
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरानिवासी चिन्तक विश्व सिग्देलले जेन-जी विद्रोहलाई नेपाली कांग्रेस र समग्र राजनीतिमा दबाइएका भावनाहरूको असंगठित आवाज भनेका छन्।
- नेपाली कांग्रेसमा गुटगत राजनीति, पदलोभ र जिम्मेवारी हस्तान्तरणमा असमर्थताले पार्टीलाई मानसिक र संस्थागत संकटमा पुर्याएको छ।
- लेखकले गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नेतृत्व र प्रधानमन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव राखेका छन्।
`जेन-जी विद्रोहको माग मुठ्ठीभर मोबाइलमा झुण्डिने हुल्याहा केटाहरूको झुण्ड होइन, हाम्रै ओछ्यानमा काखमा लिएर सुताएका, लाम्टो चुसाएका किशोर–किशोरीहरूको असंगठित आवाज हो। कम आँकियो वा उपेक्षा गरियो भने उनीहरू फेरि ‘खाण्डववनमा दन्किएको दावानल’ बनेर निस्कने छन्।”
पोखरानिवासी चिन्तक विश्व सिग्देलको सामाजिक सञ्जालमा व्यक्त यो भनाइ अहिले देशकै राजनीतिक चेतनाको दर्पण बनेर आएको छ। यो कुनै सामान्य अभिव्यक्ति होइन, गम्भीर चेतावनी हो।
महाभारतकालीन खाण्डववन दहनको कथा- जहाँ अर्जुन र कृष्णले भीषण आगो लगाएका थिए, त्यो दावानल कुनै सीमामा रोकिएन। त्यसैगरी समाजमा दबाइएका भावनाहरू, उपेक्षा गरिएको पुस्ताको आवाज वा दबाएर राखिएको विद्रोह, अन्ततः नियन्त्रण बाहिर निस्केर पूरै संरचना भस्म पार्न सक्छ। यही चेतावनी आज नेपाली कांग्रेस पार्टी र समग्र नेपाली राजनीतिका सामु खडा भएको छ।
देश मात्रै होइन, नेपाली कांग्रेस आफैं पनि अहिले एक किसिमको मानसिक, नैतिक र संस्थागत दावानलमा जलिरहेको छ। गुटगत राजनीति, पदलोभ, ‘जुनियर–सिनियर’को सोच, व्यक्तिगत आकाङ्क्षा र पद गुम्ने डरले पार्टीको विश्वास र व्यक्तित्व कमजोर बन्दै गएको छ।
आज पनि नेतृत्व तहमा अरुलाई नेता मान्न सक्दैनौं, पद त्याग्न सक्दैनौं, जिम्मेवारी हस्तान्तरण गर्न सक्दैनौं भन्ने संकिर्णता व्यापक छ। बरु “देश र पार्टी जहाँसुकै जाओस्, तर मेरो पद सुरक्षित रहोस्” भन्ने मानसिकता जरा गाडेर बसेको छ। यो मानसिकताले कांग्रेसलाई पुनः खाण्डववनको दावानलमा पुर्याउने त होइन? खतरा जीवित छ।
समस्या नेतृत्वको मात्र होइन, सम्पूर्ण पार्टीको संस्कार र सोच पुनर्निर्माणको हो। यसका लागि हामी जहाँ छौं, जुन पद र जिम्मेवारीमा छौं त्यसलाई छोडेर पनि पार्टीको पुनर्निर्माणमा सहयोग गर्ने संकल्प गर्नुपर्छ। नेपाली कांग्रेसलाई नयाँ पुस्ताले विश्वास गर्ने, आम जनताले आशा गर्ने र देशले भरोसा गर्ने संस्थामा रूपान्तरण नगरी यो संकट समाधान हुने छैन।
हालैको जेन जेड आन्दोलनले नेपाली राजनीतिलाई ठूलो पाठ पढाएको छ। यो आन्दोलनलाई कतिपयले मोबाइलमा टोलाइरहेका केही हुल्याहा युवाको आवाज भनेर होच्याउने प्रयास गरेका छन्। तर वास्तविकता के हो भने, यो आन्दोलन नयाँ पुस्ताको मौन पीडाको विस्फोट थियो। हामीले आफ्नै छोराछोरीलाई काखमा हुर्कायौं, उनीहरूलाई भविष्यको सपना देखायौं, तर राज्यले उनीहरूलाई त्यो सपना पूरा गर्ने सुशासन र विश्वास दिन सकेनl रोजगारी र अवसर दिन सकेन।
