छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4