
१२ असोज, काठमाडौं । सधैँ आफ्ना पूर्ववर्ती पदहरूबाट चाडवाडका शुभकामना दिने पूर्वराजा ज्ञानेन्द्र शाह यसपटक फरक्कै फर्किएका छन् । कोरोना महामारी, महाभूकम्प लगायतका विपत्तिमा समेत जारी भएका विज्ञप्तिमा नदेखिएका भाषा आइतबार पूर्वराजाबाट जारी भएको विज्ञप्तिमा झल्किएको छ ।
१५ जेठ २०६५ मा राजतन्त्र अन्त्य भएर नारायणहिटीबाट बिदा भएका ज्ञानेन्द्रको त्युपछिको हैसियत आम नागरिक सरह नै थियो । पूर्वराजा तथा अन्तिम राजा भनेर सम्बोधन हुन थालेपनि उनले त्यसलाई स्वीकार गरेका थिएनन् । आफू राजा भएको र अरु देशबासी भएको भनेर व्यवहार गर्थे ।
प्राय: ‘प्यारा देशवासीहरू’ भनेर सम्बोधन थाल्ने ज्ञानेन्द्रले यसपटक भने ‘प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाई’ भनेर सम्बोधन गरे । आइतबार दशैंको शुभकामनामा उनले ‘पूर्व श्री ५ महाराजधिराज’ भनेर पूर्वराजाको हैसियत नै स्वीकार गरेका छन् ।
जहाँ उनले सांकेतिक रुपमा राजदरबारले प्रयोग गर्ने जस्तो चिन्ह मात्रै छ । यसअघिका विज्ञप्तिमा जस्तो राष्ट्रिय झण्डा पनि प्रयोग छैन । आफ्नो पूर्व बासस्थान ‘निर्मल निवास, महाराजगञ्ज’ कै नाममा विज्ञप्ति जारी भएको छ ।
कहीँ पनि दलहरूलाई गाली नगरी मुलुकको अवस्थाबारे चिन्तित भएको भन्दै युवाको भावनालाई जोड उनले आफ्नो सन्देशमार्फत दिएका छन् ।
जुन उनलै निकै कुटिल तरिकाले रचनात्मक रुपमा गरिएको जस्तो देखिन्छ ।
चरम विध्वंश र शोकको अवस्थामा छ भनेर पारिवारिक र सांस्कृतिक अवस्थामा मात्रै दशैं मनाउने भनेका छन् । यो खालको अवस्था उनले यसअघि प्रयोग सम्भवत: गरेका थिएनन् ।
संवाद सचिवालयमार्फत ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देव’ लेखेर वक्तव्य जारी हुन्थयो । यो विषय संसद् बैठकमै पनि उठेको थियो ।
तर, यस्ता सबैलाई चिर्दै पूर्वराजाको यो वक्तव्य र यसमा भएका भाषालाई दरबार छाडेको १७ वर्षपछि उनले पूर्वराजाको हैसियत स्वीकार गरेको रुपमा अर्थ लगाइएको छ ।
तर, राजतन्त्रको वकालत गरिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने यस्तो विषयलाई लिएर अनेकन अर्थ लगाउन नहुने बताउँछन् ।
‘दशैंको शुभकामना दिने कुरा हो । कहिलेकाहीँ केही शब्द तलमाथि हुनसक्छन्, त्यसलाई लिएर यो वा त्यो अर्थ लगाउनु त्यति उचित होइन । शुभकामनालाई शुभकामनाकै रुपमा लिनु राम्रो हुन्छ,’ लिङ्देनको बुझाइ छ ।
उनले पछिल्ला पटक राजाबारे उठिरहेका प्रश्नका कारण पनि विवादमा तानिने डरले यस्तो लेखेको हुनसक्ने शंका गरे ।
‘हाम्रो आस्था र विश्वासमा राजा पूर्व हुँदैनन् । तर, विगतमा सरकारका तर्फबाट पटकपटक यस्ता प्रश्न उठेकाले किन विवादमा तानिने भनेर उहाँले त्यस्तो लेख्नुभएको हुनसक्छ,’ लिङ्देनले भने ।
सम्बोधनको क्रममा शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका थिए ।
नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा पनि राखेका छन् ।
हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रबाट आइतबार जारी भएको विज्ञप्ति:
प्रतिक्रिया 4