त्यसैले उनीहरू सडकमा निस्कन विवश भए। अझै पनि कांग्रेस पार्टीले यो सन्देशलाई गम्भीरतापूर्वक लिन सकेन भने, यो पार्टीको भविष्य अत्यन्तै अन्धकारमय हुनेछ।
पार्टी सुधारको कुरा गर्दा कतिपय साथीहरूले भन्नुहुन्छ, “नेतृत्व फेरे पुग्छ।” तर वास्तविकता फरक छ। नेतृत्व परिवर्तन मात्रै समाधान होइन; राजनीतिक संस्कार, सोच र कार्यशैलीको पूर्ण पुनर्निर्माण आवश्यक छ।
‘देश र पार्टी जहाँसुकै जाओस्, तर मेरो पद सुरक्षित रहोस्’ भन्ने मानसिकता जरा गाडेर बसेको छ। यो मानसिकताले कांग्रेसलाई पुनः खाण्डववनको दावानलमा पुर्याउने त होइन? खतरा जीवित छl
हामी सबैका लागि, सबैभन्दा माथि देश हो र हुनुपर्छl देशभन्दा माथि पार्टी होइन र नागरिकभन्दा माथि नेता होइनन्, पार्टीका सदस्य होइनन्l उत्तरदायित्व, पारदर्शिता र जनमुखी राजनीतिको नयाँ जग र संस्कार बनाउन सकिएन भने, नेतृत्व बदलेर पनि हाम्रो नियति बदलिने छैन।
चर्को असन्तुष्टिले अर्को रुप लिएपछि त्यो बिद्रोह बन्दो रहेछ र त्यसले नियम र कानुन भत्काएर परिणाम खोज्दो रहेछ। यस्तो अवस्थामा हृदयको विद्रोहले आशा लाग्दो भविष्यको सपना र विचार बोकेर खुला आकाशमा स्वतन्त्र ढंगले विचरण गर्न प्रेरित गर्दोरहेछ। यसैले म जोडदारसँग भन्न चाहन्छु, यतिबेला विधि विधानको बखेडा नझिकौं। विधि विधानमा के मिलाउनु पर्ने हो मिलाऔं ।
नमिलेको कुरा झिकौं, आवश्यक कुरा थपौं र देशको यो फरक संक्रमणकालीन अवस्थामा देश र जनतालाई सम्बोधन गर्ने परिपक्व निष्कर्ष पेश गरौं। अमूर्त होइन, ठोस र मूर्त कुरा गरौं। आगामी फाल्गुन २१ गतेको निर्वाचनपछि बन्दोबस्तले सोचौंला, अझै के राम्रो हुन्छ बहस र छलफल गरौंला। महाधिवेशन गरौंला र नयाँ नेतृत्व छनौट गरौंला। समयको जटिलतालाई सदैव एउटै आखाले मात्र हेर्नु हुँदैन।
यसैले आजको चुनौतीलाई ध्यानमा राख्दै, मेरो स्पष्ट प्रस्ताव छ।
१. पार्टीको विधानमा आवश्यक अन्तरिम व्यवस्था गरौं।
२. आगामी फाल्गुन २१ गतेको निर्वाचनलाई व्यवस्थापन गर्न विशेष महाधिवेशन बोलाऔंl
३. पार्टीका दुई महामन्त्रीमध्ये एकलाई पार्टीको नेतृत्व र अर्कोलाई आगामी निर्वाचन तथा त्यसपछि बन्ने सरकारको नेतृत्वको जिम्मा दिऔं।
यसमा गगन थापा सामाजिक सञ्जालमा मात्रै होइन आम नेपालीका बीचमा सबैभन्दा बढी चर्चित, लोकप्रिय र आशा जगाउने नेताका रूपमा स्थापित भइसक्नुभएको छ। उहाँलाई आम युवाले “भविष्यको प्रधानमन्त्री” भनेर खुलेर समर्थन गरेका छन्। उहाँले सुशासनका मुद्दामा सडकदेखि संसद्सम्म निरन्तर आवाज उठाउनुभएको छl मन्त्री भएर क्षमता प्रमाणित गरिसकेका उहाँमा भिजन, ऊर्जा र साहस छ भन्ने कुरा कार्यकर्तादेखि जनतासम्मले स्वीकार गरेका छन्l
