
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीहरु एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् ।
लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सक्रिय रहेको भन्दै उनले दलहरुको जागरुकता र एकतामा जोड दिएका हुन् ।
आइतबार बिहान महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्ने छौं । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौं ।’
पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको बताउँदै उनले भने, ‘हामी पुन: जागरुक भएर उठ्ने छौं ।’
प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । कांग्रेस समीक्षासहित आउने र नेपाललाई विकास निर्माण तथा रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्ने बताए ।
प्रतिक्रिया 4