ट्विटरमा एक प्रयोगकर्ताले लेखेका थिए: “गगन थापा प्रधानमन्त्री भए भने मेरो पुस्ताले पनि नेपालमा भविष्य खोज्नेछ।”
त्यसैले, यदि कांग्रेसले गगनलाई आगामी संघीय निर्वाचनकै अघि प्रधानमन्त्री पदको उम्मेदवार भनेर घोषणा गरिदियो भने, त्यो कांग्रेस मात्र होइन, समग्र लोकतन्त्रका लागि ऐतिहासिक मोड हुनेछ। त्यसैगरी सामाजिक सञ्जाल, पार्टी संयन्त्र र आम समुदायको बीचमा विश्वप्रकाश शर्मा प्रति जनभावना तुलनात्मक रुपले सकारात्मक देखिन्छ। कतिपयले उहाँलाई “कांग्रेसको नवनिर्माण गर्ने विचारशील नेता” भनेर चित्रित गरेका छन्। उहाँको अभिव्यक्ति शैलीमा सकारात्मकता, सरलता र स्पष्ट दृष्टिकोण पाइन्छ। ‘नेता भनेको जनताको सेवक हो’ भन्ने भावनालाई निरन्तर व्यवहारमा उतार्न खोज्नुभएको छ। पार्टीभित्र पनि उहाँलाई पुलको भूमिकामा रहने, सबैलाई सुन्ने र मिलाउने नेताका रूपमा लिइन्छl
फेसबुकमा एक युवा कार्यकर्ताले लेखेका छन् : “विश्व दाइको राजनीति देख्दा लाग्छ, कांग्रेस फेरि पनि भविष्यसँग जोडिन सक्छ।”
अर्थात, महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टी नेतृत्व र महामन्त्री गगन थापालाई प्रधानमन्त्री पदको उम्मेदवारको रूपमा अघि सारौं। यसो गर्न सकेमा कांग्रेसभित्र मात्र होइन, आम जनतामा पनि नयाँ विश्वास र आशा जगाउन सकिन्छ। नेपालको राजनीति र नेपाली कांग्रेसलाई तत्कालको समयमा सहि दिशामा अगाडि बढाउनको लागि हामीसँग भएका विकल्पहरू मध्य यो उत्तम विकल्प हो। यो विकल्प प्रति भरोसा गरौं। यो विकल्पले पनि काम गरेन वा उहाँहरूले पनि आफूलाई सफल प्रमाणित गर्न सक्नुभएन भने हामी आगामी फागुन २१ गते हुने निर्वाचनमै प्रजापरिषदको आकारमा खुम्चिने छौं। यस तर्फ गम्भीर बनौं। समयमा पूर्वाग्रही हुने र समय घर्केपछि गोहीको आशु चुहाउने गर्नु हुँदैन।
यद्यपि विश्वप्रकाशजीले `म होइन उ´ भन्ने गरेको सुनिन्छ, अर्थात म होइन `अब गगन, अहिलेलाई गगन´ भनेको सुनिन्छl यो खाले सहिष्णुता आज पार्टीमा जरुरी छl तर सहिष्णुताले मात्रै सधैं काम गर्दैन। समयको संवेदनशीलताले हामीलाई फरक तरिकाले सोच्न र काम गर्न दबाब दिएको छ।
यसैले गगन र विश्वलाई आग्रह गर्छु, “अहिलेसम्म जिल्ला जिल्ला गएर भाषण गरेर फर्किरहँदा जनताका आँखामा आँसु, आक्रोश र तपाईंहरू प्रतिको भरोसा पनि देख्नु भयो होला। त्यसलाई अब भाषणबाट होइन, कामबाट अभिव्यक्त गर्नुहोस्। देश र जनताका लागि कार्यक्रम बनाउनुहोस्- देख्न, छाम्न र अनुभव गर्न सक्ने कार्यक्रम। शिक्षा र स्वास्थ्यलाई कसरी नि:शुल्क गर्न सकिन्छ, कृषिबाट कसरी लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ, उद्दमशीलता विकास कसरी गर्न सकिन्छ भन्ने खाका बनाउनुहोस्। तपाईंहरू पनि उद्धमशीलतासँग जोडिनुहोस् र हामीलाई पनि जोड्नुहोस्। यसका लागि देश विदेशका संयन्त्रहरूको खोजी गर्नुहोस्, स्रोत व्यवस्थापनको विकल्प खोज्नुहोस् र देश र जनताको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर हाम्रो हातमा राखिदिनुहोस्। तपाईंहरूले बनाएका कार्यक्रम र सपनाहरू बोकेर हामी जिल्ला जिल्ला जान्छौं, गाउँ गाउँ जान्छौं। अब भाषण गर्ने जिम्मा हामीलाई छोडिदिनुहोस्।”
कांग्रेसको यहीँ तागतबाट मात्रै भत्किएको देश बनाउन र पार्टीको साख जोगाउन सकिन्छ।
यसका लागि नयाँ पुस्ता, अनुभव र नवीनताको संयोजन आवश्यक छ। यसो गर्नका लागि अन्तरिम कार्यसमितिलाई निम्न संरचनामा बनाउन सकिन्छ :
* जेन जेड पुस्ताबाट २५ प्रतिशत प्रतिनिधित्व (२८ वर्ष भित्रका)
* २९ वर्षदेखि ६० वर्षमुनि उमेर समूहबाट ५० प्रतिशत प्रतिनिधित्व
* ६० वर्ष माथिबाट २५ प्रतिशत प्रतिनिधित्व।
यसले कांग्रेसलाई पुस्तागत सन्तुलन, अनुभव र नविनताको संयोजन दिनेछ। साथै, पार्टीमा नयाँ पुस्ताले देखाएको ऊर्जा र पुरानो पुस्ताले दिएको अनुभव दुवैलाई समेट्ने अवसर मिल्नेछ। यो संरचनालाई संघीय निर्वाचनको टिकट वितरणमा पनि प्रयोग गरौं।
तदर्थ केन्द्रिय कार्यसमिति निर्माण गर्ने र संघीय सांसदको टिकट वितरणको अधिकार पनि एक पटकका लागि गगन र विश्वलाई नै पूर्ण रूपमा जिम्मा दिऔं (पार्टीको तदर्थ कार्यसमिति निर्माणको जिम्मा विश्वलाई र संघीय सांसदको टिकट वितरणको जिम्मा गगनलाई) र भनौं जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ गर्नुहोस् तर हामीलाई परिणाम दिनुहोस्- बलियो कांग्रेस र बहुमत प्राप्त संघीय संसद। गगनजीलाई यसले ठूलो दबाब दिनेछ। आफू प्रधानमन्त्री हुन बहुमत ल्याउनुपर्छ र बहुमत ल्याउन राम्रा र योग्य मानिसलाई टिकट दिनुपर्छ भन्ने दबाब। यदि उहाँहरूले बलियो र बहुमत प्राप्त संसद् दिन सक्नु भएन भने आउने महाधिवेशनको परिणाम तपाईं हामीसँगै मिलेर सुनाउला।
नेपालको इतिहासले देखाएको छ, देशलाई संकटबाट निकाल्ने शक्ति सदैव नेपाली कांग्रेसले नै देखाएको छ। आज फेरि पनि यो जिम्मेवारी कांग्रेसकै काँधमा छ। तर त्यसका लागि पुरानै ढाँचामा बाँधिएर होइन, नयाँ तरिकाले, फरक सोचले र साहसी निर्णयले मात्र सम्भव हुन्छ। यदि हामीले यो बेला पनि ढोंग गर्यौं भने, मुखमा राम राम, तर बगलीमा छुरा गर्ने प्रवृत्तिबाट बाहिर नआएर जनताको आवाजलाई उपेक्षा गर्यौं भने, हामीलाई फेरि पनि ‘खाण्डववनको दावानल’ले भस्म पार्नेछ।
आफू पनि नेतृत्व गर्न नसक्ने, देश र जनतामा भरोसा दिलाउन नसक्ने तर रुचाइएका र भरोसा गरिएका युवाहरूलाई यो वा त्यो बहानामा पछाडि पार्ने हो र उनीहरूको आवाज नसुन्ने हो भने कांग्रेसप्रति मात्र होइन, देश प्रतिकै बेइमानी हुनेछ। त्यसैले, आज म हृदयमा देश र जनता प्रतिको समर्पण, शिरमा नेपाली कांग्रेस प्रतिको माया र हातमा देशको माटो समातेर भन्न चाहन्छु- “अब फरक परिणामका लागि फरक तरिकाले सोचौं।”
(बराल, नेपाली कांग्रेस कास्कीका सभापति हुन्।)
प्रतिक्रिया 4